मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५२४ पुगेको छ । हेटौँडा अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सागर काफ्लेले दिएको जानकारी अनुसार शुक्रबार एकैदिन १७७ जना संक्रमित थपिएसँगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको हो ।
शुक्रबार २७४ जनाको स्वाबको नमुना परीक्षण गर्दा १७७ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुनेमा अधिकांश युवा पुस्ता रहेको डा. काफ्लेले बताए ।
बिहिबारसम्म जिल्लामा ३४७ जना सक्रिय संक्रमित रहेका थिए । हेटौँडा अस्पतालमा कोरोना परीक्षण ल्याब संचालन भएपछि मकवानपुका १ हजार ६ सय ५० जनाको कोरोना परीक्षण गर्दा ६०२ जना संक्रमण पुष्टि भएको थियो । जसमध्ये ७८ जना संक्रमण मुक्त भइसकेका छन् भने ५२४ जना संक्रमणकै अवस्थामा होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसिरहेका छन् ।
भेन्टिलेटरमा २, एचडियुमा १२
हेटौँडा अस्पतालले संचालन गरेको कोभिड वार्डको भेन्टिलेटरमा हाल २ जना, र एचडियुमा १२ जना कोरोनाका संक्रमितहरु उपचाररत रहेका छन् ।
शनिवार मात्रै एचडियुमा उपचाररत रहेका ३ जना डिस्चार्ज भई २ जना गौरीटार रंगशालामा रहेको आइसोलेशनमा र १ जना होम आइसोलेशनमा बसेका छन् ।
शुक्रबारसम्म उक्त भेन्टिलेटरमा उपचाररत रहेका ३ जना डिस्चार्ज भइसकेका छन् भने १ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि काठमाडौँ पठाइएको डा. काफ्लेले बताए ।
हेटौँडा अस्पतालले शुक्रबारबाट १४ बेडको एचडियु र ६ बेडको भेन्टिलेटर संचालनमा ल्याएको थियो ।
हेटौँडा अस्पतालमा रहेको ६ वटा भेन्टिलेटरमध्ये २ वटा मात्र कोरोना संक्रमितहरुको उपचारको लागि प्रयोग भइरहेको र अरु ४ वटा अन्य विभिन्न रोगका विरामीहरुका लागि प्रयोगमा ल्याइएको अस्पतालले जनाएको छ ।
होम आइसोलेशनको निगरानी कसले गर्ने ?
मकवानपुरमा हेटौँडा अस्पतालले संचालन गरको भेन्टिलेटर, आइसीयु र एचडियुमा गरी १४ जना कोरोनाका विरामीहरु उपचाररत छन् भने हेटौँडा ६ गौरीटारमा रंगशालामा रहेको आइसोलेशनमा १३ जना संक्रमित उपचाररत छन् ।
जिल्लामा सक्रिय संक्रमितको संख्या ५२४ जना रहेको छ । ४९७ जना संक्रमित होम आइसोलेशनमा बस्दै आएका छन् । तर, उनीहरुको स्वास्थ्य अवस्थाबारे कसले फलोअप गर्ने भन्नेमा नै दुविधा रहेको छ ।
सम्बन्धित पालिकाको वडाले उनीहरुको स्वास्थ्य अवस्था र निगरानी गर्नुपर्ने चिकित्सकहरु बताउँछन् , उता सम्बन्धित पालिकाका जनप्रतिनिधिहरु तथा स्वास्थ्य एकाइका कर्मचारीहरु भने आइसोलेशन र अस्पतालका चिकित्सकहरुले उनीहरुको निगरानी गर्नुपर्ने दावी गर्छन् ।
उनीहरुको निगरानी कसले गर्ने भन्ने विषयमा अन्यौल हुँदा होम आइसोलेशनमा रहेका विरामीहरुको स्वास्थ्य अवस्था जोखिममा पर्नुको साथै संक्रमण फैलने डर समेत बढेको छ ।news source ;- Ratopati