
मोरङ – कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा प्रथम ‘एलाइट कप’ क्रिकेट प्रतियोगिता बुधबारदेखि विराटनगरमा आयोजना हुने भएको छ ।

प्रतियोगिता माघ १४ गतेदेखि १७ गतेसम्म विराटनगर–६ स्थित मरिलेबन क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा झापा, मोरङ र सुनसरी जिल्लाका टिमहरू सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताअन्तर्गत माघ १४ गते मोरङ र सुनसरीबीच, १५ गते झापा र मोरङबीच तथा १६ गते सुनसरी र झापाबीच खेल हुनेछ । माघ १७ गते प्रतियोगिताको फाइनल खेल आयोजना गरिने कोशी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सर्वजित पाण्डेले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कोशी प्रदेशबाट उत्कृष्ट प्रदर्शन गरेका तीन टिमको सहभागिता एलाइट कपमा रहनेछ । आगामी दिनमा नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा एलाइट कपलाई समावेश गराउन पहल गरिने पनि उनले बताए ।
एलाइट कप प्रतियोगिताले कोशी प्रदेशमा क्रिकेटप्रतिको चासो पुनर्जीवित गर्ने र खस्किँदै गएको क्रिकेटको स्तर उकास्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।
पत्रकार सम्मेलनमा मोरङ क्रिकेट सङ्घका अध्यक्ष मो. सादबाबु र सुनसरी क्रिकेट सङ्घका अध्यक्ष चेतनाथ पौडेलले एलाइट कपको आयोजना गर्वको विषय भएको उल्लेख गर्दै यसलाई दीर्घकालीन प्रतियोगिताका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।
यसैबीच, कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनबीच भएको सहकार्यले भुइँतहदेखि क्रिकेट विकासमा टेवा पुग्ने फाउन्डेसनका निर्देशक अभिषेक श्रेष्ठले बताए ।