बिहिबार, आश्विन २९, २०७७ || 1014  पटक पढिएको

जनता समाजवादी पार्टी नेपालले हिजो सुनसरीमा ११ बजेदेखि २ बजेसम्म पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेर ३ बजेदेखि सप्तरीमा श्रद्धाञ्जलीसभा कार्यक्रम सम्पन्न गर्यो । त्यति मात्र होइन, त्यही दिन साँझ सप्तरीको जिल्ला विकास समन्वय समितिको हलमा जिल्लाका नेता तथा कार्यकर्ताहरुसँग छलफल पनि गर्यो ।

जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी सदस्य अनिलकुमार झालगायतका नेताहरुले बिहानदेखि यी तीनवटै कार्यक्रम भ्याए । प्रत्येक कार्यक्रममा सयौं नेता तथा कार्यकर्ता उपस्थित थिए । देशमा कोरोना संक्रमण दिनदिनै थपिँदैछ, मृत्युदर बढ्दै गइरहेको छ तर जसपा नेपालले देशैभरि आफ्ना कार्यक्रमलाई तीब्रता दिएको छ ।

कोरोनाको महामारी शुरु भएसँगै तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएको हो । बैशाख ७ गते मध्यराती यी दुई दलबीच एकीकरण भई जनता समाजवादी पार्टी नेपाल गठन भएको थियो । पार्टी गठन भएसँगै जसपाले आफ्ना कार्यक्रमलाई निरन्तरता दिन थाल्यो । पार्टी एकीकरणका लागि नेताहरुको दौडधुपदेखि लिएर गोप्य बैठकहरु समेत बस्न थाल्यो । सुरुमा समाजवादी पार्टी फुट्ने हल्लाले ती पार्टीका नेताहरुको बैठक र छलफल बाक्लिएको थियो । र, त्यसैको परिणाम स्वरुप पार्टी एकीकरण सफल भएको हो ।

पार्टी एकीकरण भएपछि निर्वाचन आयोगमा दर्ता प्रकृया शुरु भयो तर कोरोनाका कारण देखाउँदै दुवै पार्टीले केन्द्रीय समितिको बैठक बसाएनन् । एकीकरणका लागि केन्द्रीय समितिबाट निर्णय गराउनुपर्ने थियो । तर कोरोनाको बहाना देखाउँदै केन्द्रीय समितिको बैठक भएन । जिल्ला जिल्लाबाट केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरेर सोही निर्णयलाई आधार मानेर निर्वाचन आयोगमा पेस गरिएको थियो । तर उनै नेताहरु जसले केन्द्रीय समितिको बैठक साउनमा राख्न उचित ठानेनन्, तिनीहरु दिनरात बैठक बसेर यी सबै विषय टुङ्गो लगाएका थिए ।

 

तत्कालिन समाजवादी पार्टीका एक केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय कमिटीको बैठक बोलाउँदा कोरोना सथ्र्यो, उनीहरु दिनरात बैठक बसे के त्यसबाट कोरोना सरेन ?’ ‘यत्रो पार्टी एकीकरण भयो तर पार्टीका नेताहरुलाई कोरोनाको बहाना बनाउँदै छलफल पनि गर्न दिइएन, बोल्न पनि दिइएन’ उनले भने । सात आठजना नेताको निर्णयको भरमा यी सबै निर्णय भएको उनले गुनासो गरे ।

‘उनीहरुले आफ्नो पद बाँडफाँड गर्दा जस्तोसुकै परस्थितिमा पनि बैठक बसे, जहाँ पनि बसे तर अरुको सल्लाह लिन पनि उचित ठानेनन्’ ती नेताको गुनासो थियो । तर अहिले उनै नेताहरु कोरोना महामारीको बेलामा पनि गाउँ-गाउँ गएर कार्यक्रमहरु गरिरहेका छन् । के अहिले कोरोना सर्दैन ? उनीहरु अहिले जिल्ला-जिल्लामा गएर सयौंको संख्यामा नेता–कार्यकर्ताहरु उपस्थिति गराएर कार्यक्रम गरिरहेका हुन्छन् ।

काठमाडौंको पार्टी कार्यालयदेखि तराई मधेशका विभिन्न जिल्लामा पार्टी प्रवेश लगायतका विभिन्न कार्यक्रम गरिरहेका छन् । जसपा नेता सन्तोष मेहता (सुनसरी) भन्छन्, ‘स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार कोरोनाका लागि सबै सावधानी अपनाएर कार्यक्रमहरु गरेका छौं, असोज २७ गते सुनसरीमा भएको पार्टी प्रवेश कार्यक्रममा सहभागी सबैलाई माक्स दिनुका साथै कार्यक्रमस्थलमा सेनिटाइज र सहभागीहरुको बडी स्प्रे गर्नुका साथै सकभर दुरी कायम गरी सबैलाई बसाइएको थियो ।’

