हिपमत डटकम

मंगलबार, पौष २१, २०७७ || 1006  पटक पढिएको

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत प्रतिनिधिसभा निर्वाचनदेखि गृहजिल्ला चितवनलाई राजनीतिक केन्द्र बनाएर सक्रिय बनेका छन् । चितवनबाट सांसद निर्वाचित भएदेखि प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रका साना–साना कार्यक्रममा समेत सहभागिता जनाउने गरेका थिए ।

पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेकपा विभाजित भएपछि शीर्ष नेताबीच एकअर्कालाई सिध्याउने खेल सुरू भएको छ । चितवनमा प्रचण्डलाई राजनीतिक रूपमा समाप्त पार्न प्रधानमन्त्री केपी शर्मा ओली पक्षले विशेष योजना बनाएको नेताहरू बताउँछन् ।

पार्टी विभाजन हुनुअघि नै मदन भण्डारी फाउन्डेसनको नाममा ओली पक्षले वडावडासम्म सक्रिय बनेको थियो । जसले प्रचण्डलाई अप्ठ्यारो पार्ने आकलन हुँदै आएको थियो ।

पार्टी विभाजनपछि अब प्रचण्डलाई समाप्त पार्ने अभियानमा जोडिएका छन्, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ । प्रचण्डकै कारण प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएर राष्ट्रियसभा सदस्य भएका बादलले प्रचण्डलाई निर्वाचनबाटै पराजित गरेर आफू चितवनको नेताको रूपमा स्थापित हुने कोसिस गरेका नेकपा स्रोतले जनाएको छ ।

प्रचण्ड–नेपाल समूहमा लाग्दा आफू फेरि चितवनमा ओझेलमा पर्नसक्ने देखेरै बादल ओलीतिर लागेका बताउने नेताहरू समेत छन् । चितवनमा आफूलाई स्थापित गर्ने योजना कार्यान्वयन गर्न बादल सक्रिय भइसकेका छन् ।

बादलकै सक्रियतामा सोमबार चितवनमा ओली पक्षीय नेताको भेला भएको छ । जसमा मदन भण्डारी फाउन्डेसनले समेत सहयोग गरेको प्रचण्ड पक्षीय नेताहरूको आरोप छ । मदन भण्डारीको नाममा स्थापित फाउन्डेसनमा सरकारले पैसा लगानी गर्ने र त्यो पैसा प्रचण्डविरुद्ध खर्च हुने गरेको गम्भीर आरोप प्रचण्ड–नेपाल पक्षको छ ।

सोमबार बादलको सक्रियतामा भएको कार्यक्रममा नेकपा ओली पक्षका नेता शंकर पोखरेलले प्रचण्डको चर्को आलोचना गरेका छन् । ‘प्रचण्डले या त निर्वाचन बहिष्कार गर्ने, या त चितवन छाड्ने अवस्था आएको छ,’ उनले भने ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेता पोखरेलले प्रचण्डमाथि अलि कति दया लाग्ने बताए । ‘जतिपटक चुनाव हुन्छ, त्यतिपटक निर्वाचन क्षेत्र फेर्नुहुन्छ । पहिलो संविधान सभामा रोल्पाबाट चुनाव लड्नुभयो, दोस्रो संविधान सभामा रोल्पा जाने आँट भएन । सिरहा पुग्नुभयो,’ पोखरेलले भने, ‘सिराहामा के हालत भयो सबैलाई सम्झना छ । संविधान जारी भएपछि चुनाव लड्नुपर्‍यो, सिराहा जाने आँट भएन, चितवन आइपुग्नुभयो । चितवनमा चुनाव जित्न कमरेड केपी ओलीको साथ चाहियो ।’

कुनै पनि ठाउँका जनतालाई दीर्घकालसम्म भरोसा नगर्ने प्रचण्डको चरित्र रहेको उनले आरोप लगाए । ‘अब हुने चुनावमा या त उहाँले बहिस्कार गर्नुहुन्छ या चुनावमा भाग लिनुपर्न हो भने चितवन रोज्नुहुन्न, अरु कुनै ठाउँमा जानुहुन्छ,’ मुख्यमन्त्री पोखरेलले भने ।

पार्टी एकता जोगाउन आफू धेरै पटक बुटवल–काठमाडौं दौडिएको र नेताहरूको ढोकाढोकामा पुगेर ३ विकल्प दिएको उनले बताए । ‘भदौ २६ मा फर्कौं भन्दा उहाँ (प्रचण्ड) मान्नुभएन । महाधिवेशनमा जान पनि तयार हुनुभएन, सदस्यताको विवाद हल गर्न सक्नुभएन, प्रधानमन्त्री नै चाहियो भन्नुभयो । बामेदवलाई बलियो क्षेत्र खाली गराएर उठाउने र चुनावी प्रधानमन्त्री बनाउने भन्दा हाँस्यास्पद भन्नुभयो, सहमतिको कुनै विकल्प बाँकी रहेन ।’

मुख्यमन्त्री पोखरेलले प्रचण्ड–माधव पक्षले गल्ती नस्वीकारे सडकमै बास हुने चेतावनी दिएका छन् । ‘उहाँहरू अहिले सडकमा हुनुहुन्छ, नेकपा निर्माण गर्ने कार्यकर्ता यहाँ छन्,’ नेता पोखरेलले भने, ‘अब (प्रचण्ड–माधव पक्ष) ले गल्ती नस्वीकार्ने हो भने बस्ने सडकमा नै हो, संसद र सरकारमा होइन ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!