अमेरिकाको कोलोराडो राज्यमा रहेको बोल्डरस्थित एक सुपरमार्केटमा गोलीकाण्ड हुँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
बोल्डरका प्रहरी प्रमुख मारिस हेरोल्डले पत्रकार सम्मेलनमा मृत्युसंख्याको घोषणा गर्दा आँसु रोक्न सकेनन् ।
मारिएका अधिकारी ५१ वर्षीय एरिक ट्याली थिए । उनी बोल्डर प्रहरीमा सन् २०१० देखि कार्यरत छन् ।
पीडितहरूको परिवारलाई अझै पनि सूचना दिइँदै गरेकाले नाम सार्वजनिक नगरेको जिल्ला न्यायाधिवक्ता माइकल दोअर्टीले बताए ।
एकजना व्यक्तिलाई हिरासतमा लिइएको छ । कुन उद्देश्यले उसले हत्या गरेको हो भन्ने खुलाइएको छैन । हिरासतमा लिइएको व्यक्ति घटनामा घाइते भएको बोल्डर प्रहरी विभागका कमान्डर केरी यामागुचीले बताए ।
कोलोराडोका कायमुकायम न्यायाधिवक्ता म्याथ्यु किर्श्चले अनुसन्धानमा पूरा बल लगाउने बताए ।