पैसा अर्थात् रूपैयाँ सारभूत रूपमा महत्वपूर्ण चिज होइन तर, यो समस्या, संकट मोचनको एक साधनसम्म हो ।
संसारलाई नै स्वार्थी बनाउने, एक आपसमा झगडा गराउने, रिस, इगो बढाउने, मानव जीवनको इहलीला नै समाप्त गर्ने धेरैप्रकारका विकृत पैसा वा रूपैयाँले गर्छ । धेरैजसो द्धन्द्धको कारण नै रूपैयाँ पैसा हो । त्यसैले यो जिनिस आफुसित छ भन्दैमा सर्वेसर्वा ठान्ने, मै हुँ भन्ने अहंमता नदेखाएकै राम्रो हुन्छ ।
मसित पैसा छ, राजनीति गर्छु भनेर अहंमता देखाउनुभन्दा राजनीतिक संस्कारलाई अवलम्वन गर्ने हो भने व्यक्तिमा सुधार आउँछ । पैसाको बल, भरमा हुने वा गरिने राजनीति लाजनीति हो राजनीति होइन । यो स्थायी हुन्न । हो, तपाईंसित भएको पैसाले स्वार्थी जमातलाई केही निश्चित समयसम्म चुम्बकीय आकर्षण दिन सक्नुहुन्छ तर, स्थायी हुन्न । पैसाको भरमा उफ्रनेहरू गोजी गरम भएसम्म साथ दिन्छन् तर, साँचो अर्थमा साथ दिनेहरूले कहिल्यै धोका दिन्नन् ।
पैसा छ भन्दैमा हेलिकोप्टर लिएर पाथिभरा माताको दर्शन गर्न सकिन्छ । मुक्तिनाथ पनि जान सकिन्छ । पशुपतिनाथ मन्दिरमा गएर दर्शन गरेर पनि फर्कन सकिन्छ । तर, पैदल नै ती मन्दिर पुगेर देउताको दर्शन गर्नुको फाइदा धेरै छ ।
पैसाले पदप्रति आशक्ति बढाउँछ । पैसा वा रूपैयाँबाट किनिएको पदको महत्व हुन्न । प्रतिनिधिसभामै कांग्रेसकै कुरा गरौं ।
डा. मीनेन्द्र रिजालजस्तो खटेर प्रत्यक्ष निर्वाचनमा निर्वाचित भएर जानुको मज्जा नै बेग्लै हुन्छ, महत्व नै अर्कै । तर, पैसाको बल, भरमा सांसद हुने विनोद चौधरी पनि त छन् यहाँ । दुबैले प्राप्त गरेको पदको गरिमा एउटै हो, राजनीतिक तरिकाले हेर्ने हो भने रिजाल र चौधरीलाई हेर्ने दृष्टिकोण फरक हुनसक्छ, आकाश जमिनको फरक । हुनु पनि पर्छ ।
पैसाले मान्छेमा घमण्ड बढाउँछ । जब मनुवामा घमण्ड पैदा गर्छ तब उसले आफ्नो हैसियत विर्सन्छ । केबल पैसाको रवाफ मात्र हुन्छ । मसित पैसा छ, सबैलाई किन्न समहत्व !क्छु, आखिर समाज पैसाले बिक्छ भन्ने गलत सोचाई विकास हुन्छ ।
अनि पैसा भएका केही हरिलठकहरूलाई नभएका, लोभीपापीले चलाएपछि सक्कियो । ठिक होइन गलत गराउने, असल बाटोमा हिड्नै नदिने, चंगुलमा पार्ने मात्र रणनीति बुनिन्छ । मालिक संस्कार विकास हुन्छ । जब मालिक संस्कार विकास हुन्छ अनि व्यक्ति आफुलाई निरङ्कुश बनाउन थाल्छ ।
जब धनाढ्य यो चंगुलमा फस्छन् तब त्यो चक्रव्यूहबाट निस्कन गाह्रो हुन्छ । पैसा भएर बुद्धि नभएका समरस्वाँठहरूबाट राजनीति सम्भव छैन ।
अहिलेको पैसामूखी समाजमा यो भनाई कतिलाई गलत पनि लाग्छ । गलत त्यसलाई लाग्छ जो पैसा भएकाहरूलाई विगार्न उद्यत छन् । हनुमाने प्रवृत्ति देखाएर त्वम् शरणम् गर्ने जमातले चलाउने पैसावालाको राजनीतिक संस्कार स्खलित भएको कयौं उदाहरण देख्न सकिन्छ ।
हो, पैसा सबैलाई चाहिन्छ तर, हामीकहाँ यस्ता मनुवा बढेका छन् जो काम केही गर्दैनन् तर, उनीहरूलाई सबै कुराले पुगेको छ । कुनै अभाव नै छैन । कसोरी पुगेको छ ? शंकामात्र होइन ठोकुवा गरेर भन्न सकिन्छ उनीहरूले चपाउने भोला गुट्खासमेत कसैको आर्शिवादबाट प्राप्त भएको हुन्छ ।
पैसाले राजनीति हुने हो भने तुलसीराम अग्रवाल प्रधानमन्त्री भइसक्थे । अग्रवालको कुरा गर्दा उनी नेपालकै धनको कुरा गर्ने हो भने विनोद चौधरी धेरै तल पुग्न सक्छन् । बासुदेव गोल्यान पनि शक्तिशाली मन्त्री बन्नुपर्ने हो । पैसा त उनीसित पनि कमी छैन क्यारे ! विराटनगरमा अरू धेरै छन् जोसित पैसा छ । पैसा छैन र, पनि जनताको माझमा गएर राजनीति गर्ने अमृत अर्याल, डिगबहादुर लिम्बू, मोदराज घिमिरेहरू पनि त हामीकहाँ छन् नि !
गएको निर्वाचनमा सबैले भूमिका पाए यहाँ । तर, एक व्यक्ति छन् जसलाई पैसाको घमण्ड छ उनले किन कुनै पद पाउन सकेनन् ? हो, पैसाले सबैथोक किन्न सक्छु, त्यसमा पनि विरासतबाट प्राप्त भएको धनले त व्यक्तिलाई मत्याउँछ मात्र । हो, आफुले श्रम गरेर, फेदैबाट मेहनत गरेको व्यक्तिलाई पैसाको माया हुन्छ । टुप्पोबाट पलाएकोलाई के थाहा पैसा वा रूपैयाँको महत्व !
यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।