रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले लिभरपुलविरुद्धको च्याम्पियन्स लिग क्वार्टरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा क्लबका स्टार खेलाडी इडेन हाजार्ड सहभागी नहुने स्पष्ट पारेका छन् । हाजार्डलाई अर्को चोट लाग्नसक्नेगरी आफुले जोखिम मोल्न नसक्ने जिदानले बताएका हुन् ।
सन् २०१९ मा चेल्सीबाट रियल म्याड्रिड आएयता हाजार्ड धेरैपटक घाइते भइसकेका छन् । पछिल्लो पटक मांशपेसीमा समस्या देखिएपछि केही समय मैदानबाहिर रहेका हाजार्ड शुक्रबार अभ्यासमा फर्किसकेका छन् । यद्यपि शनिबार इबरविरुद्ध रियलले २–० को जित हासिल गर्दा हाजार्ड मैदानमा थिएनन् ।
‘हाजार्ड शान्त र धैर्य रहनुपर्ने आवश्यकता छ । महत्त्वपूर्ण कुरा उनी पूर्ण ठीक भइसकेका छन् र उनलाई खेलमा फर्काउनका लागि हतारो गर्नपर्छ भन्ने म ठाँन्दिन,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा जिदानले भने ।
यता, लिभरपुलका प्रशिक्षक योर्गन क्लपले आफ्नो टोलीले सातौंपटक उपाधि जित्ने लक्ष्य राखेको बताएका छन् । इंग्लिस प्रिमियर लिगको उपाधि होडबाट लिभरपुल बाहिरीसकेको अवस्थामा क्लोपले च्याम्पियन्स लिगलाई नै मुख्य ध्यानमा राखेका छन् । उनले रियलविरुद्ध बदला लिने मनसाय आफ्नो टोलीको नरहेको बताए । २०१८ को च्याम्पियन्स लिग फाइनलमा रियल म्याड्रिडले लिभरपुललाई ३–१ ले हराएको थियो । यद्यपी, योर्गान क्लोपको टोलीले २०१९ मा यो उपाधि जित्यो । news source;- ratopati