अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले एक शीर्ष चुनाव अधिकारीलाई बर्खास्त गरेका छन् । ती चुनाव अधिकारीले मतदानमा धोका भएको राष्ट्रपतिको दाबीमाथि प्रश्न उठाएका थिए ।
राष्ट्रपति ट्रम्पले आफूले साइबर सिक्योरिटी एण्ड इन्फ्रास्ट्रक्चर सिक्योरिटी एजेन्सी (सीसा) का प्रमुख क्रिस क्रेब्सलाई मतदानबारे असाध्यै धेरै गलत टिप्पणी गरेका कारण बर्खास्त गरेको जानकारी दिएका छन् ।
३ नोभेम्बरमा भएको चुनावमा ट्रम्पले अहिलेसम्म आफ्नो हार स्विकारेका छैनन् र कुनै प्रमाण बिना नै मतदानमा ठूलो धोका भएको दाबी गरिरहेका छन् ।
तर चुनाव अधिकारीले भने यो चुनावलाई अमेरिकाको इतिहासको सबैभन्दा सुरक्षित चुनाव बताइरहेका छन् ।
स्रोतका अनुसार अधिकारी क्रिस क्रेब्सले ह्वाइट हाउसलाई आफ्नो संस्थाको एउटा वेबसाइटका कारण रुष्ट बनाइदिएको थियो जसले चुनावसँग जोडिएका यस्ता गलत सूचनालाई खारेज गरिदिएको थियो । ती धेरैजसो सूचनामा राष्ट्रपति स्वयंको आपत्ति थियो ।
संस्थाका सहायक निर्देशक ब्रायन वेयले पनि गत हप्ता आफ्नो पदबाट राजिनामा दिएका थिए । ह्वाइट हाउसले उनलाई पनि राजिनामा दिन भनेको थियो ।
तर बर्खास्तीमा परेपनि क्रिस क्रेब्सलाई आफ्नो विचार राखेकोमा कुनै अपसोस नभएको जस्तो देखिन्छ ।
सबैभन्दा सुरक्षित चुनावः
उनले मंगलबार मात्रै एउटा ट्वीट गरेर ट्रम्पको ती आरोपमाथि पुनः निशाना साँधेका छन् जसमा उनले केही राज्यमा भोटिङ मेसिनमार्फन् उनका प्रतिद्वन्द्वी जो बाइडेनको पक्षमा भोट हालिएको बताएका थिए ।
क्रिस क्रेबले ट्वीट गरे, ‘चुनाव प्रक्रियालाई तोडमोड गरेको आरोपबारे ५९ चुनाव सुरक्षा विशेषज्ञको एउटै धारणा छ । हाम्रो जानकारीमा भएका यस्ता हरेक मामिलालाई केलाउँदा यो भन्न सकिन्छ कि या त यी दाबी निराधार छन् वा प्राविधिक रुपमा यसको अर्थ बुझिएको छैन ।’
क्रिस अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्योरिटीका ती वरिष्ठ अधिकारीमा समावेश थिए जसले गत हप्ता अमेरिकाको चुनावलाई अमेरिकी इतिहासको सबैभन्दा सुरक्षित चुनाव बताएका थिए । – बीबीसी