हिपमत डटकम

शुक्रबार, पौष ११, २०८२ || 581  पटक पढिएको

काठमाडौं — सरकारले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको अनुकूल वातावरण बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद हटाउने संकेत गरेको छ।

उच्चस्तरीय राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एमाले अध्यक्ष ओलीसँग भक्तपुरको गुण्डूस्थित निवासमा करिब दुई घण्टा लामो छलफल गरेपछि यस्तो संकेत दिएका हुन्। अन्तरिम सरकारले राजनीतिक दलका शीर्ष नेताहरूसँग संवादलाई तीव्र बनाउँदै शुक्रबारदेखि नेताहरूको निवासमै पुगेर भेटघाट थालेको छ।

ओलीसँगको भेटपछि सञ्चारकर्मीले ‘चुनाव गर्ने भन्दै अध्यक्ष ओलीसहितका नेतामाथि स्थान हद कायम रहँदा निर्वाचन कसरी सम्भव हुन्छ ?’ भन्ने प्रश्न गरेपछि मन्त्री खरेलले प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सरकारले सबैखाले अवरोध हटाउने स्पष्ट पारे।

सरकारका प्रवक्ता समेत रहेका खरेलले फागुन २१ गतेको निर्वाचनलाई ‘राजनीतिक महोत्सव’को संज्ञा दिँदै त्यसलाई सफल बनाउन आवश्यक सहजता कायम गरिने बताए। उनले भने, “निर्वाचन एक राजनीतिक महायज्ञ हो। त्यो गन्तव्यमा पुग्न केही चुनौती र अल्झन छन्, जसलाई समाधान गर्दै सरकारले वातावरण बनाउनेछ।”

यसअघि मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महाराजगञ्जस्थित निवासमा भेट गरी निर्वाचन केन्द्रित छलफल गरेका थिए। उक्त भेटपछि सभापति देउवाले आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेको जानकारी दिएका थिए।

सभापति देउवाले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सरकारले उचित वातावरण तयार गर्नुपर्ने सुझाव दिएको पनि मन्त्री खरेलले बताए। राष्ट्रिय सहमति कायम गर्दै तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सरकार सक्रिय रूपमा क्रियाशील रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!