हिपमत डटकम

मंगलबार, माघ २७, २०७७ || 757  पटक पढिएको

कार्यालयको ढोका र भर्‍याङमै म भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्न लेखेर टाँस्ने, व्यवहारमा चाहिँ मिलेसम्म र भ्याएसम्म लामो हात गर्ने ।

टंगालस्थित अख्तियारमा दर्ज भएका उजुरी खोतल्दा कर्मचारीमा घुस खोज्ने प्रवृत्ति झन् मौलाउँदो छ । आव ०७५ मा भन्दा गत आर्थिक वर्षमा घुस माग्ने कर्मचारीको संख्या दोब्बरले बढेको पाइएको छ । त्यहाँ दर्ज भएका २०५ मुद्दामा २५८ राष्ट्रसेवक डामिएका छन् । कर्मचारीले १ हजारदेखि १ करोड २८ लाखसम्म घुस मागेको उजुरीउपर अख्तियारले पछ्याउँदा २ सय ५८ राष्ट्रसेवक फन्दामा परेका हुन् ।

सबैभन्दा घुस्याहा प्रशासन सेवाका कर्मचारी र त्यसमा पनि नासु तहका धेरै भेटिए । १०४ प्रशासन सेवाका कर्मचारी डामिँदा ८८ प्राविधिकतर्फका छन् । ५५ बर्दिवाला पनि घुस्याहामा दर्ज भएका छन् । घुस लिनेमा निजामती प्रशासनतर्फ सम्भावना बोकेका २ सहसचिव, २३ उपसचिव, ७८ शाखा अधिकृत, नासु ७९, खरिदार ३१, सहायक कर्मचारी ४५, निर्वाचित प्रतिनिधि १६ छन् । प्रशासनतर्फका ३८, प्राविधिकतिरका २८, ११ सइ (नासुसरह) माग्नेमा परेका छन् । प्रशासनतर्फका १३ र प्राविधिकतर्फका १० उपसचिव यही मेलोमा मिसिए । प्रशासन सेवाका २४, प्राविधिक ४०, इन्स्पेक्टर ७ र शिक्षक ७ जना गरी ७८ जना अधिकृत तहका कर्मचारी र ६७ बिचौलिया पनि यो अवधिमा फन्दामा परेका छन् ।

सेवाग्राहीको काम गर्न १० हजारदेखि १ लाख घुस मागेको उजुरी ८६ वटा छन्, १० हजारभन्दा कम रकम दिए तपार्इंको काम गरिदिन्छु भन्दै मोलतोल गरिएको उजुरी ५१ वटा, १ लाखदेखि ५ लाख घुस मागिएको ४२ वटा, ५ लाखदेखि १० लाख मोलतोल भएका १२, १० लाखदेखि ५० लाखसम्म मागिएका ११ वटा, ५० लाखदेखि १ करोडसम्म मागिएका २ वटा,१ करोडभन्दा बढी घुस मागिएका एउटा उजुरी छन् । यसरी पछिल्लो एक वर्षमा ३ सय ४१ जना कर्मचारी घुस लेनदेनमा संलग्न रहेका हुन् ।

अघिल्लो वर्ष सम्पत्तिको स्रोत (वैधता) देखाउन नसक्दा अख्तियारले विशेष अदालतमा ५३ कर्मचारीविरुद्ध मुद्दा दर्ज गरेको छ । ती कर्मचारीले आर्जन गरेको र स्रोत देखाउन नसकेको रकमले एउटा परियोजना बन्न सक्छ । उनीहरूले एक अर्ब १० करोड आम्दानीको स्रोत देखाउन सकेका छैनन् ।

यो मामलामा सबैभन्दा खेलाडी रहेछन्, उपसचिव ऋषिराम अर्याल, टोखा नगरपालिकाको कार्यकारी अधिकृत, १७ करोड ८३ लाख ४१ हजार कुम्ल्याएका । सम्पत्तिको वैधता पुष्टि गर्न सकेनन् । नासु मदनप्रसाद गुप्ता १४ करोड ८१ लाख ८९ हजार गोलमाल पारेपछि स्रोत खोजी हुँदा देखाउन नसकी फन्दामा परे । तातोपानीका भन्सार प्रमुख (उपसचिव) कृष्णबहादुर बस्नेतले अकुत रकम ज्वाइँ, जेठानका नाममा राख्न भ्याए । उनीसँग रहेको एक करोड ५ लाख ६९ हजारको स्रोत भेटिएन, जेठान नवीनकुमार गौलीको नाममा समेत ९ करोड २१ लाख ५२ हजार लुकाइएको भेटियो । चाबहिल मालपोतका जागिरे राजेन्द्र बस्नेत ८ करोड ९८ लाख ५८ हजार रुपैयाँको स्रोत देखाउन नसक्दा हिरासतमा पुगे । ललितपुर मालपोतका बद्रीराज ढकालमाथि १० करोड २७ लाख ५८ हजार रुपैयाँ अकुत आर्जनको आरोप छ । यस्तै, अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानासँग चार करोड ६८ लाख ४८ हजार रुपैयाँ भ्रष्टाचारबाट आर्जित रकम भएको अख्तियारको दाबी छ ।

अख्तियारमा जान आनाकानी

कुनै समय कर्मचारी जान हानथाप गर्ने अड्डा हो अख्तियार । कारण थियो सतप्रतिशत भत्ता । अहिले त्यही भत्ता कटौती भएसँगै अख्तियारप्रति कर्मचारीको मोहभंग भएको छ । खटाइएका कर्मचारी नजाने, भएका कर्मचारी पनि सरुवा मिलाउने खेलोमा लागेका छन् । दुई महिनादेखि अख्तियार प्रवक्ताविहीन छ । तारानाथ अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भए १ पुसमा । त्यहाँ खटाइएको छ खगेन्द्रप्रसाद रिजाललाई तर उनी दुई महिनासम्म हाजिर भएका छैनन् । तारानाथ पर्यटनतिर गएपछि सहायक प्रवक्ताको जिम्मेवारी सम्हाल्दै गरेका गणेशबहादुर अधिकारी पनि सेटिङ मिलाएर गृहतिर हान्निए । अहिले यो दायित्व उपसचिव वेदप्रसाद भण्डारीको काँधमा आइलागेको छ । त्यहाँँका सचिव सुरेश अधिकारी पनि निर्वाचन आयोगतिर जाने अवस्थामा छन् ।
साभार -जनआस्था

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!