नरिसाउनुस् है
नेपाल सरकारका एक उपसचिवस्तरका कर्मचारी छन् जो प्रदेश नं.१ का धेरै ठाउँमा घुमिरहन्छन् । विराटनगरको कुनै कुनोमा उनको घर छ, जग्गा जमिन पनि प्रसस्तै छ । आकर्षक ठाउँमा उनी जान्छन् र, उनका लागि जहाँ जान पनि ढोका खुल्ला छ ।
यी कर्मचारीको बहुरूप गज्जबको छ । छेपारोले रंग फेरेझैं परिवर्तन हुन माहिर रहेछन् राजनीतिक रूपमा । राजनीतिक रुपमा परिवर्तन भएपछि नेपालमा जे पनि हुने रहेछ । आउनुहोस् उनको यो रूप बदल्ने शैलीबारे केही जानौं । यी कर्मचारी सत्तामा जो आउँछ उसको फेरो समात्न माहिर छन्, सत्ता उनका लागि महत्वपूर्ण हो, सिद्धान्तसित उनको कुनै साइनो छैन ।
माओवादी शक्तिमा रहँदा उनी खाट्टी जनयुद्धधारी भए । माओवादको व्याख्याता पनि बने । प्यारो बनेर हिडे । रोजेको, खोजेको ठाउँमा बस्न पाए । एमाले र माओवादी एक भएपछि नेकपा बन्यो र, पूर्व एमाले र पूर्व माओवादी दुबैसित अति नै नजिक भए । पार्टीको कर्मचारी संगठनको सदस्यता पनि लिए । उनीसित नेकपाको संगठित सदस्यता पनि छ । माओवादी, एमाले पार्टीको पनि छ ।
केही दिनअघि उनले कांग्रेसको क्रियाशिल पनि प्राप्त गरेका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदैछन् भन्ने पूर्व जानकारी उनले पाएरै होला कांग्रेसको क्रियाशिल सदस्यता पाए । पार्टीका लागि दिन रात मरिमेट्नेले क्रियाशिल नपाएको अवस्था तर, यी कर्मचारीले एकैपटक चाहना राखेकै आधारमा सर्लक्कै पाए । भन्दैछन् रे–म त पहिलेदेखि नै कांग्रेस हुँ, विद्यार्थी कालदेखि नै कांग्रेस थिए नि !
उनी विद्यार्थी कालमा नेविसंघ भएको कसैलाई थाहा छैन । तर, कांग्रेसका धेरै नेताहरूसित वास्तविक कांग्रेसको भन्दा सुमधुर सम्वन्ध छ । केही नेता भनाउँदाको प्यारो कर्मचारी हुन उनी कांग्रेस भित्र पनि । सम्भवतः कांग्रेसका नेताहरूका धेरै काम उनले गर्दिएको हुनुपर्छ ।
यी कर्मचारीले क्रियाशिल पाएपछि कांग्रेसका कार्यकर्ता समेत आफैले आफैलाई धिकार्न थालेका छन् । भन्दैछन् रे–कांग्रेस समुन्द्र हो, यसको अर्थ यो होइन कि यहाँ बहुरूपीहरू पनि कुनै बेला पौडन पाउन ।
यी कर्मचारीको नाम के हो ? विद्धान पाठकहरूले नसोध्नुहोला । आफै गेस (अनुमान) गर्नुहोस् । एकदमै हेण्डसम् सुन्दर र आकषृक यी कर्मचारीलाई धेरैले चिन्छन् ।
उनी नेपाल सरकारको सचिव सहजै हुन्छन् । सत्तामा जो आओस् घुमाउने खुबीले उनी आकर्षक मन्त्रालयको सचिव हुन्छन् । हालैको एक दिन उनीसित कुनै चोकमा भेट भयो अकस्मात् ।
‘कांग्रेसमा तपाईंलाई स्वागत छ’
‘जयनेपाल’ उनले भने, ‘म त पुरानै कांग्रेस हुँ, क्रियाशिल मात्र भर्खरै लिएको हुँ ।’
४ बर्षअघि विराटनगरमा उनलाई भेट्दा अर्कै चालढाल देखिएको थियो । पंक्तिकारले भन्यो, ‘नेकपाको सरकार बन्ने भयो, अब कांग्रेसी कर्मचारीलाई पेल्ने भयो, कर्मचारीलाई पनि सुख छैन ।’
उनको जवाफ थियो, ‘हामी कर्मचारी हो, जो सत्तामा आउँछ फकाएर काम लिनुपर्छ ।’ यहाँसम्म त ठिकै थियो तर, उनको अर्को भनाई झस्किने खालको थियो । उनले भनेका थिए, ‘कांग्रेस अब २० बर्ष सत्तामा आउन सक्दैन, मलाई लाग्छ अबको समय कम्युनिष्टको हो, मैले पनि कम्युनिष्टका सिद्धान्त पढिरहेको छु ।’ केही हप्तापछि थाहा भयो उनी नेकपाको परिवारमा समाहित भइसकेछन् ।
यहाँ गोपाल रेग्मीजस्ता पार्टीका हार्डनाइनर कर्मचारीहरू असन्तोष व्यक्त गर्दै सहसचिवबाट राजिनामा दिएर घर बस्छन् । यज्ञ कोइराला जस्ता उत्साही कांग्रेसलाई माया गर्ने कर्मचारी लोक सेवा आयोगजस्तो खास्सै काम नहुने ठाउँमा जागीर मात्र खान पुग्छन् । सबैसित ठिक्क हुने कर्मचारीको समय हो यो ।
एक हिसाबले नेपालको अवस्था हेर्दा जता ढल्कु त्यता मल्कुको नीति सही नै हो भन्ने लाग्छ । जुन देशमा नेताहरू, पार्टीहरू सही र गलत चिन्दैनन्, आफ्ना र अर्काको मुल्याङ्कन गर्न सक्दैनन् त्यो ठाउँमा पक्कै पनि हेण्डसम् आकर्षक माथि उल्लेख गरिएका कर्मचारीको बहुरूप नै ठिक हो कि भन्ने लाग्छ । तपाईंलाई कस्तो लाग्यो कुन्नी ? यी व्यक्तिबारे कुनै जिज्ञासा हो भने यसो सुटुक्क फोन गर्नुहोस् है, छलफल गरेर निश्कर्षमा पुगौला ।
यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।