हिपमत डटकम

मंगलबार, आषाढ ०८, २०७८ || 419  पटक पढिएको

मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ । घिमिरेको अहिले नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरी नर्भिक अस्पतालमा उपचार जारी छ ।

 

दुर्घटनामा परेर तीन वर्षदेखि मृत्यु शैयामा छटपटाइरहेकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । चौधरीले घिमिरेको जेठ २७ गते उद्धार गरेकी थिइन् । हाल नर्भिकले उनलाई विशेष उपचार कक्षमा राखेर उपचार गरिरहेको छ ।

 

उद्धार गरेर ल्याएको भोलिपल्टदेखि नै उचित उपचार, आहारविहार र केयरिङ पाएका कारण कलाकार निशाको मुहारमा चमक देखिएको थियो । अस्थिपञ्जर मात्रै बाँकी रहेको जस्तो देखिने उनको शरीरका घाउहरु निको हुन थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको छ ।

 

हाल नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ । डा. पंकज जलान नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।

अस्पतालमा आउँदा चलन नसक्ने उनी चलमलाउन थालेकी छिन् । बुझेजस्तो गरी शरीर तथा अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रिया समेत दिन थालेकी छिन् । उनले पछिल्लो समय बोल्ने समेत कोशिस गरिरहेकी छिन् । उपचारका संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार भोक लाग्दा संकेत दिनेसम्मको भएकी छिन् । ‘उहाँ भोक लाग्यो भने कराएजस्तो गर्नुहुन्छ ।’ उपचार संलग्न चिकित्सहरु भन्छन्–‘क्रमशः अवस्थामा सुधार भइरहेको छ ।’

 

उनले सोझै खाना खान भने सकेकी छैनन् । पाइपमार्फत खाना दिइने गरिएको छ । डा. जलानले निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन् । उनले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत बताए ।

जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने संभावना भने न्यून छ । ‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ ।’ डा. जलानले भने–‘तर, आएको बेलाको तुलनामा घाउहरु निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरेका छौं । प्रोटिन, क्यालोरिजहरु प्रशस्त दिइरहेका छौं । हिजोबाट ह्वीलचेयरमा समेत बसाउन सुरु गरेका छौं ।’ ​निशाको अवस्थालाई उनले ‘जनरल कन्डीसन इम्प्रूभ’ भएको अवस्थाको रुपमा बुझ्न सकिने बताए ।

 

तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारत गएकी थिइन् । त्यहाँ भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटना लगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।

 

काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो ।

नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् । यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए । नर्भिकले उनको उद्धार गरेपछि उनलाई आर्थिक सहयोग गर्नेहरुको समेत लहर नै चलेको छ । उनको नाममा अक्षयकोष स्थापना गरी सहयोग रकम धमाधम जम्मा भइरहेको उनको उद्धारका लागि समन्वय गरेका समाजसेवी दुर्गानाथ दाहालले जानकारी दिए । news source :- Ratopati

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!