हिपमत डटकम

शुक्रबार, चैत्र २०, २०७७ || 1455  पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाज फासीवादी निरंकुशतातिर जाने खतरा रहेको बताएका छन्।

शुक्रबार वामपन्थी नेता स्व.माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष ‘प्रचण्ड’ले प्राप्त गरिएका राजनीतिक परिवर्तनहरूलाई उल्ट्याउँदै नेपाली समाजलाई फासीवादी निरंकुशतातर्फ लैजाने खतरा बढेको बताए।

देशभित्र र बाहिरका शक्तिहरू संवैधानिक निकायहरू समेतको संलग्नतामा सेटिङमा लागेको भन्दै उनले संविधान, ऐन र मूल्यमान्यताले काम नगर्ने तर सेटिङले काम गर्ने अवस्था अहिले रहेको बताए।

नेपाल र नेपाली जनताको अधिकार र पहिचानविरूद्ध सेटिङ भएको पनि उनले बताए।

उनले भने, ‘समाज चरम फासीवादी निरंकुशतातिर जाने खतरा छ। हामी त्यसविरूद्ध खबरदारी गरेका छौं। अहिले तपाईं हामीले सुन्ने गरेको शब्द एउटा छ। अलि बढी नै सुन्ने गरेका छौं सेटिङ। देशभित्रका, बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरूकोबीचमा सेटिङ हुने। नियमले काम नगर्ने, संविधानले काम नगर्ने, मूल्यले काम नगर्ने, मान्यताले काम नगर्ने, ऐनले काम नगर्ने, सेटिङले काम गर्ने। त्यो सेटिङ सबै नेपाल राष्ट्र र नेपाली जनताको अधिकारविरूद्ध, पहिचानविरूद्ध परिलक्षित हुने यो बिडम्बनाको हामीले सामना गर्नुपर्ने बडो विचित्रको स्थितिमा हामी अहिले छौं।’

अध्यक्ष ‘प्रचण्ड’ले वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धीहरूमाथि प्रहार हुन थालेको बताए।

उनले वर्तमान सरकार अपारदर्शी, अराजक र भ्रष्ट हुँदै गएकाले कम्युनिष्टप्रति जनताको भरोसा टुट्ने खतरा पैदा भएको बताए।

उनले भने, ‘कम्युनिष्ट आन्दोलन र वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धीमाथि प्रहार हुन थालेको बेला छ यो। जातीय, भाषिक, वर्गीय, उन्मुक्तितिर अगाडि बढेको, लामो संघर्षबाट प्राप्त उपलब्धीमाथि प्रहार हुन लागेको अवस्था छ। राज्य सबभन्दा बढी सुशासन र पारदर्शिताको प्रतीक हुनुपर्ने हो। सबभन्दा अपारदर्शी, अराजक र भ्रष्ट हुँदै गएको बेला छ यो। कम्युनिष्टहरूको एकता र उनीहरूप्रति जनताको जो भरोसा थियो। त्यो टुट्ने खतरा पैदा भएको बेला छ। कम्युनिष्ट आन्दोलन भित्रैबाट सबभन्दा वैचारिक ढङ्गले विचलन, विसङ्गति र विकृति माथिल्लो तहमा नै देखिनु, उनीहरूको नेतृत्वमा रहेको सरकार सबभन्दा अपारदर्शी र भ्रष्ट भएका खबरहरू यत्रतत्र देखिनु आफैंमा ठूलो विडम्बना भएको छ।’

अध्यक्ष प्रचण्डले सडक विस्तारको नाममा सडक नजिकै भएका घरहरू भत्काएर जनतालाई सुकुम्बासी बनाउने अधिकार सरकारसँग नभएको बताए।

नेपालका नेवार समुदायलाई राज्यले जे गरे पनि हुन्छ भन्ने ठानेर ऐतिहासिक, सांस्कृतिक वैभव र संरचनाहरूलाई विकासको नाममा मिचिदिने प्रवृत्ति बढेको पनि बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!