बुधबार, आश्विन २८, २०७७ || 646  पटक पढिएको

बारपाक सुलिकोट गाउँपालिका–२ का दोर्जे गुरुङले एक दशकदेखि बाँझो रहेको जमिनमा यस वर्षबाट खेती थालेका छन् । पुर्ख्यौली जमिनमा खेती गर्न छाडेर बारपाकमा किराना पसल चलाएका उनी कोरोना कहरपछि फेरि खेतबारीमै व्यस्त छन् । भन्छन्, ‘आफ्नै बारीमा दुःख गरेपछि खानको सुर्ता हुन्न ।’ २५ रोपनीमा यसवर्ष कोदो र घैया धान लगाएको उनले सुनाए । साढे २ रोपनीमा आलु पनि लगाए ।

लकडाउनले व्यापार–व्यवसाय सुस्ताएको छ । भएको जमिन पनि बाँझो राख्दा छाक टार्न मुस्किल हुने उनको भनाइ छ । ‘लकडाउनपछि पसलको आम्दानीको भरै छैन,’ उनले भने, ‘जिजुबाजेले यही बारीको उब्जनीले खान पुर्‍याउँथे, कोरोनापछि पुर्ख्यौली जमिन बाँझो राख्न हुन्न भन्ने मनमा लागेर खेती थालेको हुँ ।’ गाउँका अन्यले पनि उनैले जसरी फेरि खेती गर्न थालेका छन् ।

बाँझो जमिनमा खेती गर्नेलाई गाउँपालिकाले अनुदानको व्यवस्था गरेको छ । गत वैशाख २४ को कार्यपालिका बैठकले अनुमोदन गरेको ‘बाँझो जग्गा उपयोग अनुदान कार्यविधि २०७७’ जारी गरी किसानलाई अनुदान उपलब्ध गराउन लागेको हो । सौरपानीका दिनेश खनखवासले पनि १४ रोपनी जमिनमा धान र कोदो लगाए । श्रमशक्तिको अभावमा चार वर्षयता धान उत्पादन हुने खेतसमेत उनले बाँझै छाडेका थिए ।

६ रोपनी बाँझो जमिनमा कोदो र सिलाम खेती थालेका केशरीप्रसाद ढकाल बाँदरले दुःख दिएको गुनासो गर्छन् । ‘घरमा बूढाबूढी मात्र, खेती नगरी छाड्दा ३ वर्षदेखि बारी बाँझै थिए,’ उनले भने, ‘अहिले खेती थाल्यौँ, बाँदरले दुःख दिन थाल्यो, जमिन बाँझो रहनुको एउटा अर्थ बाँदरले दुःख दिएर पनि हो, यसको नियन्त्रणमा सहयोग गर्नुपर्‍यो ।’

बारपाक, सुलिकोटमा लकडाउनपछि ६ सय ३८ रोपनी बाँझो जमिनमा खेती भएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । ५ सय ३८ रोपनीमा खाद्यान्न बाली, ३ रोपनीमा फलफूल, २७ रोपनीमा दलहन, २९ रोपनीमा मसला र २ रोपनीमा तरकारी लगाइएको कृषि प्राविधिक प्रेमप्रकाश रोका क्षेत्रीले बताए । ६ सय ३८ रोपनी मध्ये ६१ किसानलाई अनुदान उपलब्ध गराउन कृषि ज्ञान केन्द्रमा सिफारिस गरिएको छ । गाउँपालिकाले डेढ सय किसानका ३ सय १५ रोपनी बाँझो जमिनमा खेती गर्नेलाई अनुदान रकम उपलब्ध गराउने उनले बताए । खाद्यान्नमा प्रतिरोपनी ३ हजार, फलफूलमा २ हजार र दाल बालीमा २५ सय रुपैयाँ अनुदान उपलब्ध हुनेछ । ‘बाँझो जग्गामा खेती गर्ने भन्दै ५ सय किसानको आवेदन आएको थियो,’ उनले भने, ‘हामीले स्थलगत अध्ययन गरी अनुदान उपलब्ध गराउन लागेका हौँ ।’ अनुदानका लागि ९ लाख ९७ हजार ६ सय ५० रुपैयाँ वडा कार्यालयमा निकासा भइसकेको छ । खेती प्रोत्साहनका लागि गाउँपालिकाले चालू वर्ष १६ लाख रुपैयाँ छुट्ट्याएको थियो । ‘अहिले ९ लाख ९७ हजार निकासा गर्‍यौँ, वडा नम्बर ३ मा निकासा भएको छैन,’ क्षेत्रीले भने ।

अनुदान उपलब्ध गराएपछि कोभिडले रोजगार गुमाई हतोत्साही बनेकाहरूलाई पनि कृषिपेसामा लाग्न प्रोत्साहन भएको गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए । तीन वर्ष लगातार बाँझो रहेको जमिनमा खेती गर्नेलाई मात्र अनुदान रकम उपलब्ध गराइएको उनको भनाइ छ । ‘यो कार्यक्रम निकै उपलब्धिमूलक भएको पाएका छौँ, बेरोजगार बनेकाहरूलाई पनि खाद्यान्न संकटबाट मुक्त गर्न कार्यक्रमले केही हदसम्म राहत दिनेछ,’ उनले भने । कान्तिपुरमा हरिराम उप्रेती लेखेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!