काठमाडौं — संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले चौधरीलाई उम्मेदवार बनाउने जिम्मेवारी दिने निर्णय गर्दै प्रचार–प्रसारका लागि समिति समेत गठन गरेको छ।
मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचन प्रयोजनका लागि संघीय लोकतान्त्रिक मोर्चाले साविकमा गरिएका निर्णयहरूलाई दोहोर्याउँदै रेशम चौधरीलाई उम्मेदवार बनाउने जिम्मेवारी दिइएको छ। सो निर्वाचनको प्रचार–प्रसार र परिचालनका लागि मोर्चा सचिवालयलाई विशेष जिम्मेवारी दिइएको छ।”
यससँगै मोर्चाले गौर घटनासम्बन्धी सर्वोच्च अदालतको परमादेशप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। परमादेशप्रति आशंका जनाउँदै मोर्चाले निन्दा गर्दै भनेको छ, “परमादेशको पूर्ण पाठ प्राप्त नभए पनि यदि भनिएजस्तो छानबिन सफा नियत, तटस्थ र कानुनी प्रक्रिया अनुसार सम्बन्धित सबैलाई समेटेर गरिन्छ भने त्यसप्रति आपत्ति हुँदैन। तर संघीय लोकतान्त्रिक मोर्चा हालको आदेशप्रति विरोध जनाउँछ।”
मोर्चाले सो आदेशलाई ‘राजनीतिक प्रतिशोध साँध्ने प्रकृया’ को संज्ञा दिँदै चेतावनी दिएको छ, “एकपक्षीय, राजनीतिक प्रतिशोधी, पूर्वाग्रही र विभेदी मानसिकताले गरिएको कुनै पनि कारबाहीको सशक्त प्रतिकार गरिने छ। निष्पक्ष र तटस्थ अनुसन्धानको पक्षमा हामी अडिग छौं।”