हिपमत डटकम
काठमाडौँ,२० माघ: चीनबाट फर्कन लागेका नेपालीहरुको समाचारले प्राथमिकता पाएका छन् । त्यस्तै, नेकपाको केन्द्रीय समिति बैठक, ललिता निवास जग्गा प्रकरणलगायत विषयमा समाचार प्रकाशित छन् । कोरोना भाइरसको संक्रमणलेग्रस्त चीनको हुवेइ प्रान्तको वुहान र त्यसआसपासका नेपालीलाई नेपाल सरकारले स्वदेश फर्काउने तयारी सुरु गरेपछि त्यहाँ रहेका नेपाली विद्यार्थीले नेपालमा आफूहरुलाई आइसोलेसन (अन्य मानिसको सम्पर्कमा जानु नपर्ने बन्दोवस्त) मा राख्ने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएको नागरिक दैनिकमा समाचार छ । चीनबाट उद्धार गरी नेपाल फर्किएपछि आफूमध्येबाट स्वदेशी नेपालीमा संक्रमण फैलन नदिन आइसोलेनसमा राख्ने व्यवस्था गर्न उनीहरुले सरकारसँग माग गरेका हुन् । नेपाल सरकारले त्यहाँ रहेका नेपाली फर्काउन फारम भराउने काम सुरु गरी आइतबारभित्र भरिसक्न जानकारी गराइसकेको छ । नेपाल फर्किएपछि आफूहरु परिवार वा अन्य नेपालीसँग सम्पर्कमा जाँदा संक्रमण फैलनसक्ने भएकाले आइसोलेसनको बन्दोवस्त हुनुपर्ने उनीहरुको माग हो । फर्काइएका सबै नेपालीलाई एकै ठाउँमा राख्न नहुने भनाइ पनि उनीहरुको छ । चीनबाट फर्काइएका मध्ये कोही संक्रमित भएमा उसबाट पनि नेपाल फर्काइएका अरु संक्रमित हुनसक्छन् । तत्काल परीक्षणको क्रममा लक्षण नदेखिए पनि पछि संक्रमित भएको देखिनसक्ने भएकाले यसप्रति विशेष सर्तकता अपनाउनुपर्ने उनीहरुको भनाइ हो । भाइरस संक्रमित नदेखिएको अवस्थामै पनि भाइरस पसिसकेका व्यत्तिःबाट अरुलाई संक्रमण हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने उनीहरु बताउँछन् ।

सरकारले चीनको हुबेई प्रान्तका ६ सहरमा रहेका नेपालीलाई स्वदेश ल्याइएपछि अलग्गै (क्वरेन्टाइन) राख्न सुरक्षित स्थानको खोजी थालेको नयाँ पत्रिका दैनिकमा समाचार छ । स्वदेश फर्काइएका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ खोजिरहेका छन् । सेनालाई ५० बेडसम्मको आइसोलेसन वार्ड बनाउन जिम्मा दिने सरकारको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा। दीपेन्द्ररमण सिंहको नेतृत्वमा आइतबार सबै सुरक्षा निकायका चिकित्सकहरूको टोलीले वैकल्पिक स्थानको अवलोकन गरेको थियो । सुरक्षा निकायका तालिम केन्द्र तथा अस्पतालमा एक सय ८० जना राख्ने क्षमता नभएपछि बेग्लै थप आइसोलेसन वार्ड बनाउने जिम्मा सेनालाई दिन लागिएको हो । स्वास्थ्य मन्त्रालयको समन्वयमा भएको बैठकमा सेनालाई यसको विस्तृत योजना सोमबार पेस गर्न भनिएको छ । ‘सैनिक स्वास्थ्य महानिर्देशनालयले सोमबारको बैठकमा ५० बेडसम्मको आइसोलेसन वार्ड बनाउने विस्तृत योजना पेस गर्दै छ,’ सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले नयाँ पत्रिकासँग भने, ‘अहिले हामीसँग उपलब्ध स्थान पर्याप्त छैनन् भन्ने जानकारी सम्बद्ध निकायमा गराइसकेका छौँ । सोमबार सम्भवतः यसबारे निष्कर्षमा पुगिएला ।’ आइतबार प्रधानसेनापति पूर्णचन्द्र थापा, सैनिक स्वास्थ्य महानिर्देशनालयका प्रमुख उपरथी डा। सुनीलकुमार सिंह, मुख्यसचिव लोकदर्शन रेग्मीसहित सरोकारवालाबीच यसबारे छलफल भएको थियो । डा। सिंहले सोमबार नयाँ आइसोलेसन वार्ड बनाउने विषयमा विस्तृत प्रस्तुतीकरण गरेपछि मन्त्रिपरिषद्बाट निर्णय गराउने सरकारी तयारी छ । सैनिक प्रवक्ता पाण्डेले भने, ‘सरकारले निर्णय गरेर जिम्मेवारी दिएपछि हामी यथाशीघ्र आइसोलेसन वार्ड निर्माण गर्नेछौँ ।’ सेनाले आइसोलेसन वार्ड बनाउन आवश्यक मेडिकल सामग्री, बजेट र समयका विषयमा विस्तृत प्रस्ताव पेस गर्नेछ ।

उच्च अदालत पाटनले बालुवटारस्थित ललिता निवासको जग्गाबारे सरकारले गरेका निर्णय र सम्बन्धित कागजात झिकाउन आदेश गरेको कान्तिपुर दैनिकमा समाचार छ । जिल्ला अदालतको फैसलाविरुद्ध परेको पुनरावेदनमा सुनुवाइ गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश गुणराज ढुङ्गेलको इजलासले उच्च अदालत बार एसोसिएसनबाट एमिकम क्युरी (अदालतका सहयोगी) पनि मागिएको छ । सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा पञ्चायतकालमा जफत भएको भन्ने अर्थ लगाई सुवर्णशमशेरका सन्तानले २०४९ मा फिर्ता लगेका थिए । भूमाफियाको चलखेलमा २०६२, २०६७ र २०६९ सालमा गरी चारपटक ललिता निवासको जग्गा अतिक्रमण भई व्यक्तिका नाममा दर्ता भएको थियो । त्यही दर्ता वदर हुनुपर्ने भनी अधिवक्ता दीपकराज जोशीले दायर गरेको मुद्दामा जिल्ला अदालतले ‘दाबी नपुग्ने’ ठहर गरेको थियो । उच्च अदालतले २०४६ सालको जनआन्दोलनपछि गठन भएको अन्तरिम मन्त्रिपरिषद्का निर्णयहरु झिकाएको छ । प्रधानमन्त्री निवास विस्तारका नाममा २०६६ चैत २९ र २०६७ वैशाख ३१ गतेको मन्त्रिपरिषद्ले गरेको निर्णयसमेत झिकाउने आदेश पनि अदालतको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!