“हिरण्यवर्णा हरिणीं सुवर्णरजतस्त्रजाम् । चन्द्रां हिरण्य्मयीं जातवेदो म आवह ।”
वर्तमान आर्थिक युगमा सफलताको मूल हिरण्य (स्वर्ण, सुनको धातु) अर्थात धनधान्यले सम्पन्न शक्तिशाली नै रहेको मान्यता सर्वविदित छ । प्रस्तुत श्लोकमा देवी लक्ष्मीलाई सबैको मन आफुतिर आकर्षित गर्ने हरिणीं भनिएको छ । मान्यता अनुसार जगतका पालनहार भगवान बिष्णुको हृदय स्थलमा निवास गर्ने धनकी देवी लक्ष्मी नै हुन् । दीपावलीमा धनकी देवी लक्षमीको पुजन प्रथम पुज्य विघ्नहर्ता भगवान गणेश, विद्याकी देवी सरस्वती र भण्डारका देवता कुवेरजीका साथ धुमधामले गरिन्छ ।

तिहार हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको सबै भन्दा ठूलो पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । हिन्दु धर्मावलम्बीले दीपावली (दिवाली) को रूपमा यस पर्वलाई धूमधाम साथ मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्द ’त्योहार’ को विकृत रुप बाट तिहार बनेको अनुमान लगाइन्छ । नेपालमा दोस्रो सर्वाधिक बोलिने भाषा मैथिलीमा लक्ष्मी पुजालाई दियावाती, दीपावली, दिवाली, सुख रात्री तथा सुकराति पनि भनिन्छ । सुकराती, सुख रात्री बाट अपभ्रंश भै बनेको शब्द हो । यही दिन भगवान् धनवन्तरीको जन्म भएको हुनाले यसलाई धनवन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्ने प्रचलन रहेको छ । दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन्, त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने जन विश्वास रहेको छ ।

पहिले दशैं अनि कोजगरा र त्यसको पन्ध्र दिनपछि आउने तिहार, दुवै पर्वमा देवी दुर्गाका विभिन्न रुपहरूको विशेष पूजा–आराधना गरिन्छ । सांस्कृतिक रुपमा हेर्ने हो भने यसै बेला कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी संपत्ति घरमा ल्याउने भएकोले सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा पनि गरिएको अनुमान गर्न सकिन्छ । यसबेला कृषकहरुमा खुशी र उमंगको सीमा हुँदैन, उनीहरु भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पनि देवी लक्ष्मीको विशेष पूजा गर्दछन् । दीपावली दक्षिण एसियाका अधिकांश देशहरु विशेष गरी नेपाल, भारत, भुटान र म्यानमारमा विभिन्न प्रकारले मनाइन्छ । बिस्तारै अमेरिका र युरोपका विभिन्न शहरहरुमा समेत दिपावली (लक्ष्मी पुजा) लाई प्रकाश पर्वको रूपमा मनाउने प्रचलन बढि रहेको छ ।

