
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले जिल्लास्तरीय विरोध सभा तथा जनसभा सुरु गरेको छ। पार्टीले अघि सारेका २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दाहरूलाई केन्द्रमा राख्दै पुस ४ गतेसम्म देशभर जिल्लास्तरीय कार्यक्रम आयोजना गर्न लागेको हो।

जसपा नेपालको प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आजदेखि सुरु हुने कार्यक्रमअन्तर्गत सबै जिल्ला समितिहरूलाई विरोध सभा तथा जनसभा आयोजना गरी पार्टीका माग र मुद्दा जनतासमक्ष पुर्याउन सर्कुलर जारी गरिएको छ।
यसअघि सार्वजनिक गरिएको संघर्षका कार्यक्रमअनुसार जिल्लास्तरीय कार्यक्रमपछि पार्टीले पुस १२ गतेदेखि प्रत्येक प्रदेशमा प्रदेशस्तरीय जनप्रदर्शन तथा विरोध सभा आयोजना गर्ने निर्णय गरेको छ।
जसपा नेपालले संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, तथा समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित हुने संसद्को व्यवस्था लगायतका माग अघि सार्दै मंसिर १० गतेदेखि विभिन्न चरणका संघर्षका कार्यक्रम सञ्चालन गर्दै आएको छ।