हिपमत डटकम

सोमबार, चैत्र ०९, २०७७ || 706  पटक पढिएको

बेइजिङ । फिलिपिन्सले दक्षिण चीन सागरमा आफ्नो जल क्षेत्र अतिक्रमणको आरोप लगाउँदै चीनलाई उसका २०० भन्दा बढी जहाजलाई हटाउन आग्रह गरेको छ ।

फिलिपिन्सका रक्षामन्त्री डेल्फिल लोरेन्जानाका अनुसार चिनियाँ जहाजले फिलिपिन्सको समुद्री अधिकारलाई उल्लंघन गर्दै आएका छन् । उसले ती जहाजहरु माछा मार्नका लागि केन्द्रित नरहेको र तिनमा चिनियाँ समुद्री लडाकु रहेको दावी गरेको छ ।

पाँच वर्षअघि अन्तर्राष्ट्रिय अदालतले सो समुद्री क्षेत्रको ९० प्रतिशत पानीमा आफ्नो प्रभुत्वका लागि चीनले गरेको दावीलाई खारेज गरिदिएको थियो ।

फिलिपिन्स, ब्रुनाई, मलेशिया, ताइवान र भियतनामले दशकौंदेखि दक्षिण चीन सागरमा चिनियाँ दावीमाथि प्रश्न गर्दै आएका छन् । पछिल्ला वर्षमा सो क्षेत्रमा निकै तनाव बढेको छ ।

चीन ‘नाइन ड्यास लाइन’ भनिने सो क्षेत्रमाथि बारम्बार दावी गर्दै आएको छ । चीनले आफ्नो दावीलाई बल पुग्नेगरी त्यहाँ द्वीप निर्माण गरेको छ भने त्यहाँ गस्तीसमेत गर्दै आएको छ । चीनले त्यहाँ आपनो सैन्य उपस्थिति विस्तार गरिसकेको छ । तर उसले आफ्नो उद्देश्य शान्तिपूर्ण रहेको बताउँदै आएको छ ।

फिलिपिन्स के भन्छ ?

७ मार्चमा फिलिपिन्सका तटरक्षकले दक्षिण चीन सागरका कयौं तस्बिर जारी गरेका थिए, जसमा ह्विटसन रिफ (फिलिपिन्सले यसलाई जुलियन फिलिप रिफ भन्ने गर्दछ) मा कयौं चिनियाँ जहाजलाई देख्न सकिन्छ ।

फिलिपिन्सको ‘क्रस–गभर्मेन्ट टास्क फोर्स’ ले शनिबार ‘रिफ’ आफ्नो विशेष आर्थिक क्षेत्रभित्र पर्ने बताएको छ । फिलिपिन्सका अनुसार त्यहाँ करिब २२० चिनियाँ जहाज छन् ।

रक्षामन्त्री लोरेन्जानाले भने, ‘हामी चीनलाई अपिल गर्छौं कि उसले अतिक्रमण बन्द गरोस् र तुरुन्त आफ्नो जहाजलाई फिर्ता बोलाओस् । यो फिलिपिन्सको अधिकारको उल्लंघन हो र हाम्रो सम्प्रभु इलाकामाथिको अतिक्रमण हो ।’

यस क्षेत्रमा सैन्य उपस्थिति बढाउने चीनको काम ‘उक्साउने खालको गतिविधि’ भएको उनको आरोप छ ।

चीनले आफ्नो दावीलाई मजबुती प्रदान गर्नका लागि माछा मार्ने जहाजको प्रयोग गर्दै आएको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ ।

दुई वर्षअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले समुद्री विवादमा आफ्नो नरम रवैयाको बचाउ गर्दै आएका थिए ।

समाचार एजेन्सी एपीका अनुसार उनले भनेका थिए, ‘जब सी (चिनियाँ राष्ट्रपति) चिनियाँ जहाज माछा मार्न जान्छन् भने उनीहरुलाई कसले रोक्न सक्छ भन्दै हुनुहुन्छ, यदि मैले चिनियाँ माझीलाई लखेट्नका लागि आफ्ना नौसैनिकलाई पठाएँ भने म ग्यारेन्टीका साथ भन्छु, उनीहरुमध्ये कोही जीवित फिर्ता आउने छैनन् ।’

चिनियाँ दावीप्रति आपत्ति

पछिल्ला वर्ष चीनले दक्षिण चीन सागरमा कृत्रिम रुपमा बनाइएका टापुमा सैन्य अड्डा स्थापित गरेको छ । चीनले उक्त इलाकामा सदियौंदेखि आफ्नो अधिकार रहँदै आएको दावी गरेको छ ।

फिलिपिन्सका अतिरिक्त ब्रुनाई, मलेशिया, ताइवान र भियतनाम जस्ता देशले चीनको उक्त दावीमाथि आपत्ति जनाउँदै आएका छन् । ती देशमा उक्त स्थानका बारेमा दशकौंदेखि विवाद चल्दै आएको छ । तर पछिल्ला वर्ष यसलाई लिएर तनावमा निकै वृद्धि भएको छ । यस क्रममा समुद्रमै कयौं पटक टकरावको अवस्थासमेत सिर्जना भइसकेको छ ।

चीनले ‘नाइन–ड्यास लाइन’ नामबाट प्रख्यात सो क्षेत्रमाथि दावी गर्दै आएको छ । चीनले आफ्नो दावीलाई ठोस स्वरुप दिने क्रममा त्यहाँ टापु बनाएको छ भने समुद्रमा गस्ती गर्दै आएको छ ।

