
पथरी । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप – २०८२ को हिसाब सार्वजनिक गरिएको छ ।

पथरी ११ फुटबल क्लबको आयोजनामा गत कात्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालित प्रतियोगिताको हिसाब आयोजक पथरी ११ फुटबल क्लबले शनिबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
पथरीको शिखर चोकस्थित क्लबको मुख्य कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा क्लबका सचिव केशर राईले आय व्ययको विस्तृत विवरण सार्वजनिक गरेका हुन । सार्वजनिक विवरण अनुसार पथरी शनिश्चरे नगरपालिका, मुख्य प्रायोजक इन्ट्रा फाउण्डेशन, स्वदेश–विदेशमा रहेका व्यापारी तथा शुभचिन्तक, विभिन्न प्रायोजक र टिकट बिक्रीबाट गरी कुल ४५ लाख ४० हजार १५० रुपैयाँ आम्दानी भएको छ भने प्रतियोगिताको खर्च ४२ लाख ३६ हजार २ सय रुपैयाँ पुगेको र ३ लाख ३ हजार ९५० रुपैयाँ बचत रहेको छ ।

नगरपालिकाबाट ७ लाख ३९ हजार ७१० रुपैयाँ, विभिन्न व्यापारी र शुभचिन्तकबाट १९ लाख ८५ हजार ८४० रुपैयाँ, मुख्य प्रायोजक इन्ट्रा फाउण्डेशनबाट ५ लाख, अन्य प्रायोजकहरूबाट ५ लाख र टिकट बिक्रीबाट ८ लाख १४ हजार ६ सय रुपैयाँ संकलन भएको सार्वजनिक विवरणमा उल्लेख छ ।
आयोजक पथरी ११ फुटबल क्लबका अध्यक्ष सुमन विकको अध्यक्षता रहेको कार्यक्रममा सम्बोधन गर्दै विकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने मुख्य प्रायोजक , प्रायोजक , सहप्रायोजक , स्थानीय निकाय, व्यवसायी, सबै सहयोगी , खेलप्रेमी , दर्शक , स्वयंसेवक लगायत सबै पक्षलाई धन्यवाद व्यक्त गरे ।

अध्यक्ष विकले क्लबले आगामी दिनमा अझ अनुशासित, पारदर्शी र प्रभावकारी रूपमा प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे । उनले क्लब मोफसल बाहिरका प्रतियोगिताहरुमा मात्रै सिमित नभई आगामी दिनमा राष्ट्रिय लिग प्रतियोगिताहरुको निम्ति समेत सक्रिय हुने बताए ।
कार्यक्रममा गोल्डकपलाई सफल बनाउन महत्त्वपूर्ण भुमिका खेल्ने विभिन्न सञ्चारमाध्यमहरुमा कार्यरत सञ्चारकर्मीहरुलाई सम्मानपत्र समेत प्रदान गरिएको थियो ।