
उत्तर कोरियाका नेता किम जोङ उनले देशको आर्थिक विकास योजना चौतर्फी रुपमा धरासायी भइरहेको बताएका छन् । सत्तारुढ वकर्स पार्टीको दुर्लभ भेला (कंग्रेस)आयोजना गर्दै उनले यस्तो धारणा राखेका हु्न् ।

किमले पछिल्ला पाँच वर्ष निकै अनपेक्षित रहेको र देशका लागि खराबमध्ये अति खराब रहेको बताए । किमले पाँच वर्षपछि यस्तो भेला आयोजना गरेका हुन् । उत्तर कोरियाको इतिहासमै वकर्स पार्टीको कंग्रेस आठपटक मात्रै बसेको छ । अमेरिकामा नव निर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता सम्हाल्नुअघि किमले यस्तो भेला राखेका हुन् ।
प्योङयाङ र वासिङटनबीचको वार्ता पछिल्लो समय ठप्प छ, यसअघि उत्तरले आफूमाथि लागेको नाकाबन्दी खुकुलो गर्नुपर्ने माग राखेको थियो भने राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर पहिले आणविक मोह त्याग्नुपर्ने धारणा राखेका थिए ।
यतिबेला उत्तरले छिमेकी चीनसँगको सीमा पनि बन्द गरेको छ । कोरोना भाइरस महामारी रोकथाम गर्नका लागि गत वर्षको जनवरीदेखि नै उत्तरले आफ्नो प्रमुख सहयोगीसँगको सीमाना बन्द गरेको हो ।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएका अनुसार मंगलबार राजधानीमा भेला सुरु भएको हो । सत्तारुढ पार्टीको मुखपत्रमा प्रकाशित भएको समाचारअनुसार ७ हजारजना प्रतिनिधिहरु भेलामा सहभागी छन्, यद्यपी तस्विरमा कसैले पनि मास्क लगाएको देखिँदैन ।
पहिलो दिन आफ्नो कामको समिक्षा गर्दै किमले पछिल्लो पाँच वर्षको आर्थिक विकास रणनीतिबारे बोलेका थिए । ‘झन्डै सबै क्षेत्रमा हामीले हाम्रो लक्ष्यको थोरैमात्र गर्न सक्यौं,’ केसिएनएले समाचारमा लेखेको छ । यद्यपी, गहिरोसँग कमजोरीको विश्लेषण गर्दै आफ्ना अनुभव र गल्तीहरुबाट सिकेर अघि बढ्ने मनसाय रहेको उनले बताए । कोरोना भाइरस महामारीपछि चीनसँगको व्यापारमा ठूलो गिरावट आएकाले पनि उत्तर कोरिया निकै समस्या छ ।
यद्यपी कोरोना भाइरस महामारीलाई नियन्त्रणमा राख्न भने उत्तर सफल भएको छ । प्योङयाङले आफ्नो देशमा कोरोनाको कुनै संक्रमण नरहेको दाबी गरेपनि पर्यवेक्षकहरुले यसमा सन्देह प्रकट गरेका छन् । तर, उत्तरले कोराना नियन्त्रण गर्न सफल भएको कुरालाई भने उनीहरु स्वीकार्छन् ।