वीरगन्ज / सत्तारूढ दल नेकपाका जिल्ला कमिटी सदस्य मुकेश चौरसिया हत्याका मुख्य आरोपित राजकुमार गुप्तालाई पक्राउ गर्न प्रहरीले चासो दिएको छैन। मृतकका भाइ महेशले जिल्ला सरकारी वकिल कार्यालयमार्फत गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।
उनीविरुद्ध किटानी जाहेरी दिएको तीन दिन बितिसकेको छ। तत्कालीन संविधानसभा सदस्य गुप्तालाई घटना भएकै दिन प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो। जिल्ला प्रहरी पर्साले उनीविरुद्ध एक सातासम्म किटानी जाहेरी लिएको थिएन। गुप्तासहित अखिलेश चौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, सञ्जय चौहान, हनिफ मियाँ, लक्ष्मण चौरसिया, देवा सहनी, शोकदिन गद्धीलगायत १२ जनाविरुद्ध किटानी जाहेरी परेको छ।
तीमध्ये मियाँ, सहनी र गद्धीलाई प्रहरीले घटना भएकै दिन कात्तिक ६ गते पक्राउ गरेको थियो। पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जाहेरीमा नाम उल्लेख गरिएका १२ मध्ये तीन जनालाई घटना भएकै दिन पक्राउ गरिएको जानकारी दिइन्। बाँकी ९ जनाको हकमा पक्राउ पुर्जी जारी गर्ने तयारी भइरहेको उनले बताइन्। ‘बाँकी ९ जनाको हकमा आइतबार अदालत खुलेपछि अहिलेसम्मको अनुसन्धानका आधारमा पक्राउ पुर्जी जारी गरेर खोजी कार्य सुरु गरिन्छ’, पन्तले भनिन्।
विवादपछि हत्या
पर्साको विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठामा यही कात्तिक ६ गते नेकपाको नवनिर्वाचित गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रम आयोजना गरिएको थियो । मुकेश तत्कालीन माओवादी कोटाबाट सचिव पदमा निर्वाचित भएका थिए। अध्यक्ष भने तत्कालीन एमालेको कोटामा परेको थियो।
नेकपा नेता गुप्ता भने कमिटीमा आफ्ना कार्यकर्तालाई नराखिएको भन्दै कार्यक्रम बिथोल्ने रणनीतिमा थिए। कार्यक्रम सुरु हुनुभन्दा पहिला नै गुप्ता पक्षका कार्यकर्ता कार्यक्रमस्थलमा पुगे। सोही क्रममा विवाद भएर दुई पक्षबीच झडप भयो। बाँसले लाग्दा मुकेशको टाउको फुट्यो। घाइते अवस्थामा उनलाई तत्कालै वीरगन्जस्थित एसएल न्युरो अस्पताल पुर्याइयो। उपचारका क्रममा उनको कात्तिक ७ गते बिहान मृत्यु भयो।
मुकेशको मृत्यु भएकै दिन उनका भाइ महेश जाहेरी लिएर जिल्ला प्रहरी कार्यालयमा गएका थिए। तर, प्रहरीले घटनामा संलग्न नै नरहेको भन्दै गुप्ताको नाम हटाएर अर्को जाहेरी लिएर आए मात्रै दर्ता गर्ने भन्दै फर्काइदिएको महेशले सुनाए। जब कि घटना भएकै दिन साँझ प्रहरीले गुप्तासहित ८ जनालाई नियन्त्रणमा लिएको थियो। तर, साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय पुर्याइएका गुप्तासहित ५ जनालाई बेलुकी ९ बजेतिर त्यत्तिकै छाडियोे। झडपमा घाइते भएका गुप्ता पक्षका उत्तम तिवारी र चिन्टु तिवारी त्यही दिनदेखि फरार छन्।
दुवै जना उपचारका लागि नेसनल मेडिकल कलेजमा पुगेका थिए। तर, मुकेशको अवस्था गम्भीर रहेको खबर पाएपछि उनीहरू त्यहीँबाटै फरार भएका थिए। ती दुवै जनालाई मेकिडल कलेजका प्रबन्ध निर्देशकसमेत रहेका नेकपा नेता बसरुद्धिन अन्सारीले अस्पतालबाट भगाएको आरोप पीडित पक्षले लगाएको छ। तर अन्सारी भन्छन्, ‘उपचारका लागि मेडिकल कलेजमा आएका दुवै जनाको प्राथमिक उपचार गर्यांै। आईसीयूमा भर्ना गर्नुपर्ने भएपछि काउन्टरमा पैसा जम्मा गर्न भनिएको थियो। तर उनीहरू जानकारी नै नदिई हिँडेछन्, कहाँ गए हामीलाई थाहा भएन।’
प्रहरीले जाहेरी नलिएकै दिनदेखि मृतकका आफन्त र नेकपाका नेता कायकर्ता एक सातासम्म त्यसको विरोधमा उत्रिएका थिए। नेकपा नेता मातृका यादव र सुरेन्द्र पाण्डे वीरगन्ज आएर विरोध प्रदर्शनमा सहभागी भएका थिए। नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले विज्ञप्ति जारी गरी मुकेशको हत्यामा जोसुकै संलग्न भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन र सरकारसँग माग गरेका थिए। नेपाली काँग्रेसले पनि विज्ञप्ति जारी गरेर घटनाको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेको थियो।
पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले गत बुधबार पीडित पक्षको जाहेरी बुझेपछि जाहेरी दर्ता हुने आश्वासन दिएका थिए। त्यहीअनुसार जिल्ला सरकारी वकिल कार्यालयमार्फत आएको जाहेरीसहितको निवेदन जिल्ला प्रहरी कार्यालयले बिहीबार दर्ता गरेको हो। जाहेरी दर्ता भएपछि परिवारजनले शुक्रबार शव बुझेर अन्त्येष्टि गरेका थिए।
साभार-अन्नपूर्ण पोष्ट