खबर ठुलो छ

विगत दुई हप्तादेखि लगातार एउटा म्यासेज आउँछ, “‘टु’ केही भयो प्रगति ?”मसँग यत्ति जवाफ छ ‘नआत्तिइकन बस न ! केही त गर्ला नि सरकारले ।’खाली नआत्ति नआत्ति के थाहा तलाई यहाँको अवस्था के छ भनेर ।’हरेक दिन वुहानमा रहेका मेरा साथीहरुसँग वी च्याटमा हुने संवादको एउटा अंश हो यो ।

उनीहरुसँग हरेक दिन गरिने कुराकानीमा आशा प्रकट गर्नुबाहेक अरु कुनै ठोस जानकारी दिन नसक्ने अहिलेको परिस्थितिले आफूलाई लाचार बनाउँछ र सरकारले देखाएको उदासीनता र अकर्मण्यताले गर्दा आफ्नो देशप्रतिको देशभक्त शुन्यमा झार्छ । यतिका दिनसम्म पनि सरकारले आफ्ना नागरिकको उद्धारमा चासो नदिँदा निराश र क्षोभ प्रकट गर्नुबाहेक मसँग कुनै उपाय नै बाँकी छैन । अत्यन्तै जटील परिस्थितिमा फँसेर दारुण जिन्दगी बिताउन अभिशप्त आफ्नै देशका नागरिकहरुको उद्धारका लागि सरकारले खासै प्रयत्न नगरिरहेको यो परिस्थिति साँच्चै नै लाजमर्दो विषय होइन र ?

मेरा साथीहरु जस्तै वुहानमा रहेका हरेक नेपालीहरुले आफ्ना साथीभाइ र आफन्तहरुसँग गर्ने संवाद सम्भवतः यस्तै नै हुन्छ होला । नागरिकको हैसियतमा हामी जवाफविहीन छौं, जवाफ दिने हैसियतमा रहेकाहरुबाट यसबारेमा कुनै ठोस जानकारी सार्वजनिक नै भएको छैन सिवाय छिट्टै ल्याउने तयारीमा छौं भन्नेबाहेक । त्यही भनेको पनि हप्ता दिन बितिसक्यो । आज मात्रै दुई/तीन दिनमा वाइडबडी जहाज पठाएर वुहानमा फँसेका नेपालीको उद्धार गर्ने जानकारी आएको छ, तर अझै पनि विश्वास गरिहाल्न सकिने स्थिति छैन ।

अझ पनि दुई/तीन दिन किन भनिरहेको छ ? किन दिन तोक्न सकिरहेको छैन सरकार ?

यो कुरामा कुनै द्विविधा छैन, उनीहरुलाई तत्काल उद्धार गर्नु जरुरी छ । कोरोनाको त्रासले घरभित्रै थुनिनु परेको दयनीय स्थिति त छँदैछ, वुहानमा रहेका नेपालीहरुमा अर्को त्रास पनि थपिएको छ, त्यो हो : पानीबाट र दिसाबाट पनि भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना । यसबारे चीन सरकारले जनतालाई सचेत गराइरहेको छ ।

साथीहरु भन्छन्, अहिले पिउने पानीको चरम अभाव छ, भएकै पानी पनि अड्कलेर प्रयोग गर्नुपर्छ । उनीहरु भन्छन्, केही नेपालीले पहिला नै खाद्यान्न किनेर राखेपनि धेरैले आफ्नो लागि निश्चित समयका लागि मात्र खाद्यान्न किनेका हुनाले अहिले धेरैजसोकोमा खाद्यान्न सकिन थालेको छ । बाहिर निस्किएर खाद्यान्न किन्न सकिने, पाउने स्थिति छैन ।

भाइरस पानीबाट पनि सर्न सक्ने भन्ने हल्लाले झनै उनीहरुमा त्रास फैलिएको छ । खानेपानीको अभाव हुँदा धाराको पानी उमालेर प्रयोग गर्दै आएको उनीहरु बताइरहेका छन् । भाइरस संक्रमणको डरले घरायसी प्रयोगका लागि ६० डिग्रीभन्दा माथिको तापक्रमको पानीको सोझै प्रयोग गर्दा उनीहरुको हात खुट्टा डढ्न थालेको छ । बालबालिकालाई झनै सास्ती भएको उनीहरु बताउँछन् ।

दिनभरी कोठाभित्र त्रासमा बस्दा मनोवैज्ञानिक असर त पर्ने नै भयो त्यसमाथि आफ्नो देशले गरेको बेवास्ताका कारण उनीहरु विक्षिप्त बनेका छन् ।

नाबालक बच्चासहित बसेका उनीहरुले खाद्यान्नको अभाव झेल्न थालिसकेका छन् । खाद्यान्न सकिँदै गएपछि दुई दिन भयो कतिपयले जाउलो मात्र खाएको । भाइरसको संक्रमणबाट बच्न सबैभन्दा जरुरी कुरा हो शरीरको रोग प्रतिरोधात्मक क्षमता । त्यसका लागि सन्तुलित खानेकुराहरु खानु जरुरी छ, यो सबैले जानेबुझेकै कुरा हो । तर कोरोना महामारीको इपिसेन्टरमा फँसेका नेपालीहरुले ‘बाँच्नैकै खातिर’ खाइरहेका त्यस्ता खानाले उनीहरु कति दिन तग्लान्, त्यस्ता खानाले कसरी भाइरससँग लड्ने रोग प्रतिरोधात्मक क्षमता बढ्ला ? थपिएको चिन्ता यो पनि हो । यता सरकार उद्धारका लागि अझै केही दिनको कुरा गर्छ, उता उनीहरु दिनप्रतिदिन गलिरहेका छन् ।

