
लुम्बिनी (मर्चवार)– कुनै समय मधेशका गाउँघरमा गुञ्जिने ‘डफला’ बाजा केवल सङ्गीतको साधन मात्र थिएन, यो जीवनका हरेक सुख–दुःखको साक्षी थियो। शुभकार्यमा मङ्गल धुन बन्ने र मृत्यु संस्कारमा अन्तिम विदाइको गम्भीर स्वर दिने यो मौलिक बाजा अहिले लोपोन्मुख अवस्थामा पुगेको छ।

समयसँगै भित्रिएका डिजे, आधुनिक ब्यान्ड बाजा र बदलिँदो सांगीतिक रुचिले डफलाको मौलिक धुन ओझेलमा परेको स्थानीय कलाकारहरूको गुनासो छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का दिनेश लोध भन्छन्, “डिजे र आधुनिक बाजाको चर्को स्वरले डफलाको पहिचान नै धमिलिँदै गएको छ। लोक–संस्कारको पर्याय मानिने यो बाजा अहिले संकटमा छ।”
‘डफला’ नेपालका अवध (मधेश) क्षेत्रको विशिष्ट पहिचान बोकेको प्राचीन ताल बाजा हो। सिसौ वा कर्माको काठबाट गोलाकार घेरा बनाएर तयार गरिने यस बाजाको एकतर्फ बाख्रा वा गाईको प्रशोधित छाला मढिएको हुन्छ। देब्रे हातले समातेर दाहिने हातका औँला, हत्केला वा पातला लट्ठीको सहायताले तालबद्ध रूपमा बजाइने डफलाको ध्वनि गम्भीर र मिठासपूर्ण हुन्छ।
यो बाजा उल्लास, विरह तथा वीरगाथा गायनमा प्रयोग हुँदै आएको छ। होली, दीपावली, पञ्चमी लगायत अवध–मधेशका पर्वसँग डफलाको गहिरो सांस्कृतिक सम्बन्ध छ। वसन्त पञ्चमीदेखि गाउँका चौतारा र दलानमा डफलाको तालमा ‘होरी’ (फागु गीत) गाउने परम्पराले सामाजिक एकता र सद्भाव बढाउँदै आएको छ।
लुम्बिनी सांस्कृतिक बिरहा समूहका ६० वर्षीय डफला वादक राम उजागिर चमारका अनुसार डफलाको उत्पत्तिसँग अध्यात्मिक कथा जोडिएको छ। “हाम्रा पूर्खाहरूका अनुसार डफला भगवान शिवको डमरु र खैंझडीको विकसित रूप हो,” उनी भन्छन्, “शिवको ताण्डव नृत्यको ताललाई धर्तीमा उतार्न काठ र छालाको मिश्रणबाट डफला बनाइएको हो।”
अर्का वादक चिट्टू चमारका अनुसार आदिमकालमा मानिसले खुसी व्यक्त गर्ने माध्यम खोज्दा प्रकृतिको प्रतिध्वनिलाई पछ्याउँदै काठमा छाला मढेर बजाउँदा डफलाको पहिलो स्वर निस्किएको लोकविश्वास छ। तर आधुनिकताले यो पेसा नै विस्थापित गरिदिएको उनको दुःखेसो छ।
सम्मरीमाई गाउँपालिका–७ बेतकुइयाँका ८० वर्षीय झगरु मुराव भन्छन्, “नयाँ पुस्तामा आधुनिकताको मोह, वैदेशिक रोजगारीको आकर्षण, सामाजिक सम्मानको कमी र न्यून आम्दानीका कारण डफला बजाउने परम्परा सम्झनामा मात्र सीमित हुँदै गएको छ।”
लोक–संस्कृतिका जानकार तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. त्रिभुवन बरई डफलाको सीप निश्चित समुदायमा मात्र सीमित रहनु संकटको मुख्य कारण भएको बताउँछन्। “डफलाले दिने आत्मिक शान्ति र सांस्कृतिक गहिराइ आधुनिक सङ्गीतसँगै हराउँदै गएको छ,” उनले भने।
डफलालाई सङ्ग्रहालयमा मात्र सीमित हुन नदिन स्थानीय सरकारले चासो देखाएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यबाहक प्रमुख कल्पना हरिजनले कलाकारलाई प्रोत्साहन भत्ता, सामाजिक सम्मान र सामूहिक डफला वादन प्रतियोगिता आवश्यक रहेको बताइन्।
त्यस्तै, लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वसीउद्दीन खाँले डफलालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए। “यसलाई जातीय घेराभन्दा बाहिर ल्याएर इच्छुक जो–कोहीलाई तालिम दिन सकियो भने मात्र यसको संरक्षण सम्भव हुन्छ,” उनले भने। राज्य र समुदाय दुवैको सक्रियता नहुँदा डफलाको इतिहास किताबका पानामा मात्र सीमित हुने खतरा रहेको उनले चेतावनी दिए।