शुक्रबार, साउन १५, २०७८ || 723  पटक पढिएको

गलत कुराको सबैले एक भएर विरोध गर्नुपर्छ । कतिपय गलत काम सही नियतले गरिएको हुन्छ भन्ने कुरा पनि विर्सनु हुन्न । सही र, असल काम विपक्षीले गरे भने पनि सकारात्मक मान्नुपर्छ र, उत्साहित बनाउन सक्नुपर्छ । यो हो असल राजनीतिक चेत ।

नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीले ज्येष्ठ नागरिकलाई सय रुपैयाँका दरले भत्ता सुरूवात गरे । त्यो एमालेले ल्याएको नीति भए पनि सबैले धन्यवाद दिने खालको लोकप्रिय कार्यक्रम थियो । यसले कालान्तरमा व्यापकता पाउँदै गयो र, अहिले मासिक भत्ता ४ हजार पुगेको छ ।

आफ्नो गाउँ आफै बनाऔं नीतिले संघीयताको जग स्थापित गरेको हो । सहरी विकासको मात्र अवधारणालाई गाउँ केन्द्रित गर्न सफल भएकै हो । आफ्नो गाउँ आफै बनाउने अभियान नै चल्यो । एमालेको तत्कालिन सरकारलाई धन्यवाद दिन किन कञ्जुस्याँई गर्ने ?

राजनीतिक चेतना र सूचना र प्रविधिको गलत प्रयोगले आफ्नैसित लड्ने गलत संस्कार विकास भएको छ । आफ्नैलाई सिध्याउने, सकाउने र पुलकित हुने संस्कार समाजमा बढेको छ । अरूका हजारौं गल्ती नदेख्ने तर, आफ्नाको एक सामान्य गल्तीलाई पहाड बनाएर अतिरञ्जित पार्ने कार्य जुन तरिकाले पछिल्लो समय मौलाएको छ यसले अन्तर पार्टी राजनीतिमा तरंग नै ल्याएको छ ।

हो, स्पर्धा स्वाभाविक हो, हुनुपर्छ । स्पर्धाले नेतृत्वलाई खारिने मौका दिन्छ । गलत कुरालाई यो सही भएन भनेर भन्न सक्नुपर्छ । काम गर्दै जाँदा व्यक्तिबाटै गल्ती हुने तर, सत्य के हो भने सच्चिने पनि त व्यक्ति नै हो ।
विपक्षी, विरोधी आफ्नो हुने तर, आफ्नै पराई हुने यो कस्तो तरिका होला ?

हुन त बुढापाका भन्छन्–नसक्नेले अरूको पोल खोल्न डराउँछ तर, आफ्नो पोल खोल्न धेरै अगाडि बढ्छ ।
आफु बसेको, काम गरेको, आस्था राख्नेको माया विछट्टै हुन्छ । हुनुपर्ने पनि हो । त्यही भएर त एकक आम मतदाता भएर पनि कांग्रेसले रूख चिन्ह् खोज्छ, एमालेवालाले सूर्य अनि अरूले यसैअनुसार आफ्नो चुनाव चिन्ह् खोजी गरिरहेका हुन्छन् ।
राजनीतिमा अनुशासन प्रमुख कुरा हो तर, अनुशासन भन्ने कुरा पछिल्लो समय सबै सकिएका छन् । अनुशासनलाई कतै पैसाले, कतै व्यक्तिगत इगोले सकाएको छ ।

यो समय भनेको भोको पेटलाई खाना दिने हो । भोजन दिएर तृप्त पार्ने समय हो । भोजन कसले पायो त्यो महत्वपूर्ण कुरा नहुन सक्छ । भोजन भोकाले पाएको छ भनेर न्वारानदेखिको बल निकालेर विरोध गर्नुको कुनै तुक छैन । आफ्नैसित लडेर बहादुरी देखाउने कार्य किमार्थ सही मान्न सकिन्न ।

समाज असल कामको मुल्याङ्कन गर्दैन । एउटा कुनै मनुवा सडकको धुलो सफा गरेर ट्याक्टरमा हाल्दै बिक्री गर्न थाल्छ र, पैसा कमाउन थालेपछि समाज बोल्छ । समाज कसोरी बोल्छ भने ‘ए ! त्यसले मात्र पैसा कमाउने ?’ तर, हिजोसम्म सडकमा धुलो हुँदा सफा गर्न कुनै प्रयास नगर्ने, आफ्नै घर अगाडि पनि पुगेर झाडुसमेत नलगाउने । तर, कसैले केही पैसा कमायो भनेर त्यसको रिस गर्ने । यो हो समाजको गलत शैली र सोचाई ।

हरेक कुरामा आलोचना, विरोध हुने भएकाले पनि कतिपय असल काम भएका छैनन् । कुनै व्यक्ति केही असल काम गर्न खोज्छ अनि कहाँबाट के बखेडा झिकेर, इगो र व्यक्तिगत रिस पोख्दै विरोध गरिन्छ । पोखरामा आकाशे पुल बन्यो भने राम्रो कुरा हो तर, यहाँ पनि त बन्दै छ । कुनै पनि निर्माणको संरर्चना त एकैपटक बन्ने होइन । यसका लागि कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । काम सुरु गर्नुपर्छ । अनि पो सकिने हो त !

यहाँ आफ्नैले आफ्नैलाई सकाउने खेल जो सुरू भएको छ विरोधी रमिते हेरेर बसे हुन्छ । नेकपालाई नेकपाले नै सकायो, अब यो रोग कांग्रेसमा सरेको छ । अन्तर पार्टी विरोधको यो भाइरस यति डेञ्जर छ यसले आउँदा दिनमा धेरैलाई भ्वाङ्ग पार्ने निश्चित छ ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!