२० दिनदेखि कोठाभित्र बन्द छन् उनीहरु, चिनियाँ सरकारले वुहानलाई पूरै ‘लकडाउन’ गरेको छ । कसैलाई घरबाट बाहिर निस्किने अनुमति छैन । चिनियाँ सरकारले आफ्नो देशमा रहेका विदेशी नागरिकको रक्षा गर्ने र उनीहरुलाई कुनै समस्या हुन नदिने त बताएको छ, तर स्थिति चाहिँ भनेजस्तो सहज अवस्था नभएको त्यहाँका नेपालीहरु बताउँछन् ।

भाइरसको संक्रमणमा पर्ने खतरा त परको कुरा भयो, उनीहरु त त्यहाँको विकट परिस्थिति अनि, त्यसो स्थितिमा चाहिने आफन्त र परिवारजनहरुको साथको अभावमा चर्को मनोवैज्ञानिक असर भोगिरहेका छन् । यतिखेर तत्कालै र तुरुन्तै गरिनुपर्ने भनेको उनीहरुको उद्धार हो, तर त्यसतर्फ आवश्वासनबाहेक खासै ठोस काम हुन नसकेको स्थितिले वुहानमा फसेका नेपालीहरु गल्दै गएका छन् ।

अन्य देशले आफ्ना नागरिक फिर्ता गरिसक्दा पनि आफ्नो देशले केही नगर्दा देशप्रति नै नकारात्मक भावना पैदा भएको उनीहरु बताइरहेका छन् ।

उनीहरु भन्छन्, ‘अहिलेसम्म वुहानबाट उद्धार गरिएका देशहरुका नागरिकमा कसैमा पनि कोरोनाको संक्रमण भेटिएको छैन । हामी पनि यहाँ कोठाभित्र छौं । कोठाभित्र थुनिएको पनि २० दिनभन्दा बढी भयो । अहिलेसम्म कसैमा पनि कोरोनाको संक्रमण छैन । तर भोलि संक्रमण हुने हो भने हालत के हुन्छ ?’ हरेक दिन उनीहरुले गर्ने प्रश्न हो यो ।

वुहानमा रहेका मध्ये धेरैजसो विद्यार्थी चिकित्सा विज्ञानमा नै पिएचडी गर्दै गरेका पनि छन् । भविष्यका डाक्टर उनीहरुलाई अवश्य पनि थाहा होला कि नेपालमा संक्रमण फैलिएमा के गर्ने भनेर ।

त्यसमाथि थप, चीन सरकारले नै फिर्ता लैजाने देशका नागरिकको स्वास्थ्य परीक्षण गरेर मात्र पठाउने गरेको छ । कसैमा संक्रमण भएको पाएमा उनीहरुलाई तुरुन्त उपचारको लागि अस्पताल लैजाने छ । यो स्थितिमा उनीहरुलाई उद्धार गरेर नेपालमा ल्याउन कुनै आइतबार कुरिबस्नै नपर्ने हो ! तर दुर्भाग्यवश, उनीहरुको उद्धारकार्यमा चरम ढिलाइ हुँदै गइरहेको छ ।

सरकार, उनीहरु संक्रमण नहुँदै आफ्नो देश फर्कन चाहन्छन् । यती र उती दिन भनेर बस्न भन्दा पनि तत्कार उद्धार गर्नु राज्यको कर्तव्य होइन र ?

यता, नेपालस्थित चाइनिज दूतावासले विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर आफ्ना नागरिक फिर्ता गर्न सकिने बताइरहँदा पनि नेपाल सरकारले पहल नथाल्नु दुःखद कुरा हो ।

चीनमा रहेका आफ्ना सन्तानलाई तुरुन्त उद्धार गर्न भन्दै नेपालमा रहेका अविभावकहरु कहिले मन्त्रालय कहिले सडक र कहिले मानवअधिकार आयोग धाएको पनि यतिका दिन भइसक्यो । मानव अधिकार आयोगले तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गरिसकेको छ । तर, खासै केही भइरहेका छैन ।

उदेकलाग्दो कुरा चाहिँ के पनि छ भने, चीनबाट उद्धार गरेर ल्याउन लागिएका नेपालीलाई ‘क्वारेन्टाइन’ मा राख्नको लागि पनि सरकारले अझै ठाउँको व्यवस्था गर्न सकेको छैन । यसलाई के भन्ने ??? २०० को हाराहारीको संख्यालाई सुरक्षित राख्न ठाउँ चयन गर्न नसक्ने सरकारको अहिलेको लाचारीले स्वास्थ्यको क्षेत्रमा सरकारको चरम नालायकीपनलाई नै उदांगो पारिरहेको छ । दुर्भाग्यवश, भविष्यमा कुनै ठूलै भवितव्य परेर नेपालमै कुनै पनि प्रकारका महामारी फैलियो भने सरकारले के गर्ला ? ठूलो चिन्ताको विषय यो पनि हो ।

प्रतिक्रिया दिनुहोस
जनमत

एमाले फुट्नु सहि कि गलत ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया