आइतबार, साउन १७, २०७८ || 641  पटक पढिएको

चर्चित नेपाली कवि मनु मंजिलले मार्मिक कविता लेखेका छन् । यो कविता पढ्दा भन्दा पनि इटहरीका कवि मंजिलकै मुखबाट सुन्दा झनै रोमाञ्चित होइन्छ ।

समाजको वर्तमान अवस्था र व्यक्तिका चरित्रबारे मंजिलले निकै मार्मिक प्रहार गरेका छन् । समाजमा बढ्दो रिस, इष्र्या, आवेग र सत्रुतालाई उनले सुक्ष्म र तिखो तरिकाले रचनामा उतारेका छन् । समाजका धेरै क्षेत्र र घटनाक्रमलाई यो कविताले गतिलो झापड हानेको छ । यो कविताको हरफ लामो छ तर, छोटै भए पनि यहाँ उदृत गर्न मन लाग्यो ।
मेरो एउटा दुस्मन छ
जो मलाई फोहोर जत्तिकै घृणा गर्छ
तर, म उसलाई फूल जत्तिकै मन पराउँछु ।

उ मेरो घरमा घाम नउदाउनु भन्छ
मेरो बगैचामा वसन्त नआउनु भन्छ
मेरो घरको झ्याल ढोकामा हावा नपस्नु भन्छ
मेरो घरका आँगनका फूलले नमगमगाउनु भन्छ
मेरो बालबचेराले उसले सुन्ने गरी नकराउनु भन्छ
उसलाई दुःख्ने गरी नकराउनु भन्छ ।
…..
दुस्मन नहुनु भनेको त
आफुतिर हरदम फर्किरहने
जीवनको एउटा रमाइलो पाटै नै नहुनु हो रहेछ
म उसलाई फूल जत्तिकै मन पराउँछु
हिजो र आजको समाजमा फरक छ । हिजोको समाज भलो चिताउथ्यो, आजको समाज रिस गर्छ । कसैको उपलब्धी निको लाग्दैन, कोही महत्वपूर्ण पदमा पुगेको मन पर्दैन । कसैको शक्ति र प्रभावलाई पचाउन सक्ने सामथ्र्य हामीमा छैन । कसैको घरमा फूल फुलेको मन पर्दैन । कोही बनेको मन पर्दैन । भत्कियोस्, विग्रिएको कुरा सुन्न पाइयोस् भन्ने चाह हुन्छ ।
हामी आफै पनि केही गर्न सक्दैनौ र, अरू कसैले गर्छ भने पनि त्यसको रिस गर्छौ । लगभग एकप्रकारको मुर्मुरिएको रिस र राग हामीसित हुन्छ । हामीसित एकप्रकारको स्थायी रोग डिजिजका रूपमा भाइरस बनेर गाडिएकोछ ।
हामी यो रोगलाई समूह बनाएर व्यापक बनाउन खोज्छौं । कसैको विजय हामीलाई मन पर्दैन । कसैको पराजयले हामीलाई पुलकित बनाउँछ । कसैको जन्तले हामीलाई पोल्छ अनि मृत्यु खुसीको खबर बनेर आउँछ–चाख्यो सालेले मृत्यु !
हामी किन अरूको खुसीमा रमाउन छाडेका छौं । हामी केबल, मात्र गलत कुरा, खराब विषयमा मात्र किन फुरूक्क हुन थालेका छौं । किन कोही अघि बढेको हामीलाई मन पर्दैन । कोही हारेको हामीलाई मन पर्छ, हराउन मन लाग्छ तर, जितेको खबरले ह्याङ् हुने गरी पिउन किन मन लाग्छ ? चोकगल्लीमा बसेर हामी किन कसैको बारेमा गलत कुरा मात्र सोचेर बस्छौं ?
उ मेरो सपनामा मरभूमि पसोस भन्छ
मेरो घरमा आँधी आएर बसोस भन्छ
राति चोर आएर भकारीमा घुसोस्
मेरो ओठबाट मुस्कान उडेर बालुवामा गई खसोस् भन्छ
तर, म उसलाई फूल जत्तिकै मन पराउँछु ।
यो सकिने मेलो त होइन ? कलि धपक्कै बल्न लागेको त होइन ? बनाउने भन्दा पनि भत्काउने, खुसी हुने भन्दा पन िपीडा दिने, अरूको ओठमा मुस्कान होइन आँसु बहेको देख्ने, पीडा हेर्न खोज्ने, दुःख पाएकोमा दंग पर्ने, सकारात्मकता होइन नकराात्मकता मात्र सोच्ने हामी आनीबानी कहिले सुध्रन्छ ?
उसलाई मेरो घरमाथि चरा बसेको मन पर्दैन
जुन मेरो छानामाथि बसेको
मेरो खेतबारिमा भाग्य लहलह झुलेको
आँपका रुखमा आशाका फूलहरू फुलेको
कुलाका पानी मेरा गैह्री खेतमा डुलेको
उसलाई केही मन पर्दैन ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!