मैले एक नेपाली चेलीसँग सम्बन्धित लेख पढ्ने मौका पाए, अद्भूत लेख थियो । गर्व गर्नुपर्ने खालको । उनी सामान्य चेली रहिनछिन् । उनी त जापान ओलम्पिकमा छनौट भएकी खेलाडी रहिछिन् । हरेक खेलाडीको सपना विश्व च्याम्पियन हुनुभन्दा ओलम्पिक च्याम्पियन भएर देशको नाम चम्काउने बढी हुने रहेछ ।
प्रत्येक खेलका अलग अलग वल्र्ड च्याम्पियनसीप हुन्छ । वल्र्ड च्याम्पियनसीपको विशाल महत्व भएपनि यसको महात्मयलाई ओलम्पीकको चर्चाले उछिन्ने रहेछ । ओलम्पीकमा मेडल बटुल्ने खेलाडीहरू रातारात चर्चाको शिखरमा पुग्ने गर्छन् र विश्वभर उनको ख्याती रहन्छ । एक खेल विधामा मात्र विश्व च्याम्पियनसीप हुन्छ भने ओलम्पीकमा भने दर्जनौ खेलको महाकुम्भ हुने गरेको छ ।
सारा विश्वको ध्यान ओलम्पिकमा आकृष्ट हुने गरेको छ । यसरी पुरै विश्वको ध्यान ओलम्पीकमा खिचिँदा मेडल जित्ने खेलाडीको पनि विश्वभर खास सम्मान हुने रहेछ । आफ्नो मुलुकका त झन राष्ट्रिय विभुती नै बन्दा रहेछन् । ओलम्पीकमा नेपालले मेडल जितेको मलाई थाह छैन ।
खेलकूदमा वर्षेनी करौडौ बजेट छुट्याइएको हुन्छ । हिन्दी सेनेमा ‘दामिनी’ मा सन्नी देवलले तारिखमाथि तारिख भने झैं खेलाडीको तालिममाथि तालिम हुने गरेको छ । तर पनि नेपाली खेलाडी विश्वस्तरको प्रदर्शनबाट चुक्ने गरेका छन् ।
नेपाली खेलाडीको सीमितता दक्षिणी एशियाली खेलकूदमा मात्र सीमित छ भन्दा अतियोशक्ति नहोला । मेडल जित्नेका पनि कतै सिंग र जुरो पलाएको हुँदैन । मेडल जित्नेको पनि रगत त्यहि हो, शरीर त्यहि हो फेरी किन नेपाली खेलाडीले ओलम्पीकमा आशातित सफलता प्राप्त गर्न सक्दैनन् ।
यसबारे चासो दिन जरूरी छ । भाग्यले जारी जापान ओलम्पिकमा आफ्नो सीट सुरक्षित गरेकी १०० मिटर दूरीकी धाविका सरस्वती चौधरीमाथि राज्यको मोटो रकमको लगानी छ । लगानी हुनु पनि जरूरी छ । ओलम्पीक देश चिनाउने अजर अनि महत्वपूर्ण महोत्सव हो ।
सबै खेलाडीको इच्छा पदक जित्ने हुन्छ । तर नेपाली खेलाडी चौधरीलाई पदक जित्ने इच्छा पटक्कै रहेन छ । उनी बारेको समाचार मैले एक पत्रिकामा पढेको थिए । अचम्म रहेछ । विद्यार्थीलाई उत्तीर्ण हुने इच्छा नभए पढ्नु पर्छ र ? चौधरी मनै देखि हारेकी छन् ।
चौधरीको एथेलेटिक्स प्रतिस्पर्धा जुलाई ३० का दिन हुँदैछ । तर उनको भनाइ हेर्दा लाग्छ उनलाई जापान घुम्न ज्यादा र खेल्न कम रूचि छ । चौधरीले देशका लागि पदक जित्नु भन्दा व्यक्तिगत उत्कृष्ठ प्रदर्शन गर्ने र राष्ट्रिय कीर्तिमान बनाउने भनेकी छन् ।
राष्ट्रिय कीर्तिमान राख्नैका लागि किन जापान गइरहनु । नेपालमै प्रसस्त खाली जग्गा छन् कुद्नका लागि । यहि रेकर्ड बनिहाल्छ नि । चौधरीको भनाई पढ्दा लाग्यो उनी अहिलेदेखि नै मनले हारेकी छन् । मनैले हारेको खेलाडीले जापान ओलम्पिककमा के खेल्ने र के मेडल जित्ने ? प्रश्न जिउँदो छ । ए..सम्झिए… जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना हुने टोक्यो ओलम्पिकका लागि नेपालबाट ५ खेलाडी जाने छन् तर उनीहरूसँगै २६ पदाधिकारीहरूले पनि सयर गर्ने छन् । ५ खेलाडीका लागि २६ पदाधिकारी ! के तमासा हो यो भगवान ?
हो, यो तमासा नेपालमा हुन्छ र, नेपालको खेल क्षेत्रको समग्र अवस्था कस्तो छ यसले चित्रण गर्छ । खेल्ने भन्दा हेर्ने बढी । सायद खेल्ने कम खेलाडीलाई उत्साहित गर्ने यो खेलकुदको नयाँ फर्मुला पो हो कि ! जे होस् मलाई के लाग्छ भने राष्ट्रिय कीर्तिमान भंग गर्नुबाहेक नेपालका कुनै खेलाडीले केही पदक ल्याउने छैनन् । उनीहरूसित अनुभव हुनेछ तर, रमितेलाई चैं जापान घुम्न पाएकोमा दंग लागेको छ । यस्तै छ नेपालको खेलकुद….
यो लेख आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।