चीनले सो क्षेत्रमा ठुलो सैन्य संरचना निर्माण गरिसकेको छ । तर उसले आफ्नो उद्देश्य शान्तिपूर्ण रहेको बताउँदै आएको छ ।

सो क्षेत्रमा आवास छैन । तर यस क्षेत्रमै रहेका दुई द्वीप चेन–पारासेल्स र स्प्रेटलिसका आसपास प्राकृतिक संशाधन हुन सक्छ । यो समुद्र एउटा अहम् जलमार्ग पनि हो र यहाँ ठुलो परिमाणमा माछा पनि पाइन्छ ।

सन् २०१६ मा एक अन्तर्राष्ट्रिय अदालतले चीनविरुद्ध फैसला गरेको थियो । सो इजलासले उक्त क्षेत्रमा चीनको ऐतिहासिक रुपमा दावी देखिने कुनै प्रमाण नरहेको ठहर गरेको थियो । तर चीनले भने उक्त फैसला अस्वीकार्य रहेको बताउँदै आएको छ ।

कथा दक्षिण चीन सागरको

अन्तर्राष्ट्रिय क्षेत्र मानिने दक्षिण चीन सागरमा चीन एकतर्फी रुपमा आफ्नो हकदावी किन गरिरहेको छ भन्ने प्रश्न अहम् छ ।

इन्डोनेसिया र भियतनामको बीचमा पर्ने समुद्रको यो हिस्सा करिब ३५ लाख वर्गकिलोमिटरमा फैलिएको छ । यसमाथि चीन, फिलिपिन्स, भियतनाम, मलेशिया, ताइवान, ब्रुनाईले आफ्नो दावी गर्दै आएका छन् । प्राकृतिक सम्पदाले धनी सो समुद्री क्षेत्रमा जीवको सयौं प्रजाति पाइन्छन् ।

तीन÷चार वर्ष अघिसम्म यो क्षेत्रलाई लिएर यति धेरै तानातान थिएन । तीन वर्षअघि अचानक सो क्षेत्रमा चीनले समुद्रमा खन्ने जहाज, ठुलो मात्रामा ईंटा, बालुवा र कंक्रिट पठाएर ठुलो परिमाणमा निर्माण कार्य सुरु गरेको थियो ।

सो स्थानमा उसले सबैभन्दा पहिला एउटा बन्दरगाह बनायो, त्यसपछि विमान अवतरण र उडानका लागि एउटा विमानस्थल निर्माण ग¥यो । हेर्दाहेर्दै उसले त्यहाँ कृत्रिम द्वीप निर्माण गरेर सैन्य अखडा निर्माण गरेको थियो ।

सो क्षेत्रमा चीनले विस्तारै कयौं साना द्वीप निर्माण गरेर सैनिक अखडा निर्माण गरेको छ । अहिले सो क्षेत्रमा कयौं मुलुकले दावी गर्न थालेका छन् ।

दक्षिण चीन सागर यति महत्त्वपूर्ण किन ?

प्रशान्त महासागर र हिन्द महासागरको बीचमा रहेको निकै अहम् कारोबारी क्षेत्र पनि हो दक्षिण चीन सागर । विश्वको कुल समुद्री व्यापारको २० प्रतिशत हिस्सा यहीँबाट गुज्रने गर्दछ ।

‘क्लाइभ स्कोफिल्ड’ का अनुसार सन् २०१६ मा दक्षिण चीन सागर हुँदै ६ खर्ब डलरको समुद्री व्यापार भएको थियो । यस क्षेत्रमा प्रायः अमेरिकी युद्धक जहाजले गस्ती गर्दै आएका छन्, ताकि समुद्री व्यापारमा बाधा नपुगोस् ।

तर चीनले भने यसलाई अमेरिकाको आक्रामक रवैया भन्दै आएको छ ।

चीनले दक्षिण चीन सागर क्षेत्र हुँदै सामान ओसार पसारमा आफ्नो नियन्त्रण चाहेको छ । तर अमेरिका भने वैश्विक कारोबारका लागि यस्तो उचित नहुने बताउँदै आएको छ । उसले यसलाई चीनको ‘दादागिरी’ भन्ने गरेको छ ।

भारतको भनाइ के छ ?

पछिल्लो समय भारत–चीन विवादपछि दक्षिणी चीन सागरको विवादमा भारतको भूमिका बढ्न सक्छ ? भन्नेबारे बहस हुन थालेको छ ।

भारत दक्षिणी चीन सागरलाई एक तटस्थ क्षेत्र मान्दछ । भारतले यो क्षेत्रलाई तटस्थ नै राख्नुपर्ने र यो कुनै पनि देशको समुद्र नभएको मान्यता राख्दै आएको छ ।

जानकारहरुका अनुसार विगत केही समयदेखि चीनसँग बिग्रदो सम्बन्धका कारण भारत अमेरिकाको निकट पुगेको छ । तर यसकै कारण दक्षिणी चीन सागरमा भारतको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने होइन ।

सन् २०१५ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा भारतमा आउँदा दुवै देशले जारी गरेको संयुक्त विज्ञप्तिमा दक्षिणी चीन सागरमा स्थिरता बनाउनका लागि दुवै देश प्रतिबद्ध रहेको उल्लेख थियो ।

उक्त संयुक्त विज्ञप्तिका बारेमा चीनले चर्को विरोध जनाएको थियो । त्यसपछि भारतले सोझै चीनको नाम लिएर कहिल्यै यो मुद्दालाई उल्लेख गरेको छैन । तर चीनको नाम नलिइ भारतले ‘विस्तारवाद’ को विरोध गर्दै चीनतर्फ इशारा भने गर्दै आएको छ ।

-बिबिसी हिन्दी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!