सडकमा धुलो भयो, यो मेयर नै ठिक छैन जाबो एउटा धुलोसमेत सफा गर्न सक्दैन ।
पोखरामा आकाशे पुल बन्यो विराटनगरमा बनेन । यो मेयरले केही गर्न सकेन । सडकमा झाडी बढे, खाल्डाखुल्डी देखिएका छन्, यो मेयरको आँखा पटक्कै गएन । खोप लगाउन पाइएन, यो मेयरले भेदभाव ग¥यो, आफ्नालाई च्याँपेर लगायो, जनताको स्वास्थ्यप्रति के को चिन्ता ?
कांग्रेसको क्रियाशिल सदस्यता पाइएन, यो मेयरले नै अन्याय ग¥यो, आफु नजिकका लाई दिए, हामीलाई दिएनन्, हामीलाई त कांग्रेस नै ठानेनन् ।
साँझ ६ बजे व्यवसाय चल्ने समयमा निषेधाज्ञा लागू भयो, यो मेयरले व्यापारीको मर्का बुझेन । के निषेधाज्ञाको समयमा मात्र कोरोना संक्रमण आउँछ ? अरूबेला कहाँ जान्छ ? फुटपाथबाट सब्जी व्यापारीलाई हटाइयो, यो मेयरले गरिवले गरेर खाएको देखि सहेन, व्यापार गर्न नदिने हो भने कसोरी दैनिक चलाउने ? यसप्रकारको आरोपपूर्ण सूची निकै लामो बन्न सक्छ ।
एकप्रकारको इगो, रिस र इष्र्याले भरिपूर्ण प्रतिक्रिया समाजमा बढेका छन् । बुझेर वा नबुझेर प्रतिक्रिया जनाउने क्रम बढेको छ । हो, कतिपय कुरा जायज हुन सक्छन् तर, मेयरले मात्र सबै थोक गर्ने होइन । हो, उ स्थानिय सरकारको प्रमुख हो तर, निषेधाज्ञा प्रशासनले लगाउने हो भन्ने सामान्य जानकारी हामीले राख्नै पर्छ । निषेधाज्ञा लगाउनेबारे मुख्यमन्त्री शेरधन राईले पनि केही गर्न सक्दैनन् । प्रमुख जिल्ला अधिकारीले लगाउने हो । मेयरले सुझाव मात्र दिन सक्छन् ।
यसप्रकारका गुनासा, आक्रोशले असल कामहरू ओझेलमा परेका छन् । असल काम गराउनेतर्फ मेयर वा जनप्रतिनिधिलाई हामीले नै अन्योलमा पारेका छौं । हामीले पनि कुनै न कुनै रूपमा अलमल्याएका छौं ।
जनप्रतिनिधिको कार्यकाल सकिन अब १० महिनामात्र बाँकी छ । पाँच बर्ष सकिन अब १० महिना छ र, ६ महिनापछि आचारसंहिता लागू हुनेछ । आचारसंहिता लागू भएपछि कुनै काम गर्न पाइन्न । कर्मचारीले पनि नटेर्न सक्छन् । त्यसैले अब काम गर्ने समय भनेको भदौदेखि बढीमा ६ महिना मात्र हो । यो ६ महिनामा चामत्कारिक कार्य हुनुपर्छ ।
अब जनप्रतिनिधिले पाइप लाइनमा राखिएका, विस्तृत अध्ययन प्रतिवेदन डीपीआर बनाएर दराज वा कम्युटरको कुनै फोल्डरमा थन्क्याइएका छन्, खोल्नुपर्छ । तनिलाई कार्यान्वयन तहमा ल्याउनु पर्छ ।
आउँदो केही महिना ठूला काम नहुन सक्छन् तर, साना र छरिता काम हुनुपर्छ । ६ महिनामा हुनसक्ने धेरै काम गर्न सकिन्छ । यो बेलामा अब लोकप्रिय कार्यक्रम कार्यान्वयन गर्ने हो । बढी समय लाग्ने योजनालाई पनि संचालन गर्नुपर्छ ।
जनप्रतिनिधिहरू अब कार्यक्रममा जानु हुँदैन । कार्यक्रममूखी होइन कार्यमूखी हुनुपर्छ । अझ कांग्रेसबाट विजयी भएका जनप्रतिनिधिका लागि समय अनुकुल छ । यो समयमा कांग्रेस सत्ताको नेतृत्वमा छ र, हिजोसम्म बाउँठिने, असहयोग गर्ने कर्मचारीले पनि पूर्ण सहयोग गर्ने वा बाटो तताउने अवसर छ । कर्मचारीले असहयोग गर्लान् भनेर मान्न सकिन्न ।
यो १० महिनाले पनि आउँदो कार्यकालका लागि को–को जनप्रतिनिधिले पुनः अवसर पाउने छन् भन्ने देखाउँछ । जनप्रतिनिधिले आफ्नो कार्यकालमा जुन इज्जत पाएका छन् त्यो पक्कै पनि नसा भइसकेको छ । जनप्रतिनिधिका रूपमा जुन मान, सम्मान, इज्जत र सुबिधा उनीहरूले पाएका छन् त्यो नहुँदा पक्कै पनि ‘बोर’ हुन्छ नै । यो अवस्था ल्याउन नदिन जनप्रतिनिधिले आउँदो १० महिना धेरै नै काम देखाउनुपर्नेछ ।
जनप्रतिनिधिले सबैलाई सन्तुष्ट बनाउन सक्दैनन् । तर, आम तरिकाले धेरैलाई खुसी पार्न सक्छन् । सबैलाई मिलाउने, एकै तरिकाले हेर्न सक्छन् । काम गर्दै जाँदा समस्या हुन्छन्, गुनासा पनि हुन्छन्, कुनै कुरा कसैलाई मन पर्छ, कसैलाई पर्दैन । नपर्नेहरू स्थायी सत्रुका रूपमा देखिन्छन् । आलोचक बन्छन् । समाजमा नकारात्मक सोच विकास भएको छ र, त्यो खराब विचारहरू सोसल मिडियामा मुखरित हुन्छन् ।
एउटा महत्वपूर्ण कुरा के भने हाम रूपमा धेरै जनप्रतिनिधिहरू आर्थिक विवादमा आएनन् । यो चैं खुसीको कुरा हो ।
यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।