सोमबार, साउन १८, २०७८ || 412  पटक पढिएको

समाजमा धेरैप्रकारका ‘इस्यू’ हरू आएका छन् जुन चर्चाको शिखरमा छन् । आम रूपमा धेरै मुद्दालाई लिएर अघि बढ्न सकिन्न तर, कुन महत्वपूर्ण हो त्यसको हेक्का राख्दै निचोडमा पुग्नुपर्छ । कुन विषयलाई प्राथमिकता दिने भनेर गंभीर मन्थन गर्दै अघि बढ्नै पर्छ । यसो गरिरहेका छैनौ वा हाम्रो चेष्टा नै यसतर्फ छैन ।

हामी आन्दोलन गर्न, संघर्षको मैदानमा उभिन, सडक तताउन, अरूलाई गलत देखाउन र, आफुलाई सही भन्न माहिर छौं । यति कुरामा माहिर भएपछि त अब इस्यूहरू छनौटमा पनि अब्बल हुनुपर्ने हो तर, कहीं कतै चुकिरहेका छौं । घटनाक्रमलाई सुक्ष्म अध्ययन गरेर कुन विषयमा के गर्ने भन्नेतर्फ कमजोर देखिएकै छौं । अर्थात् इस्यू छनौटमा असफल बनेका छौं ।

हामीसित आधा दर्जनभन्दा बढी इस्यू छन् जसलाई समाएर अघि बढ्न सक्छौं । महाकालीमा भारतीय फौजले बर्बर तरिकाले तुइन काट्यो । नेपालले बनाएको तुइन भारतीय फौजले काट्नुपर्ने कारण के हो ? यो हस्तक्षेप होइन ? तुइनबाट नदी पार गर्न खोजेका जयसिंह धामी वेपत्ता नै भउका छन् । भारतीय फौजले गरेको यो ज्यादतिबारे हामी आक्रामक बन्न सकेका छैनौ ।

हाम्रो मौनताले भारतीय सरकारले तुइन काट्ने विषयमा आफ्नो संलग्नता नै नभएको दावा ठोक्दै छ । हामी चुपचाप यो समाचार पढिरहेका छौं, हेरिरहेका छौं अनि सुनिरहेका छौं । हामी प्रतिक्रियाविहीन बनेका छौं । जयसिंह धामीलाई अन्याय त गरेका छैनौ ? देशको राष्ट्रियतामा कमजोर त भएका छैनौ ?

कांग्रेसको महाधिवेशन अन्योलमा छ । एउटा ऐतिहासिक प्रजातान्त्रिक पार्टी विधिअनुसार चल्न नसकेर थला परेको छ । यो विषयमा हामी केबल चिया पसलमा बसेर मात्र छलफल गर्छौ । नेतृत्वलाई दवाव दिन सक्दैनौ । हो, हामी यहाँनेर चुकिरहेका छौं ।

एमसीसी सम्झौता हुने हो या होइन त्यो परकै कुरा हो तर, यसबारे हामी सडक तताउन थालेका छौं । अहिलेसम्म सरकारी निकायले संसदबाट पास गर्ने कुरा गरेको छैन तर, हामी इन्धन सकाउने ,प्रदुषण फैलाउने गरेर विरोधमा उत्रन थालेका छौं ।
खोपकै कुरा गर्नुहोस् । विराटनगर र विर्तामोडमा विवाद आएका छन् । खोपको समस्या अब छैन । सरकारले सारा बजेट विनियोजन गरेर भए पनि, मागेरै भए पनि खोप ल्याउन थालेको छ । खोप लगाएकै आधारमा कोरोना साफ हुने पनि होइन । तर, हामी खोपलाई अमृत बुटी मानेर, यो भएन भने त जीवन नै चल्दैन जस्तो गरेर चिन्तित भइरहेका छौं ।
खोप कसले लगायो ? खोप लगाउन कसलाई तयारी गरिएको थियो ? नेपालीलाई नै हो । तर, हामी खोपमा अलि बढी नै चिन्तित भएका छौं । खोप एक माध्यम बनाएर हामी पुराना इगो फेर्न थालेका छौं । गालीको बर्षा गर्न थालेका छौं । लगभग समाजलाई विभाजित गराउन खोजिरहेका छौं ।

तेस्रो भेरियण्ट आउने भनेर स्वास्थ्य मामलाका जानकारहरूले सूचना गंभीर भएरै जारी गरेका छन् । तेस्रो भेरियण्ट आउनु अगावै हाम्रा स्वास्थ्य संस्थामा के तयारी गरिएको छ ? बेड व्यवस्थापन कस्तो छ ? उपचारका लागि के–के विधि अपनाउने भन्नेबारे हामी मौन छौं ।

हामी महत्वका हिसावले इस्यू वर्गिकरण गर्न चुकेका छौं । हाम्रा लागि कुन महत्वपूर्ण कुरा हो ? पहिल्याउन सकिरहेका छैनौ र, अलमलमा छौं । एउटा सामान्य विषयलाई उकास्छौं । तीललाई पहाड बनाउने तर्फ आफुलाई सक्रिय बनाउँदै लगेका छौं । कतै हामीले बाटो विराएका त छैनौ ? वा ठिक गरिरहेका छौं । कुनै विद्धानले भनेको एउटा रोचक र अर्थपूर्ण कुरा यहाँ महत्वपूर्ण ठानेर राख्न मन लाग्यो–हामी नेपाली आवश्यकता भन्दा बढी अधिकार खोजिरहेका छौं । हामीले जे गर्नुपर्ने हो तयो गर्दैनौ अनि जे नगर्नुपर्ने हो त्यो गरिरहेका छौं ।

आफ्नो अधिकारका लागि हामीले अरुको अधिकार कुल्चने प्रयास गरिरहेका छौं ।
हामी हरेकसित मोबाइल छ, सूचना र प्रविधि छ । तर, हामीले तयसलाई दुरूपयोग त गरिरहेका छैनौ । विर्तामोडमा मेयरले होटलमा खोप लगाउन व्यवस्थापन गरेका हुन वा गलत नै काम गर्ने मनसाय राखेका हुन ? कुरै नबुझेर हामी विराटनगरसित जोडेर व्याख्या गर्न हतारो गर्छौ । कहीं न कहीं गडबड छ ।

यो न्युज आजको न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!