हिपमत डटकम

सोमबार, साउन ११, २०७८ || 912  पटक पढिएको

योगप्रसाद उपाध्याय चापागाईं

विस १५६८–१५७५ कास्कीकोटका राजा मिचा खाँड सत्ता कालमा राजसत्ताका नजिक रहेका केही थर जातका मानिसहरू कास्कीकोट दरबार नजिक स्थायी रुपले बसोबास गरि आएको देखिन्छ । कास्कीकोट दरबार र गुप्तकालिका भगवती मन्दिरको केही दूरीमा खडगाउँ नामको गाउँ अवस्थित छ । खडगाउँ चापागाईंको विरता रहेछ । देशको पश्चिम क्षेत्रमा चापागाईंलाई चपाई भनेर चिनिन्छ । खडगाउँ विरता पूर्वकालको हुँदा यसको कागजात वा कुनै प्रकारको पत्र, मोहर भेट्न नसक्दा खडगाउँ विरतार कस्को नाममा प्राप्य भन्ने निश्चित हुन सकिएन ।

कास्कीकोटको खडगाउँ विरतार भोग गरी आएका प्रजापति चापागाईंले आफ्ना वंशेरी दाजुभाइलाई सो विर्ता बुझाएको र आफू विस १९५० मा खडगाउँबाट सारङकोट सरुवा भएको एकसय अठ्ठाईस वर्ष पुरानो लिखत पत्रले प्रष्ट पारेको छ । पोखरा महानगरपालिकाबाट पश्चिमतर्फ दश किलोमिटर टाडा वर्तमानको पर्यटन क्षेत्र पोखरा महानगरपालिका वडा–२४ कास्कीकोटको यस खडगाउँमा पर्बतको देउपुरबाट चापागाईं पुर्खा आएर राजाज्ञा अनुसार बसेको बुज्न सकिन्छ ।

कास्की दरबारिया राजा कुलमण्डन शाहकाल पर्बतबाट कास्की आएर चापागाईं पुर्खा बसेको कुरा यहाँ उपलब्ध विभिन्न प्राचीन स्रोतले देखाएका र भनेका छन् । यहाँ चापागाईं (चपाई) सुवरा नाम जनश्रुति अनुसार चलि आएको देखिन्छ ।
यसैको पर्तिर चापाकोटगाउँ छ । चापाकोटगाउँको स्थापना प्राचीन कालको हो भन्नुमा द्विमत हुन सक्दैन । गुन्टे भन्ने ठाउँको विरता पनि देउपुरबाट आएका चापागाईं पुर्खा सन्ततिले पाएको भनिएको छ । यहाँ वर्तमानसम्म सो पुर्खा सन्तान चापागाईं परिवारको बसोबास रहेको भेटिन्छ । त्यस्तै चापाकोटमा कुलमण्डन शाहबाट मन्दिर निर्माण भएको र चापागाईं पुर्खा यस स्थानमा राजा कुलमण्डन शाहको सहयोगी रहेको हुँदा कास्कीको चापाकोट नाम हुन पुगेको देखिन्छ ।

कास्कीकोट गुप्तकालिका भगवती मन्दिरका गुठीयार पुजारी परिवारका ठाकुरप्रसाद त्रिपाठीका भनाइ अनुसार परशुराम पाध्या चापागाईं विस.१५६८–१५७५ मा कुलमण्डन शाहका निकटमा रहेका थिए । यस्तै चापाकोटमा पनि शंकराचार्य नाम गरेका अत्रि सन्तान चापागाईंका पुर्खा उही विस १५७५ अगावै देखि राजाका निकट सहयोगी रहेका भन्ने कुरा सेवा निवृत्त स्थानीय शिक्षक विष्णुबहादुर भन्छन् ।

विष्णुबहादुरको यो भनाई जे नै भएता पनि भारतको उत्तराखण्डको चारधाम क्षेत्रमा पर्ने जोशीमठ प्राचीन सहरमा यद्यावधि शंकराचायको पीठ रहनुले पनि यस प्रशंगलाई यहाँ जोडन सहज तुल्याएको छ । विष्णुबहादुरको सो भनाइले कति हदसम्म जोशीमठसँग जोडिएको छ भन्ने कुरा चाहिँ खोजकै विषय बनेको छ । त्यो जे होस् यस विषयले चाहिँ प्राचीनताको स्मरण गराएको छ ।
कास्कीकोटमा चापागाईं (चपाई), त्रिपाठी, अधिकारी, सुवेदी, दाहाल, पौड्याल, तिमलसिना आदि थरका ब्राह्मण पुर्खाको बसोबासो पूर्वदेखि रहि आएको छ । सबै थर जात जातिको पहिचान यहाँ पूर्वकालीन देखिन्छ । चुई, चुगाई जस्ता थरहरू हालसाल लुप्तप्राय अवस्थामा छन् भने पनि वर्तमान उनीहरूले थर गोत्र अनुसार आजका प्रचलित थर राखेको देखिन्छ । स्थानीय जनजनको भनाइमा कास्कीकोट क्षेत्रमा बसोबासो गरिरहेका परिवार समाजका ब्राह्मण, क्षत्री, दलित र अन्य सबै जातजातिको बसोबासो पूर्वकालकै रहेको छ ।

खस समुहका विभिन्न थर गोत्रका परिवार पूर्खाहरू पश्चिमका डोटी, अछाम, जुम्लाबाट आएका भनेता पनि पश्चिमकै समयकालबाटै यस क्षेत्रमा बसेको देखिन्छ । पश्चिमकै सेरोफेरोमा यहाँ विन्ध्यवासिनी, गुप्तकालिका भगवतीको मन्दिर, महाकालेश्वर शिवमन्दिर स्थापन भएका छन् ।

पोखराको मुख्य पर्यटन फेवाताल, माछापुछ्रे हिमाल, सहिद पार्क यसै क्षेत्रमा छन् भने पोखरा महानगर हेर्न यस क्षेत्रमा विभिन्न ठाउँमा भिउ टोइन्ट निर्माण भएका छन् । जहाँ दिनहु पर्यटक जाने गर्दछन् । हाल भने कोरोना कहरले पर्यटन ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!