हिपमत डटकम

बिहिबार, चैत्र ०५, २०७७ || 926  पटक पढिएको

सत्ता समीकरणको केन्द्रमा रहेको जसपा नेपालभित्र कलह बढ्न थालेको छ । सत्ता गठबन्धनमा कोसँग सहकार्य गर्ने भन्नेबारे जसपा नेपालभित्र विवाद बढेको हो । बिहीबारका लागि निर्धारित जसपाको कार्यकारिणी समिति बैठक ‘तयारी नपुगेको’ भन्दै स्थगित भएको छ । सो बैठकले संसदीय दलको नेताबारे एउटा निष्कर्ष निकाल्ने, सत्तामा कुन पक्षसँग गठबन्धन गर्ने भन्नेबारे निर्णय गर्ने र समायोजनका काम टुंग्याउने अपेक्षा गरिएको थियो ।

अन्तिम समयमा आएर बैठक स्थगित हुनुलाई पार्टीभित्र बढेको शक्ति संघर्षकै परिणामका रुपमा हेरिएको छ ।

सो पार्टीभित्र सत्ता गठबन्धनका बारेमा दुईथरी विचार सार्वजनिक हुँदै आएको छ । महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनुपर्ने निष्कर्षमा पुगेका छन् । ओली अहिले पनि सत्तामा रहेको र आफ्ना मागहरु तत्काल पूरा गर्ने स्थानमा उनी रहेका कारण उनलाई नै समर्थन गरेर सत्ता साझेदारी गर्नुपर्ने उनीहरुको भनाइ छ ।

तर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई लगायतका नेताहरु भने ओलीलाई अझै ‘प्रतिगामी’ भनिरहेका छन् । उनीहरु ‘प्रतिगामी शक्ति’सँग सहकार्य गर्न नहुने भन्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र सँग मिलेर अघि बढ्नुपर्ने पक्षमा छन् ।

सत्ता समीकरणको निर्णायक शक्तिका रुपमा स्थापित भएसँगै जसपाभित्र देखिएको अन्योल र अनेक आशंकाका बीच चार दिन अघि संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाबारे उठेका तमाम प्रश्नको संक्षिप्त जवाफ दिएका छन् । उनले जसपा नेपालले अरुको पुच्छर बन्नेमात्र होइन, देशको नेतृत्व आफैले गर्न सक्ने पनि प्रस्ट पारे ।

डा. भट्टराईले ट्वीट गर्दै ‘जसपाबारे जान्नैपर्ने’ तीनवटा विषयलाई उल्लेख गरेका छन् । उनले ट्वीटमा तीनवटा बुँदा लेखेका छन्, ‘यो तासको जोकर वा सत्तारुपी जुवाको खालको च्याँखे दाउ थाप्ने खेलाडी होइन, बरु परम्परागत राजनीतिको अग्रगामी विकल्प हो, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रविरुद्ध कसैसँग सम्झौता गर्दैन, यो कसैको पुच्छर होइन, आफै देशको नेतृत्व गर्ने शक्ति हो ।’

डा. भट्टराईका यी धारणालाई आधार मान्ने हो भने जसपा नेपालले ओली नेतृत्वको सरकारलाई कुनै पनि हालतमा स्वीकार गर्ने अवस्था देखिँदैन । तर, जसपाकै अर्को धार भने ओलीसँग गठबन्धन गर्दा आफूहरुको माग तत्काल पूरा हुने तर अर्को गठबन्धनमा सामेल हुँदा माग पूरा गर्न समय लाग्ने भएका कारण पनि अब ‘उधारो’ सहमतितिर नभई ‘नगद’ मै अघि बढेर राजनीतिक लाभ लिनुपर्ने पक्षमा छ ।

पार्टीभित्र सत्ता गठबन्धनबारे प्रस्ट धारणा बन्न नसकेका कारण पनि सो पार्टीले संसदीय दल समायोजन र संसदीय दलको नेता चयन गर्न सकिरहेको छैन । संसदीय दलको नेता, सत्ता गठबन्धनबारे फरक धारणा चुलिँदै गएका कारण बिहीबारका लागि निर्धारित कार्यकारिणी समितिको बैठक स्थगित गरी शीर्ष नेताहरु अनौपचारिक छलफलमा जुटेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!