पाटनको नारायण मन्दिरबाट चोरिएको भनिएको ‘वासुदेव–कमलाजा मूर्ति’ फिर्ताका लागि प्रमाण र प्रहरी रिपोर्ट उपलब्ध गराउन अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियमले दोहोर्‍याउँदै खबर गरे पनि नेपाल सरकारले चासो दिएको छैन । अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा गत मंसिरमा प्रदर्शनमा राखिएको वासुदेव–कमलाजा मूर्ति । यो मूर्ति पाटनको नारायण मन्दिरबाट ३६ वर्षअघि चोरिएको थियो । न्युयोर्कस्थित जोन–जे कलेजमा ‘आर्ट क्राइम’ विषयमा प्राध्यापन गर्ने इरिन एल थोम्सनले अनुसन्धानमूलक लेख लेखेपछि बल्ल यो मूर्तिबारे चासो सुरु भएको थियो । ३५ वर्षदेखि हराइरहेको मूर्ति गत मंसिरमा डल्लास म्युजियम अफ आर्टमा प्रदर्शनीमा देखिएको थियो । त्यसपछि पुरातत्त्वका अध्येताहरूले अन्तर्राष्ट्रिय तहमा सरोकार राख्न थालेका थिए । लैनसिंह वाङ्देलको सन् १९८९ मा प्रकाशित ‘स्टोलन इमेजेज अफ नेपाल’ पुस्तकमा उल्लेख गरिएको यो मूर्तिमा देब्रेतर्फ विष्णु (नारायण) र दाहिनेपट्टि अर्धलक्ष्मीको आकृति छ । चोरिएर अमेरिका पुगेको मूर्तिबारे सूचना दिने न्युयोर्कस्थित जोन–जे कलेजकी प्राध्यापक इरिन एल थोम्सनका अनुसार डल्लास म्युजियमले वासुदेव–कमलाजा मूर्ति नेपाल फर्काउने इच्छा देखाएको छ । तर त्यसका लागि म्युजियमका कानुनी अधिकारीले नेपालबाटै मूर्ति चोरिएको प्रमाण र प्रहरी रिपोर्ट मागेका छन् । ‘तत्कालीन प्रहरी रिपोर्ट वा अरू केही र मूर्तिको स्थान (पहिचान) बारे स्थलगत तस्बिर प्रमाण आदिसमेत अहिले माग भएको रहेछ,’ थोम्सनले कान्तिपुरसँग भनिन्, ‘मुख्य कुरा सन् १९८४ मा मूर्ति हराएकै समयको पुलिस–रिपोर्टमा आधिकारिता रहने भएकाले म्युजियमले त्यही प्रमाण खोजेको छ ।’

फिर्ता ल्याउन सरकारले पहल नगर्दा चोरीका सम्पदा विदेशतिरै

पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने गत वर्ष मंसिरमा वासुदेव–कमलाजा मूर्तिबारे समाचार आएपछि त्यसलाई मूर्ति फिर्ता ल्याउने प्रक्रियामा चैत महिनामै पत्राचार भइसकेको जानकारी दिए । ‘पुरातत्त्वले परराष्ट्र मन्त्रालयमार्फत र सम्बद्ध कूटनीतिक नियोगमार्फत यो विषयमा पत्राचार गरेको हो,’ उनले भने, ‘तर यसपछिको फलो–अपबारे जानकारी छैन ।’ डल्लास म्युजियममा रहेको नेपाली मूर्ति फर्काउन भइरहेको प्रक्रिया र पहलबारे न्युयोर्कस्थित नेपाली वाणिज्य दूतावास तथा वासिङ्टन डीसीस्थित नेपाली दूतावासका अधिकारी पनि ‘अनविज्ञ’ देखिए । ‘वासिङ्टनमा राजदूत फर्कने तयारीमा हुनुहुन्छ, न्युयोर्कमा ७५ औं राष्ट्रसंघीय महासभा जारी रहेको छ,’ डीसी नियोगमा रहेका एक कूटनीतिक अधिकारीले भने, ‘त्यसकारण पनि डल्लास म्युजियममा रहेको भनिएको मूर्ति फर्काउनेबारेको पत्राचार जानकारी भएन ।’ भर्खरै प्रवक्ता तोकिएकी परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालले नेपालको मूर्ति सम्पदा चोरिएर अमेरिका पुगेको जानकारी आफूले समाचारबाट पाए पनि यसलाई फर्काउन भइरहेको प्रक्रिया र पछिल्लो स्थितिबारे जानकारी नरहेको बताइन् । ‘म यसबारे सम्बद्ध कूटनीतिक निकायमा बुझेर जवाफ दिनेछु,’ उनले भनिन् ।

३५ वर्षअघि पाटनबाट चोरिएको मूर्ति अमेरिकामा प्रदर्शित
पुरातत्त्व बिभागले भने सन् १९७० मा अनुमोदित गैरकानुनी रूपले सांस्कृतिक सम्पत्ति आयात–निर्यातमा प्रतिबन्ध लगाउनेसम्बन्धी अभिसन्धिका आधारमा पनि पहिचानयुक्त मूर्तिलाई फर्काउन सकिने दाबी गर्दै आएको छ । तर सम्पदाविद् रवीन्द्र पुरीले वासुदेव–कमलाजा मूर्तिबारे भएको पहिचान र प्रमाणमा प्रमाणीकृत आधार देखाउन पनि ढिलाइ भइरहेको प्रतिक्रिया दिए ।

उक्त मूर्ति रहेको स्थल नारायण मन्दिर (पाट्को टोल) को पुरानो र अहिलेको तस्बिर सहजै फेला पर्न सक्ने उनले बताए । सन् १९८५ नोभेम्बरमा सम्पन्न संयुक्त राष्ट्रसंघको ४०औं महासभा बैठकबाट ‘सांस्कृतिक सम्पत्ति फिर्ता गर्नेसम्बन्धी प्रस्तावना’ अनुमोदन भइसकेकाले यस आधारमा पनि उत्पत्तिका आधारमा आफ्नो सम्पदा फर्काउन सकिने सम्पदाविद्हरूको भनाइ छ । कान्तिपुरमा लेखेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!