
पथरी । आगामी कात्तिक १५ गतेदेखि सञ्चालन हुने ‘अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप–२०८२’ को खेल तालिका सार्वजनिक गरिएको छ ।

आयोजक पथरी ११ फुटबल क्लबद्वरा हरियाली सामुदायिक वनको हलमा आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा खेलतालिका सार्वजनिक गर्दै प्रतियोगिताको ट्रफि समेत अनावरण गरिएको हो । पत्रकार सम्मेलनमा प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापोले प्रतियोगिताको ट्रफि अनावरण गरेका हुन ।

कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी दीपक राई, जिल्ला फुटबल संघ मोरङका अध्यक्ष सञ्जीव बुढाथोकी, सम्पुर्ण खेलको म्यान अफ द म्याच प्रायोजक पथरी शनिश्चरे हङकङ परिवारका प्रतिनिधि राजकुमार गुरुङ, ईन्टरनेट पार्टनर फर्स्टलिंकका म्यानेजिङ डाइरेक्टर पुजन खत्री , आयोजक पथरी ११ फुटबल क्लबका सचिव केशर राई , कोषाध्यक्ष अम्बिका लिम्बू, फुटबल टिमका कोच अर्जुन बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आयोजक पथरी–११ फुटबल क्लबका प्रतिनिधिहरूले प्रतियोगिताबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए । फिफाको नियम अनुसार सञ्चालन हुने प्रतियोगितामा विजेताले ५ लाख रुपैयाँ सहित ट्रफी , मेडल र प्रमाणपत्र तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ सहित ट्रफि , मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागत पुरस्कारहरु समेत प्रदान गरिनेछ।

दर्शकका लागि टिकट दर रु १०० को सामान्य र २०० को भिआईपि तोकिएको छ भने १ हजार रुपैयाँको भिआईपी गेटपास समेत उपलब्ध गराइनेछ । भिआईपी पास प्रयोग गर्ने दर्शकले प्रतियोगिताका सबै खेल भिआईपी कक्षमा बसेर अवलोकन गर्न पाउने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता जाँते मोडस्थित पथरी रंगशालामा सञ्चालन हुनेछ । हालै करिब ५ हजार दर्शक अट्ने प्याराफिट निर्माण कार्य सम्पन्न भइसकेको आयोजक पथरी ११ फुटबल क्लबका अध्यक्ष सुमन विकले जानकारी दिए । प्रतियोगिताका सम्पूर्ण खेलहरू गोलनेपाल डटकम मार्फत प्रत्यक्ष प्रशारण गरिने समेत विकले जानकारी दिए ।

गोल्डकपको मुख्य प्रायोजक ईन्ट्रा फाउन्डेसन रहेको छ भने मुख्य सहयोगी पथरी शनिश्चरे नगरपालिका रहेको छ । साथै, सांग्रिला युथ फुटबल क्लब, केआईईसी इटहरी, डिलाइट पेन्ट्स, प्याब्सन , पथरी शनिश्चरे परिवार हङकङ प्रायोजकका रूपमा रहेका छन् । अस्पताल पार्टनर अरनिको अस्पताल उर्लाबारी र टिकटिङ पार्टनर ब्ल्याक बिन्स क्याफे रहेका छन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख मोहनप्रसाद तुम्बापोले कठिन परिस्थितिमा पनि नगरको गौरवका रूपमा रहेको यस्तो ठूलो प्रतियोगिता आयोजना गर्न कम्मर कस्ने आयोजकको हिम्मतको प्रशंसा गरे। उनले यस्ता खेलकुद प्रतियोगिताले नगरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढाउने विश्वास समेत व्यक्त गरे ।
त्यस्तै, नगर खेलकुद विकास समितिका संयोजक दीपक राई , जिल्ला फुटबल संघ मोरङका अध्यक्ष सञ्जीव बुढाथोकी लगायतले प्रतियोगिता सफलताको शुभकामना दिएका थिए।
जाँते मोडस्थित पथरी रंगशालामा सञ्चालन हुने प्रतियोगितामा यसपटक काठमाडौंका तीन ‘ए’ डिभिजन क्लब संकटा क्लब, एनआरटी र बृगेड ब्वाइज सहित सिरहाको सलहेश युवा क्लब , पाँचथर क्लब , झापा ११ सहभागी हुने छन्। त्यस्तै भारतको सिलगुडी कञ्चनजंघा फुटबल क्लबले समेत यसपटक प्रतियोगितामा सहभागीता जनाएको छ ।
कात्तिक १५ गते हुने उद्घाटन खेलमा सलहेश युवा क्लब र सिलिगुडी कञ्चनजंघा फुटबल क्लब भिड्नेछन् । यस्तै १६ गतेको दोस्रो खेलमा आयोजक ईन्ट्रा पथरी ११ र बृगेड ब्वाईज प्रतिस्पर्धा गर्नेछन् ।
