
पथरी । प्रहरीले बोलाएर हाजिर हुन प्रहरी कार्यालय पुगेका एक व्यक्तिले प्रहरी कार्यालय परिसर भित्रै विष सेवन गरेको घटना सार्वजनिक भएको छ ।

आफु विरुद्ध उजुरी परेपछि हाजिर हुन गत मंसिर ४ गते ईलाका प्रहरी कार्यालय पथरी पुगेका पथरी शनिश्चरे ६ का ३० वर्षीय कृष्ण मण्डलले प्रहरी कार्यालय परिसर भित्रै विष सेवन गरेको घटना सार्वजनिक भएको हो ।
विष सेवन पछि प्रहरीले उनलाई सुटुक्कै उपचारका लागि पथरी नगर अस्पताल पुर्याएको थियो । नगर अस्पतालले स्थिति जटिल देखेपछि सोहिदिन कोशि अञ्चल अस्पताल रेफर गरेको थियो । कोसी अस्पतालले पुनः नोबेल अस्पताल रेफर गरेपछि मण्डलको उपचार त्यहीँ भएको थियो । विपन्न अवस्थाका मण्डल परिवारको उपचारका क्रममा अहिलेसम्म करिब ७ लाख खर्च भईसकेको छ । २२ दिन नोबेल अस्पतालमा उपचार गराएर मण्डललाई अहिले घर ल्याईएको छ भने उनको स्वास्थ अझैपनि पुर्ण रूपमा ठिक भईसकेको छैन ।

पथरी शनिश्चरे – ६ , पिप्ले स्थित कृष्ण मण्डलको घर
मण्डलकि आमा उर्मिला मण्डल भन्छिन “छोरालाई अझै निको भएको छैन , नोबेल अस्पतालमा औषधिको पैसा तिर्न बाँकि छ , भएका जाय जेथा सबै बेचिसके अब कसरी उपचार गर्ने ?” उनले छोराको उपचार गर्न विभिन्न व्यक्ति र आफन्तबाट ६ लाख बढि ऋण लिईसकेको बताईन ।
परस्त्रीसंग लसपस गरेको आरोपमा उनिविरुद्द ईलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेको थियो । उजुरी परेको बखत मण्डल नेपाल बाहिर रहेपनि प्रहरीले छोरा झिकाउन दवाब दिएपछि आफैले छोरालाई सम्पर्क गरि प्रहरी कार्यालय जान सुझाव दिएको आमा उर्मिला मण्डलले बताईन । मंसिर ४ गते बिहान प्रहरी सम्पर्कमा पुगेका मण्डलले त्यहीँ विष सेवन गरेको उर्मिलाले बताईन ।

कृष्ण मण्डल
प्रहरी कार्यालय पुगेका मण्डलले प्रहरी कै अगाडी कसरी विष सेवन गरे भन्ने कुराको अहिलेसम्म रहस्य खुल्न सकेको छैन । प्रहरीले पनि यस घटनालाई अहिलेसम्म ढाकछोप गरेर राखेको छ । प्रहरी सम्पर्कमा पुगेका मण्डलले कहाँबाट , कसरी विष प्राप्त गरे भन्ने विषयमा अनुसन्धान नै नहुनु शंकास्पद रूपमा हेरिएको छ ।