हिपमत डटकम

बिहिबार, चैत्र ०५, २०७७ || 1127  पटक पढिएको

‘हनी ट्रयाप’मा फसाएर रकम असुली गरेको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ।महानगरीय अपराध महाशाखाको टोलीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० घर भई काठमाडौंको घट्टकुलो बस्ने ३७ वर्षीया ललिता भन्ने लालसरी शाही र कपन बस्ने ३७ वर्षीया कल्पना हमाललाई पक्राउ गरेको हो।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।काठमाडौं-३२ कोटेश्वर बस्ने एक पुरूषले उनीहरूविरूद्ध उजुरी दिएका थिए। उनले आफूलाई फसाएर ब्ल्याकमेल गरी रकम असुली गरेको भन्ने उजुरी दिएका थिए। सोही उजुरीको आधारमा प्रहरीले ती महिलालाई पक्राउ गरेको एसपी कोइरालाले बताए।

ललिताले ती पुरूषलाई सुन्धाराको एक गेष्ट हाउसमा भेट्न बोलाएकी थिइन्। ललिता र ती पुरूषबीच विगत एक वर्षदेखि संस्थागत कामको शिलशिलाले चिनजान भएको थियो। ललिताले आफ्नो सबै पैसा हराएको हुँदा समस्यामा परेको र सहयोग गर्न अनुरोध गरेकी थिइन्। सहयोग गर्न जाँदा ललिताले ती पुरूषलाई होटलमा बोलाएको ती महिलाको बयान उद्धृत गर्दै एसपी कोइरालाले बताए।

कोइरालाका अनुसार त्यसपछि कोठामा जानासाथ ललिताले ती पुरूषको नजिकै गएर हात समाउने लगायतको काम गरिन्। सोही कोठामा अर्की महिलाले भने सबै आफ्नो क्यामरामा कैद गरिन्।

त्यसपछि उनीहरूले भने जति पैसा नदिएमा घरपरिवारलाई देखाउने, प्रहरीमा उजुरी दिएर फसाउने भन्दै ‘ब्ल्याकमेल’ गरे।उनीहरूले पटकपटक गरी ३ लाख २ हजार ५ सय रुपैयाँ लिइसकेका थिए। पुन: उनीहरूले ८ लाख मागेपछि ती पुरूष प्रहरी कार्यालयमा पुगेका हुन्।

एसपी कृष्ण कोइरालाका अनुसार ललिता र कल्पनाले यसरी नै अरूलाई पनि फसाउने गरेको खुलेको छ।कतिपयबाट पैसा नपाएपछि भिडिओसमेत भाइरल गर्ने र जबरजस्ती करणीको मुद्दा समेत लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।ललिता पहिले पनि आपराधिक गतिविधिमा संलग्न रही जेल बसिसकेकी छन्।

उनले राजु धिताललाई २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा बाँके जिल्ला अदालतबाट १४ वर्ष जेल सजाय पाएकी थिइन्। सात वर्ष जेल बसेपछि उच्च अदालत, बाँकेले १ लाख धरौटीमा छाड्न आदेश दिएपछि ललिता रिहा भएकी थिइन्।

त्यसैगरी, उनीहरूले वीरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाएका थिए। भेट्न बोलाएर उनीहरूले गत असोज ६ गते जबरजस्ती करणीको मुद्दामा जाहेरी समेत दिएका थिए। तर जाहेरी झूटा ठहरिएपछि ललितालाई सुर्खेत जिल्ला अदालतले ३ वर्ष ६ महिना जेल सजायको फैसला सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!