हिपमत डटकम

बिहिबार, माघ ०८, २०७७ || 571  पटक पढिएको

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको नाममा रहेको जग्गा अनधिकृत रुपमा नामसारी गरी आफ्नो नाममा लिने मुख्य व्यक्तिसहित १० जना आरोपित पक्राउ परेका छन् ।
जग्गाधनी रावतलाई थाहै नदिइ अर्काको नाममा जग्गा नामसारी गरेको पाइएपछि उक्त कार्यमा संलग्न व्यक्ति उपर कारबाहीको माग गर्दै रावतले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गराएका थिए । सोही मुद्दाको आधारमा उनीहरुलाई छानविनका लागि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सौगात रावतको नामबाट आफ्नो नाममा जग्गा नामसारी लिने दैलेख महाबु गाउँपालिका–३ स्थायी घर भई हाल वीरेन्द्रनगर–१ बस्दै आएका सहवीर कार्की, जग्गा नामसारी गर्दा किनाराका साक्षी बस्ने नारायण थापा र चाँदनी वली, सहवीर कार्कीको नाममा जग्गा नामसारी भइसकेपछि उनको एक कित्ता आफ्नो नाममा लिने रमेशकुमार कार्कीलाई बुधबार राति १२ बजे पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

यस्तै, मालपोत कार्यालय सुर्खेतका कम्प्युटर फाँटका लक्ष्मण राना र दिपेन्द्र श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन् भने यसअघि नै नायव सुब्बा विश्वरुप सावत र लेखापढी व्यवसायी अम्मरसिं कटुवाल पक्राउ परेका थिए ।
जग्गा नामसारीका लागि सिफारिस गर्ने वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ का कार्यवाहक वडाअध्यक्ष रामप्रसाद दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो । यद्यपि, थप

अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारीसमेत रहेका डिएसपी रामप्रसाद घर्तीले  बताए । ‘अहिले नै सबै कुरा भन्न मिल्दैन, बाँकी बुझेर जानकारी गराउँला नि !’ उनले भने ।
जग्गा धनीलाई थाहै नदिई जग्गा खरिद–विक्री भएको अवस्थामा सरकारी कागज किर्ते र ठगी मुद्दा हुन्छ । सरकारी छाप, फाईल, महत्वपूर्ण सरकारी कागजातको दुरुपयोग गरेको खण्डमा उक्त कार्यमा संलग्न वडा कार्यालय, नापी कार्यालय हुँदै मालपोत कार्यालयका कर्मचारीसम्म कारवाहीको भागिदार हुन्छन् ।

जग्गा नामसारी र कित्ताकाट गर्दा ध्यान दिनुपर्ने कुरा

–जग्गा खरिद बिक्रीको स्वीकृति नगरपालिका र वडा कार्यालयबाट भएको छ वा छैन ।
–जग्गाधनी श्रेस्ता र पुर्जामा कसको फोटो टाँसिएको छ ?
–जग्गाधनीको नागरिकताको फोटोकपी संलग्न रहेको छ या छैन ।
–रजिष्ट्रेसन डायरीमा सबै रेकर्ड दर्ता छ वा छैन ।
–तयार भएको लिखतमा मोठ र रोक्का भिडाउँदा कसरी भिडाइयो ? भिडाउने फाँटवाला कर्मचारीको नाम, पद, सहीछाप र मिति छ वा छैन ।
–मोठ रोक्का भिडाइसकेपछि नापी कार्यालयलाई आदेश दिने कर्मचारीको नाम, पद र सहीछाप छ या छैन, त्यसको लगत कार्यालयको अभिलेख रजिष्ट्रेसन फाँटमा राखिएको छ वा छैन ।
–नापी कार्यालयमा लिखत पुगेपछि श्रेस्तामा वा स्थलगत कित्ताकाट हुँदा खरिद बिक्रीकर्ता दुवैजनाको रोहवरमा सहीछाप भएको छ वा छैन ।
–कित्ताकाट गर्ने अमीन र कार्यालय प्रमुखको प्रमाणित छ वा छैन ।
–लिखत तयार गर्दाका साक्षी र पारित गर्नु पूर्वका सनाखत साक्षीहरुको नाम, थर, वतन, नागरिकता प्रमाणपत्र नम्बर, सहीछाप छ वा छैन ।
–सम्पूर्ण रुपमा लिखत तयार भई पारितको लागि योग्य भएपछि त्यसमा फाँटवाला, तहरीर पारितकर्ता कर्मचारीको प्रमाणित भएको छ वा छैन ।
–लिखत पारित भएपछि दाखिल खारेज गर्दा श्रेस्ता पुर्जा तयार गर्ने र प्रमाणित गर्ने कर्मचारीको नाम, थर दर्जा र अधिकार प्रत्यायोजनको अवस्था के कस्तो छ ।

यिनै आधारमा छानविन हुँदै
कानुन व्यवसायीहरुसमेतको सुझावका आधारमा प्रहरीले उल्लेखित बुँदाहरुलाई केन्द्रमा राखेर छानविन प्रक्रिया अघि बढाएको स्रोत बताउँछ ।
यसमा संलग्न सम्बन्धित सबै फाँट, कार्यालय र व्यक्तिहरु अनुसन्धानको दायरमा ल्याई छानविन गरी दोषी उपर कारवाही हुनुपर्ने सरोकारवालाहरु बताउँछन् ।

यस्तै, जग्गाधनी सौगात रावतले आफै उपस्थित भएर डिजिटल औंठा छाप र फोटो खिचाएको कुरा सञ्चारमाध्यामा आएपछि उक्त फोटो र डिजिटल औंठा छाप सुरुवातमा दिपक सिंह रजवारबाट जग्गा आफ्नो नाममा नामसारी गर्दा २०७६ मंसिर १ गते लिइएको पुरानो तस्वीर र औंठा छाप भएको बताए ।

मालपोत कार्यालयमा आन्दोलन
बुधबार बिहान १० बजेदेखि नै मालपोत कार्यालय तनावग्रस्त भएको थियो । मालपोत कार्यालयले छिटो–छरितो सेवा प्रवाह नगरेको र अर्काको नाममा जग्गा नामसारीको विषयलाई लियर सेवाग्राहीले दिनभर नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!