कर्णाली प्रदेश सरकारविरुद्ध सत्तारुढ दलकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै प्रदेशसभासदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।प्रदेश सांसद यमलाल कडेलसहितका १८ जना सांसदहरुले हस्ताक्षरसहित संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका छन् । त्यसपछि सांसदहरुको टोली आइतबार दिउँसो नै प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएको कडेलले जानकारी दिए । हस्ताक्षर गर्नेमा पूर्व एमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।