हिपमत डटकम

शनिबार, फाल्गुण २२, २०७७ || 468  पटक पढिएको

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट सांसदहरुले नै सरकारमा जानुपर्ने बताएका छन् । तर असंवैधानिक रुपमा संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन नसकिने प्रष्ट मत राखेका छन् ।

पर्ख र हेरेको अवस्थामा रहेका सभापति देउवाले ल्होत्से हल, नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा फागुन २३ गते सुरु हुने संसदमा कसरी प्रस्तुत हुने भनेर राय मागेका थिए । त्यसपछि २९ सांसदले धारणा राखेका छन् ।

देउवा निकट मानिएका सांसदहरु भरतकुमार शाह, देवेन्द्रराज कँडेल, डिला संग्रौलालगायतले सरकारमा जानुपर्ने मत राखेका छन् । प्रतिपक्षमा बस्नुपर्छ भन्ने पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको तर्कतर्फ संकेत गर्दै उनीहरुले अहिले सरकारमा नजाने हो भने पार्टीको एकल बहुमत आउँदा बाहेक कुनै पनि सरकारमा नजाने निर्णय गर्न सक्नुपर्ने बताएका छन् ।

आम चुनाव आउन अझै २ वर्ष बाँकी रहेको र यो अवधिमा राम्रो काम गर्न सकिने भन्दै उनीहरुले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्ने धारणा राखेका छन् ।

कतिपयले त कांग्रेसले नै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने धारणाा राखेका छन् । उनीहरुमध्ये एक नवलपरासीका सांसद कँडेलले भन्छन्, ‘कांग्रेसले नै अविश्वास प्रस्ताव लैजानुपर्छ र आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्छ । नेकपाको कुनै पक्षको नेतालाई प्रधानमन्त्री मान्नुहुन्न ।’

सांसद शाहले पनि शुक्रबारको बैठकमा बोल्नेमध्ये अधिकांशको मत ओलीलाई हटाउनैपर्छ भन्ने रहेको बताए । उनले अघि भने, ‘नेकपा एकै रहेर उनीहरुकै सरकार बनाउँछन् भने ठीकै छ । होइन, फुट्छ भने ओलीलाई हटाएर उसैसँग जान हुन्न ।’

संसदीय दलको बैठकमा सांसद गगनकुमार थापाले भने संसदीय दलको बैठकबाट प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने बताए । अहिलेको मुख्य मुद्धा सरकार बदल्नु भएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीको राजीनामा माग्नुपर्छ, राजीनामा नदिए हटाउन अग्रसरता लिन्छ भनेर जाऊँ र अग्रसरता लिन नेताहरुलाई छाडौं ।’

यद्यपि आफ्नो व्यक्तिगत राय भने राजनीतिक निकास दिने तर, सरकारमा नजाने भएको थापाले सुनाए ।

थापाले प्रधानमन्त्रीको राजीनामा माग्नुपर्छ भनिरहँदा सभापति देउवाले भने ‘राजीनामा त प्रचण्डहरुले मागिरहेका छन्, हामी पनि तिनका पछाडि लाग्ने ?’ भनेका थिए ।

हतार नगरौं : देउवा

एक सांसदका अनुसार सबैको धारणा सुनेका सभापति एवं संसदीय दलका नेता देउवाले अन्तिममा बोलेका थिए । उनले धेरै विषय प्रष्ट नभइसकेको भन्दै (सरकार गठनका लागि) हतार गर्न नहुने बताए । नेकपा कानूनी रुपमा फुटिनसकेको भन्दै उनले भने, ‘अविश्वासको प्रस्ताव लैजाउँला, उनीहरु मिले भने के गर्ने ?’

सर्वोच्च अदालतमा विचाराधीन नेकपाको नाम विवादमा ऋषि कट्टेलको मुद्दामा छिट्टै फैसला आउने सुनेको भन्दै देउवाले भने, ‘त्यसपछि सिनारियो फरक हुनसक्छ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक बालकृष्ण खाँडले उचित समयमा उचित निर्णय लिने बताए । उनले भने, ‘संसदमा नेकपाका साथीहरुले कसरी आफूलाई प्रस्तुत हुनुहुन्छ, सबैको समीक्षा, विश्लेषण गरेर कांग्रेसले उचित समयमा उचित निर्णय गर्छ ।’

बैठकले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानवाद र लोकतन्त्रको विजय भएको निष्कर्ष निकालेको छ ।

त्यसैगरी कोभिड-१९ को खोप सबैलाई दिलाउने गरी बन्दोबन्द मिलाउन र कोभिडको समयदेखि बन्द भएका सीमा नाकाहरु स्वास्थ्य सर्तकताको मापदण्ड अपनाएर अबिलम्ब सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!