हिपमत डटकम

आइतबार, साउन १०, २०७८ || 431  पटक पढिएको

दिपेन न्यौपाने

लकडाउनको युग सकिएको छ । निषेधाज्ञाको युग चलिरहेको छ । निषेधाज्ञाको युग सकिएपछि केको युग आउने हो थाहा छैन । कोरोनाको शासनकालमा पनि हामी जिन्दगीका पाना पल्टाइरहेका छौं । यस विषम र जटिल अवस्थामा हामीलाई बाँचिरहन इच्छा छ । अझ धेरै सुन्दर जीवन जिउने आशा र अभिलाशा पलाउँदो छ ।
समयले कोल्टे फेर्दा जिन्दगीमा केही प्रतिकूलता थपिएको पक्कै हो । यही प्रतिकूलताबीच मानिसले बाँच्नु परेको छ । तथापि दैनिक ज्यालादारी गरिखाने भुइँमान्छेको अवस्था निकै नाजुक बनेको छ यतिखेर । अझ श्रमिकका लागि कोरोना अभिशाप बनेर उसको जिन्दगीमा ठिङ्ग उभिएको छ ।
कसैका निम्ति कोरोनाले जिन्दगी सपारी दिएको छ । अनि भाग्य नै बदली दिएको पनि छ । कोरोनाविरूद्धका स्वास्थ्य सामग्रीको व्यापार उधुमै चम्किएको छ । धन लगानी गर्नेहरू मालामाला नै भए नि ।

नाथे मुखनाक छोप्ने एकबित्ते टालो (मास्क) को दाम पनि छोइ नसक्नु छ । बिचरा त्यो काममविहीन विपन्न व्यक्तिले कसरी खरिद गर्न सक्छ र ?। हातमा लाउने पञ्जा र सेनिटाइजर किन्ने त हैसिरयत नै कहाँ हुनु र उसँग । अनि तिनलाई कोरोना भाइरसले नलखेटे कसले लखेट्छ त । बौरा श्रमिक कति बिलखबन्धनमा छन् ।
घरमा खाने एक गेडो अन्न छैन । झुपडीको बास । सुत्ने एउटै कोठा । कता सामाजिक दूरी कायम हुनु र । गाह्रो छ विपन्नलाई जिन्दगी जिउन पनि । कोरानाको निहुमा साहुले रोजगारी पनि खोसी दिए । बिहान कमायो बेलुकी खानेलाई धनसम्पति जोहो गर्ने औका नै कहाँ मिलेको छ र ।
खाली खुट्टा, त्यो पनि तात्ततातो पिच र रोडाढुंगाको सडकमा हिड्नुपर्ने पीडादायी अवस्था छ । दरिद्रीपन गाँजेको यस्तो दूरावस्थामा राज्यले के नै पो ग¥यो र तिनका लागि । जो विपन्नताको भुमरीमा जीवन जिइरहेका छन् ।

महंगीले डाँडा काटेको यस विषम परिस्थितिमा गरीबले कसरी गुगारा गरिरहेका छन् । यसको खोजखबरी कसले गरिदिने होला । के खाउँ र के लाउँले चिन्ताग्रस्त मजदूरको जीवनमा कसले सुनौलो बनाउन मद्दत गर्ने हो । त्यस विषयको उचित समाधान निस्किन सकेको छैन ।
अब छिनोफानो गर्नै पर्छ । अनि कित्ताकाट गर्नै पर्छ । को कहाँ बस्ने र जोखिमबाट कसरी बच्ने । नत्र सम्पन्न र ठूला बडाको राज धेरै टिक्नेवाला छैन सधैं । लेखेर राखे हुन्छ । धनले मानिसको मृत्युलाई बचाउँदैन । मर्दा नि धन बोकेर लाने पनि होइन क्या रे ।

 

जगत कल्याणको भाव झल्किने, सेवा भाव पलाउने मनुवाको खोजी नभएको होइन । तर निहीत स्वार्थले ग्रस्त सस्तो लोकप्रियताका लागि सामाजिक सञ्जालमा फोटा पोस्ट्याउन लालायित हुनेहरूको बाली फस्टाउँदो छ यतिखेर । कोरोनाको कहरका बीचमा नाफाखोरी व्यापार अचाक्ली फस्टाएको वर्तमान परिस्थितिमा श्रमिकको हक अधिकारका लागि कसले लडिदिने होला ।
राहतको नाममा कमिसनमा लिप्त कर्मचारीतन्त्र लकडाउनमा धमाधम पक्की घरका तला थप्ता पनि अहड्का हाकिम आँखा चिम्लिदिन्छन् । एक प्याकेट चारचाउ दिएर राहतको बिलको ढड्डा पेसेर कमिसन लतार्ने कर्मचारी पनि छन् यहाँ ।
कामचोर कर्मचारीमात्र होइन राजनीतिक दलका नेता र तिनका कार्यकर्ता पनि ठेक्कापट्टामा कमिसन खान माहिर देखिएका छन् ।
तसर्थ, महंगीले थिन्थिलो भएर थिचिएको भुइँमान्छे कोरोना महामारीको जटिल अवस्थामा तिनको उद्दार कसले गर्ने हो त्यसको टुंगो अझैसम्म लागेको छैन । क्षणिक सहयोगले विपन्नको घर चल्दैन ।

दीर्घकालीन समाधान गरे अर्को चोटी भोट पाइने होइन । त्यसैले आश्वासनमा बाँच्न अल्पकालीन समाधान गरेर परनिर्भर बनाइ राख्ने नीति अख्तियार गर्दछन् दलका नेताहरू । अहिले सय रूपैयाँ लिएर बजार पस्दा चाहिएको बस्तु किन्न नसकेर बिस्मत हुने भुइँमान्छेको जिन्दगी कति अत्यासलाग्दो छ ।
जसका हात खुट्टा पट्टपटि फुटेर लखतरान भएपनि अझै उसको मन फाटेको छैन । अझै भाग्य चम्किने आशाको त्यान्द्रो लिएर बाँच्न बाध्य छ भूइँमान्छे । महंगीलाई सिरानी लाएर सुत्न बाध्य छ भूइँमान्छे ।

पुरानो सरकारले भुइँमान्छेको समस्या समाधान गरेन भनेर कोकोहोलो मच्चाउनेहरूले नयाँ सरकारले आएसँगै उनीहरू किन मौन छन् । के त्यो राजनीतिको सत्ता हत्याउने खेलमात्र थियो त ? यक्ष प्रश्न उठेको छ । समयले प्रमाणित गर्दै जाला । तसर्थ, खोपमा राजनीतिको झेल नगर ।
विपन्नलाई खोप लाउन राजनीति नगरेकै वेश । विपन्न पनि जनता हुन् ख्याल गरेस् । केवल चुनावमा पैसाको बिटो बोकेर झुप्रा झुप्रा चहार्ने नगरेस् । विपन्न वर्ग यो देशको उत्थानमा अब्बल योगदान पु¥याउने कर्मठ व्यक्तित्व भित्र नै पर्दछ । सर्वप्रथम उनैलाई महामारीविरूद्धको खोप लगाइ देऊ सिंहदरबारको सरकार । विपन्नलाई लकडाउन र निषेधाज्ञा होइन काम र माम देऊ सरकार ।

यो लेख आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!