दीपावलीमा गरिने पुजा “गोसाउनी घर” यनि देउता कोठामा सम्पादित गरिन्छ । यो पुजाको समयमा प्रधान द्वारको अगाडि काठको सानो चौकी (खाट) माथी अष्टदल अरिपन लेखिन्छ । जो शिव र शक्ति दुबैकोलागि व्यबहारमा ल्याइन्छ । अरिपन लेखिसकेर चौकिको चारैतिर मालाको आकारमा दियो (दीपमाला) बालिन्छ । दिपमालाको बिचमा लक्ष्मीको प्रतीक धान ले भरेको ‘तामा’ (अन्न नापने भाडा जो धातु वा काठले बनेको हुन्छ) मा सुन, चाँदिको द्रव्य, सिक्क राखेर पुजा गरिन्छ । यस भित्रको भाव धनकी देवी लक्ष्मी हाम्रो घर धन–धान्यले परिपुर्ण गरून् जसले हाम्रो जीवन सुखमय ब्यतित होस् भन्ने रहेको हुन्छ । यो पुजाको समयमा अनिवार्य रुपले नरिवल प्रसादको रुपमा चढाइन्छ । लक्ष्मी पुजाको अबसरमा महिलाहरु गोबर माटोले आँगन लिपी अरिपन लेख्छन्, जसलाई सुख रात्री अरिपन भनिन्छ । शहरी परिवेशमा गोबर माटोको आभाव तथा घर आँगन समेत पक्का भएकोले घरको मूलद्वारमा विभिन्न आकर्षक रंगोली बनाउने प्रचलन बढ्दो छ । तर, ग्रामीण महिलाहरुद्वारा गोबर माटोले आँगन लिपि सिन्दुर, पिठारले अरिपन बनाई देवी लक्ष्मीलाई स्वागत गरिन्छ । यो रात सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वीको भ्रमण गरी घर–घरमा घुम्न आउने र ‘पुजा–आराधना तथा अरिपनबाट’ प्रसन्न भएर आशीर्वाद दिई धन धान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहि आएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू महालक्ष्मीको पूजा–आराधना गर्दछन् ।
आमावस्याको कालो अन्ध्यारो रात जसलाई पितृसेवाको लागि छुट्टयाइएको हो, तर यसै रात लक्ष्मी पुजन गरि दीपावली मनाइन्छ । जतिखेर सम्पुर्ण जगत कालो अँध्यारोमा डुबेको हुन्छ, सम्पुर्ण सृष्टि विचार शुन्य भएको हुन्छ, अन्ध्यारो यानी दरिद्रता अथवा अलक्ष्मीलाई समाप्त पार्न देवी लक्ष्मी प्रक्ट हुन्छिन् । अरबै दीपमालाको जगमग प्रकाशले सम्पुर्ण जगत प्रकाशमय हुन्छ । त्यो ज्योतिरमय प्रकाश अर्थात लक्ष्मीको आगमन सगै सम्पूर्ण अन्धकार यानी दरिद्रता हटेर जान्छ ।
वैदिक ज्योतिषीका अनुसार दीपावली सधैं त्यो समयमा मनाइन्छ जति खेर समस्त प्रकारको भोग प्रदान गर्ने ग्रह शुक्र आफ्नो मुल त्रिकोण राशी तुलामा रहेर सर्वशक्तिशाली हुन्छ । उल्लेखनीय छ कि तुला राशिको स्वामी ग्रहहरुमा शुक्र नै हुन्छ । शुक्रको अन्य राशी वृष लग्नमा लक्ष्मी पुजा गर्दा लक्ष्मी स्थिर भै निबास गर्ने भएकाले सर्वाधिक लोक (मानिस) यसै समयमा लक्ष्मीपुजा गर्दछन् ।
भन्निन्छ, जुन लोक सात्विक भै धन कमाउछ्न, उनलाई लक्ष्मी सँग उनका बाहन सेतो उल्लुको आशिर्वाद प्राप्त हुन्छ । जुन लोक गलत तरिकाले धन कमाउँछ्न, उनलाई कलो उल्लुको साथ भेटिन्छ । त्यसैले होला हामीले आर्जन गरेको धन सेतो र कालो हुने गरेको छ । सात्विक धन लामो समय सम्म रहिरहन्छ, यस्तो धन दान, समाज सेवा र परोपकारमा खर्च हुन्छ । तामसिक धनको प्राप्तिले घरमा कलह–क्लेष बढ्छ र परिवार बिखण्डन हुन्छ ।