तर सरकारले भने सभा सम्मेलन गर्नमा रोक लगाइएको छ । कुनै ठाउँमा २५ जनाभन्दा बढीलाई भेला हुन भनेको छैन । सो पार्टीले सरकारले दिएको निर्देशनलाई अवज्ञा गरि कार्यक्रम गरेको छ । सो कार्यक्रमका सवालमा सिडिओ कार्यालयले भन्यो, ‘कार्यक्रम नगर्नु भनेका थियौं तर नेताहरुले हामी सरकारले तोकेको मापदण्डअनुसार नै कार्यक्रम गर्दैछौं भनेका थिए तर मान्छे बढी नै भेला गरिएको थियो ।’

त्यही दिन सप्तरीमा पनि दुईटा कार्यक्रम गरेको थियो जसपा नेपालले । सप्तरीमा तीन बजदेखि श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो भने साँझ जिल्लाभरिका नेता तथा कार्यकर्ताको उपस्थितिमा अर्को कार्यक्रमको आयोजना गरिएको थियो । त्यसअघि असोज १८ गते उपेन्द्र यादवको उपस्थितिमा एउटा बृहत पार्टी प्रवेश कार्यक्रम सप्तरीमै सम्पन्न भइसकेको थियो ।

त्यसको अघिल्लो दिन उपेन्द्र यादव एउटा श्रद्धाञ्जली कार्यक्रममा पनि सहभागी भएका थिए । उपेन्द्र यादव सप्तरीमा पार्टी प्रवेश गराईरहेका थिए भने सोही पार्टीका कार्यकारिणी सदस्य एवं प्रदेश २ का मन्त्री विजय यादव सिरहाको लहानमा पार्टी प्रवेश गराइरहेका थिए । सप्तरीबाट काठमाडौं फर्किने क्रममा असोज १९ गते सिरहाको लहानमा फेरि पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो । त्यसमा उपेन्द्र यादवको उपस्थितिमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका थिए ।

उपेन्द्र यादव काठमाडौं फर्केपछि उनको सहभागितामा असोज २० गते पार्टी कार्यालयमा नै पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो । असोज १७ गते जसपाका कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले महोत्तरी क्षेत्र नम्बर २ मा आफ्नो क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन गरेका थिए, जुन कार्यक्रममा सयौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । त्यसमा उनले भाषण दिँदा आफू स्वस्थ्य रहेको भन्दै मुखमा लगाएको माक्स समेत खोलेका थिए ।

असोज २७ गते सुनसरी र सप्तरीमा राजेन्द्र महतो र अनिलकुमार झालगायतका नेताहरुले कार्यक्रम गरिरहेका थिए भने पर्सामा अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता डा.बाबुराम भट्टराई कार्यक्रममा व्यस्त थिए । एउटा अनलाइन र एमएमको उद्घाटन गरेका थिए उनीहरुले । त्यसको अघिल्लो दिन सोही ठाउँमा बृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो । त्यसमा सैकडौं नेता तथा कार्यकर्ताको उपस्थिति थियो । त्यो कार्यक्रम पनि त्यहाँका सिडिओले नगर्न आग्रह गरेका थिए तर पूर्वप्रधानमन्त्री र पूर्व उपप्रधानमन्त्री सहभागी भएको कार्यक्रमलाई जबर्जस्ती रोक्न पनि नसकिएको सिडिओ असमान तमाङले बताए ।

नेता राजेन्द्र महतोले सुनसरी र सप्तरीको कार्यक्रममा जानुभन्दा पहिले असोज २४ गते काठमाडौंमै थारु बुद्धिजिवी र पत्रकारहरुसँग छलफल गरेका थिए । र, त्यही दिन उपेन्द्र यादव ट्रेड युनियनको एकता कार्यक्रममा सहभागी भएका थिए । उता, डा.बाबुराम भट्टराई गोरखा पुगेर कार्यकर्ता भेला गरेर भाषण ठोकिरहेका थिए ।

यसपछि पनि जसपाले पार्टी प्रवेश तथा अन्य कार्यक्रमहरु पनि तय गरेको छ । सो पार्टीले कार्तिक ३ गतेदेखि कार्यकारिणी समितिको बैठक बोलाएको छ । उक्त पार्टीको कार्यकारिणी समिति ५१ सदस्यीय रहेको छ । कार्यकारिणी समितिको बैठक सम्पन्न भएपछि धनुषा जिल्लामा पनि बृहत पार्टी प्रवेशको कार्यक्रम तय गरिएको छ ।

रातोपाटी बाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!