शनिबार, आश्विन १७, २०७७ || 539  पटक पढिएको

विशेषज्ञहरूले काठमाडौं उपत्यकाबाट दसैं–तिहारमा देशभर कोरोना संक्रमण फैलिने उच्च जोखिम रहेको बताएका छन् । उनीहरूले चाडबाडका बेला संक्रमण विस्तार हुन नदिन विशेष रणनीति आवश्यक रहेको सुझाएका छन् ।उपत्यकासहित मुलुकका अन्य भागमा पनि व्यापक रूपमा पीसीआर परीक्षण गर्नुपर्ने उनीहरूको सुझाव छ । चाडबाडका बेला राजधानीमा बस्नेहरू बाहिर जाँदा त्यहाँका स्थानीयलाई सार्ने र चाडबाडपछि पुनः राजधानी फर्कंदा संक्रमण ल्याउने जोखिम रहेको विज्ञहरूको भनाइ छ

‘काठमाडौं बस्नेहरू दसैं–तिहारमा उपत्यकाबाहिर गएर त्यहाँ संक्रमण फैलाउँछन्, अब कोभिड संक्रमण राजधानीबाट देशभरि विस्तार हुने जोखिम बढ्यो,’ ईडीसीडीका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने । विज्ञहरूले चाडबाडका बेला संक्रमण झन् बढ्ने चेतावनी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार शुक्रबारसम्म काठमाडौंमा ९ हजार ४ सय ६३, भक्तपुरमा १ हजार ८८ र ललितपुरमा १ हजार २ सय ४० जना गरी उपत्यकामा ११ हजार ७ सय ९१ जना सक्रिय संक्रमित छन् ।

यो मुलुकमा भएको कुल २१,२३४ सक्रिय संक्रमितको ५५.५२ प्रतिशत हो । ‘अहिले नै काठमाडौं छाड्नेहरूको संख्या यहाँ आउनेभन्दा बढी छ,’ डा. पाण्डेले भने, ‘मुलुकमा देखिएको संक्रमणको करिब दुई तिहाइसम्म काठमाडौंमै देखिने अवस्था चिन्तालाग्दो छ ।’

केही दिनअघि बाहिरी जिल्लाबाट काठमाडौंमा संक्रमण फैलिने सम्भावना मानिन्थ्यो । अहिले उपत्यकाबाट अन्य जिल्लामा संक्रमण विस्तार हुने अति उच्च जोखिम देखिएको ईडीसीडीका पूर्वनिर्देशक डा.जीडी ठाकुरले बताए । ‘राजधानीबाट अन्य जिल्लामा संक्रमणको विस्तार एकै पटक बाढी आएजस्तै हुनेछ,’ उनले भने, ‘यो स्थितिलाई विशेष जनस्वास्थ्यको रणनीति अपनाई समाधान गरिएन भने मुलुक कोभिड संक्रमणको चक्रबाट उम्कन सक्दैन ।’

कुनै स्थान विशेषमा अत्यधिक केस देखिए कम्तीमा १५ दिनदेखि अधिकतम एक महिनासम्म स्मार्ट लकडाउन, टोल स्थान विशेषमा आइसोलेसन र जनचेतना अभिवृद्घि आवश्यक रहने उनको भनाइ छ । विज्ञहरूले चाडबाडमा राजधानीबाहिर जाँदा स्वास्थ्य सुरक्षा (मास्क, सेनिटाइजर, निरन्तर हात धुने) अपनाउन सुझाएका छन् । ‘दसैं–तिहारमा एकै पटक ८० प्रतिशतसम्म जनसंख्या केही समयका लागि विस्थापित हुने विश्वकै अनौठो सहर काठमाडौं उपत्यका हो,’ डा.ठाकुरले भने, ‘आगामी दुई साताभित्र हुने अत्यधिक व्यक्तिको विस्थापनलाई हामीले चुनौतीका रूपमा लिएर संक्रमण नियन्त्रणको थप प्रयास गरेनौं भने भविष्यमा मुलुकमा देखिने स्थितिबारे केही भन्न सकिन्न ।’

कोभिड भाइरस दसैं–तिहारको समयमा राजधानीबाट गाडी चढेर देशका अन्य जिल्ला पुग्ने जनाउँदै ईडीसीडीका अर्का पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने, ‘मुलुकलाई जोगाउन अब दैनिक युद्धस्तरमा ४० देखि ५० हजार पीसीआर परीक्षण गर्नुपर्छ । पैसा तिर्नुपर्ने परीक्षणमा पनि शुल्क ७५० रुपैयाँभन्दा बढी हुनुहुँदैन ।’

देशभर सहज र न्यून मूल्यमा परीक्षण उपलब्ध भएमा संक्रमण विस्तारमा कमी ल्याउन सकिने उनको भनाइ छ । व्यापक परीक्षणबाट संक्रमित पत्ता लगाउँदै उनीहरूलाई तुरुन्त आइसोलेसन राख्नुपर्ने डा. ठाकुरको भनाइ छ । हाल काठमाडौं उपत्यकामा देखिएको संक्रमण नियन्त्रण गर्न स्थानीय सरकारको थप सक्रियता र पहल आवश्यक देखिएको डा. पाण्डेले बताए ।

‘काठमाडौंमा स्थानीय जनप्रतिनिधिलाई कोभिड विस्तारको यस्तो स्थितिप्रति चिन्ता नभएको देखियो,’ डा. पाण्डेले भने, ‘स्थानीय सरकारलाई अझ बढी संलग्न गराएर संक्रमणको विस्तार रोक्दा मात्र मुलुकभर फैलिनबाट रोक्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!