सोमबार, माघ २०, २०७६ || 1582  पटक पढिएको

हिपमत डटकम
जनकपुर,२० माघ: काजल कर्ण लामो समयदेखि अमेरिका बस्दै आएकी छन् । पछिल्लो समय आधुनिक र सुविधा सम्पन्न सहरमा बसेपनि उनलाई आफु जन्मे, हुर्केको र सिकेको सभ्यता छोड्न पटक्कै मन छैन ।
त्यसैले त उनी मिथिलाको संस्कृति, सभ्यता र परम्पराबारे सात समुन्द्र पारी पुगेर पनि पछ्याइरहेकी छन् । उनले त्यो संस्कृति र परम्परालाई निरन्तरता दिँदै सकेसम्म प्रचार–प्रसार पनि गर्ने गरेकी छन् ।

काजल अमेरिकास्थित कर्णा इन्टरनेशनल आइएनसी नामक कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सिईओ) पनि हुन् । अमेरिका त्यसैपनि काम नगरी हुँदैन । तै पनि उनी थोरै समय पाइन् भने मैथिली र मिथिलाको प्रचारमा खर्च गरि हाल्छिन् ।

सामाजिक सञ्जालमा ‘मैथिली दिवा युएसए’ नामक पेज नै बनाएर काजलले आफूले गरेका क्रियाकलापबारे प्रचार प्रसार थालेकी छन् । जनकपुरमा प्रविणता प्रमाणपत्र तह उतीर्ण गरेपछि काजल राजधानी काठमाडौँ पुगिन् । काठमाडौ बसेर स्नातक तहको अध्ययन गरिन् ।

काठमाडौ बस्दा मैथिली समुदायकै मानिसहरुले पनि मैथिली भाषामा प्रयोग नगरेको देखेपछि उनको मनमा चिसो पस्यो ‘ किन आफ्नो भाषा र संस्कृति छोपेको होला ?’ उनको मनमा यस्तै यस्तै प्रश्नहरु उठने गरे ।
‘त्यसबेलाबाटै मेरो मनमा मैथिली भाषा र मिथिला संस्कृतिको प्रचार प्रसार गर्नुपर्छ भन्ने इच्छा जाग्यो’, उनले कुराकानीका क्रममा सुनाइन् ।

१८ वर्षको उमेरमा अध्ययनरत रहँदै काजल कर्णको विवाह भयो । विवाहपछि उनी श्रीमान देवेन्द्रलाल कर्णसँगै अमेरिका पुगिन् । विवाहपछि अमेरिका गएसँगै उनले मिथिला संस्कृतिबारे आफूभित्रको चाहनालाई थप उजागर गर्ने मौका पाइन् । ‘मैले मेरो मनभित्रको सानै देखिको चाहानालाई मर्न दिइँन्’,काजलले रातोपाटीसँगको विगत सम्झिइन् । त्यसै क्रममा अमेरिकामा आयोजना भएको ‘मिसेज साउथ एसिया २०१४’ को क्राउन समेत जित्न सफल भइन् ।

‘अहिले म अमेरिकामै सधैंका लागि सेटल भइसकेकी छु, त्यहाँ मिसेज साउथ एशियाको क्राउन समेत जितेकी छु, तर आफ्नो संस्कृति तथा भाषाप्रतिको मोह, र माया थप बढ्दै गएको छ’, काजलको अनुभव छ ।
आफुभित्रको चाहनालाई फराकिलो बनाउँदै आफ्नो संस्कृति जगेर्नामा लागेकी उनले अमेरिकामा रहेका मैथिली समुदायका मानिसहरुलाई एकत्रित गर्ने प्रयास गरिन् । उनकै प्रयासमा मैथिल समुदायका मानिसहरु अमेरिकामा एकतावद्ध भएपछि छठ, चौठचन्द्र लगायतका पर्वहरु मनाउने क्रम जारी छ ।

काजल भन्छिन्, ‘मैथिल भोजन, मैथिल संस्कृति, मैथिल समुदायले आफ्नो सीपबाट बनाउने समानहरुको प्रचार गर्ने मेरो अभियान हो र म यस अभियानमा लागिपरेको छु ।’ यसलाई थप प्रचारप्रसार गर्न काजलले मिथिलाजोन डटकम नामक वेभसाइट तयार गर्ने क्रममा लागेकी छन् ।

‘सीता योद्धा हुन्’

केही दिनअघि काजल कर्ण आफ्नो जन्मथलो जनकपुरधाम आएकी छन् । उनी माता सीतालाई योद्धाको रुपमा प्रचार–प्रसार गर्न जनकपुरधाम आएको बताउँछिन् । जनकपुरधाम लगायत अन्य स्थानमा माता सीताको विशाल प्रतिमा बनाउने उनको चाहाना छ ।

किन त सीताको प्रतिमा ? प्रश्न सोध्न नपाउँदै काजलले भनिन्, ‘रामायणमा रामको मात्र चर्चा छ, तर माता सीताले ७ वर्षको कलिलै उमेरमै शिवको धनुष बायाँ हातले उठाएकी थिइन्, उनी सहनशिलता नभई पराक्रम समेत थिइन् । सीता एक योद्धा पनि हुन् भन्ने कुरा यसले पुष्टि गर्छ ।’

पराक्रम सीतालाई ओझेलमा पारेको उनलाई चित्त नबुझेको उनीसँगको कुराकानीमा बुझ्न सकिन्छ । भन्छिन्, ‘जनकपुरधाम, अमेरिका, लण्डन, जर्मनी लगायतका देशमा पृथ्वीको प्रतिमामा सवार सीता बायाँ हातले शिवको धनुष उठाएको प्रतिमा बनाउन चाहन्छु्’, यसका लागि प्रदेश सरकार, स्थानीय सरकार र केन्द्रीय सरकारबाट सहयोग पाउने उनको आशा छ ।

‘यो मेरो व्यक्तिगत चाहाना भन्दा पनि अहिले नेपाल सरकारले चलाएको ‘भिजिट नेपाल २०२०’ अभियानलाई समेत बल दिन्छ भन्ने बुझाइ छ,’ उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!