लक्षमीको आशिर्वादको आकांक्षी हामी इच्छा आकांक्षाको चंचलतामा अस्थिरताको पछाडी भौतारि रहेका हुन्छौ, जबकी लक्षमी जहिले पनि भगवान विष्णुको पछि लगेकी हुन्छिन् । किनकी क्षीर सागरमा शान्तचित्त शेषनागमा सुतेका भगवान विष्णु समृद्धिको प्रतीक हुनुहुन्छ । समृद्धि चाहिएमा लक्ष्मी जस्तो चंचल होइन, बिष्णु जस्तो शान्तचित्त हुनु पर्छ । अशान्त हुनु र आभावको सोच राख्नु वास्तविक समृद्धिबाट हामीलाई टाढा राख्छ । हो हामी मानव हौ, हाम्रो अगडी सधैं केही न केही अभावहरु सृजना भई रहेको हुन्छ, चाहे त्यो जे पनि हुनसक्छ, रुपियाँ–पैसा, प्रेम, मान–सम्मान, पहिचान, ….. आदि यस्ता छन् जसको आभाव छ हाम्रो जीवनमा । हाम्रो अगाडी प्रत्येक दिन भौतिक अवश्यकताहरुको विकास भाई रहेको छ, जो हाम्रो लागि अपरिहार्य भएका छन् । जसको प्राप्तीको लागि हामी जे पनि गर्न तत्पर भै हाल्छौ । किनकी वैश्विक व्यावसायिक परिवेशबाट हामी टाढा हुन सक्दैन । तर, यदि हामीले केही कुरामा गम्भिर भएर ध्यान दियौ वा विचार गर्यौ भने यसलाई नयाँ दिशा दिन सकिन्छ ।
दार्शनिक टामस हब्सले भनेका छन् – समृद्धिलाइ खोजन सकिन्न आफै आउँछ, जब तपाईं आफ्नो दुवै हात खोलेर स्वागत गर्न उभिएको हुनुहुन्छ । समृद्धिको स्रोत आफु भित्र छ, मात्र हामीलाई अनुभव गर्न आउनु पर्छ । यसको लागि राम्रो कुरालाई स्विकारने ज्ञान हामीमा हुनु पर्छ । त्यो राम्रो कुरा जो पहिला देखि नै हामी भित्र रहि आएको छ । जुन चिजको बारेमा हामीले सोच्ने गर्छै कि दुनियाले त्यो कुरा (समृद्धि) लाई हामी सम्म आउन रोकि रहेको छ, वास्तवमा त्यो होइन हामीले दुनिया सामु त्यो कुरा (समृद्धि) लाई ल्याउन रोकि रहेका हुन्छौ । हामीलाई लाग्छ हामी तच्क्छ छै, हामी संग अरुलाई दिने केही छैन ….. आदि । हामीलाई बुझ्नु पर्ने के छ भने हिन्दुधर्म मात्र न भई अधिकाश धर्म दर्शनले भनेका छन् समृद्धि त्यो हो जो दिन सक्छ । गीतामा भगवान श्रीकृष्ण भन्नुहुन्छ कुनै चिज यस्तो होइन जो तपाईं भित्र स्वको रुपमा बिद्ययमान छैन । हरेक चिज तपाई भित्र छ, जसलाई पहिचान गरी बाँडन सकिन्छ । यो दीपावलीमा हामीलाई समृद्ध हुनु छ भने हामी प्रण गरौ कि हामी दाता बन्छै, भिखारी होइन । हामी भित्र विद्यमान रहेका अनेकानेक चिज हामी बाँड्न सक्छौ । जब तपाई बाँड्न शुरु गर्नु हुनुहुन्छ भने तपाईको अगाडी त्यहीं चिजको वर्ष हुन लागेको अनुभव गर्नु हुन्छ । एकछिन तपाई आफै संग सोध्नुस् म यहाँ के बाड्न सक्छौ, के दिन सक्छौ अरुलाई ? समृद्धि र अभाव दुबै मनव मन भित्रको स्थिती हो । हामी जगतका पालनहार भगवान विष्णुको अंशको रुपमा आफुलाई मान्छौ, धनकी देवी लक्षमीको निवास स्थान भगवन विष्णुको हृदय स्थल हो, जसले गर्दा देवी लक्षमी पनि हामी भित्र नै विराजमान हुनुहुन्छ । त्यसैले अभाव र दरिद्रताको हिन्ताबोध भावना त्यागेर समृद्ध र सम्पन्नताको आशामा अगाडी बढौ देवी लक्षमी सदा सहाय हुनुहुन्छ भन्ने हामी विश्वास लिएका छौं ।

लेखक : सुबोधचन्द्र दास (एस.सी. सुमन)
पुर्ब प्राज्ञ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान,
लोककला विभाग ।

[email protected]

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!