बुधबार, भाद्र २४, २०७७ || 553  पटक पढिएको

जुम्ला सदरमुकाम खलङ्गा बजार अन्धकारमा रहेको छ । विसं २०४० मा निर्माण भएको यहाँको घुघुत्ती साना जलविद्युत् आयोजनाको अहिलेसम्म मर्मतसम्भार हुननसक्दा यहाँका उपभोक्ताले दशकौँदेखि दैनिक १८ घण्टा लोडसेडिङको मार खेप्दै आएका छन् । गत वर्ष विद्युत्को क्षमता विस्तारका लागि करिब रु तीन करोडको ठेक्का आह्वान गरेर भारतीय ठेकेदार सुरेन्द्र पासीले दुईवटा नयाँ मेसिन जडान गरेका थिए ।

मेसिन जडानकै क्रममा ठेकेदार पासी फरार भएपछि विद्युत् आपूर्ति बन्द भयो । चर्को विरोधपश्चात् ठेकेदार आएर टालटुल गरेर फर्र्किए तर एकदुई महिना नबित्दै लोडसेडिङ पुरानै अवस्थामा फर्कियो । मर्मतसम्भारका लागि नेपालस्थित भारतीय राजदूतावासले रु दुई करोड ६३ लाख ७७ हजार सहयोग गरेको थियो । त्यसमा साना जलविद्युत् उपभोक्ता समितिले रु ४५ लाख २२ हजार ९०० थपेको थियो । नयाँ मेसिन जडानका लागि रु तीन करोडमा ठेक्का सम्झौता गरिएको थियो ।

ठेकेदारले जुम्लावासीलाई झुक्याएर नक्कली मेसिन जडान गरेकै कारण अँध्यारोबाट मुक्ति पाउन नसकिएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । एक दिन बिजुली आउने अनि दुई दिन नआउने क्रम भए पनि विगत दुई सातादेखि जुम्ला सदरमुकाम खलङ्गामा अनिश्चितकालीन लोडसेडिङ हुने गरेको छ ।

‘प्रोग्राम लजिक कन्ट्रोल’ (पिएलसी) सफ्टवेयर बिग्रिएपछि अनिश्चितकालीन लोडसेडिङ भएको नेपाल विद्युत् प्राधिकरण जुम्लाका प्राविधिक प्रमुख हेमन्त साहुले बताए । “पिएलसी सफ्टवेयरविना विद्युत् उत्पादन तथा आपूर्ति सम्भव छैन । यो सफ्टवेयर पनि तिनै ठेकेदार पासीले सञ्चालन गरेका हुन्”, उनले भने । उनका अनुसार जलविद्युत्को सबै सिस्टम कन्ट्रोल गर्ने, पानी फलो गर्ने सबै काम पिएलसी सफ्टवेयरकै हो । ठेकेदार कम्पनीले नै आएर पिएलसी सफ्टवेयर चालू नगरेसम्म खलङ्गामा लोडसेडिङ कायम रहने उनले बताए ।

ठेकेदार पासीकै शुभकामना जेभी कम्पनीले हाइड्रो मेकानिकल पार्टहरू मात्रै आपूर्ति गर्ने हो तर त्यसले हचुवाकै भरमा मेसिन जडान र सफ्टवेयर सञ्चालन गरेपछि पटकपटक विद्युत् सञ्चालनमा अवरोध हुँदै आएको छ । पासी नआएसम्म विद्युत् सञ्चालन मुस्किल भएको छ । कहिलेसम्म लोडसेडिङ हुने र कहिले ठेकेदार आउने कुनै टुङ्गो छैन । ठेकेदार पासीले सबै नक्कली सामानहरू मात्रै जडान गरेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।

चौरभरि उपकरण र डिजेल्ट प्लान्ट

गत वर्ष जुम्लामा अन्धकार भएपछि सांसद गजेन्द्रबहादुर महतले सांसद विकास कोषबाट डिजेल प्लान्ट खरिद गर्न रु २४ लाख ६० हजार उपलब्ध गराए । खरिद गरेर २०० केभी (१६० किलोवाट) क्षमताको उपकरण जुम्लामा पनि ल्याएर केही समय डिजेलबाट भए पनि बिजुली बल्यो तर डिजेलको खर्च थेक्न नसकिएपछि उक्त उपकरण पनि थन्किएको छ ।

त्यसैगरी जुम्लाको बिजुलीको विषयमा गत वर्ष सडकदेखि संसद्सम्म चर्को विरोध र आलोचना भएपछि विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले अर्को डिजेल प्लान्ट पनि पठायो तर डिजेल भने पठाएन । त्यो उपकरण पनि ल्याएदेखि एक दिन बिजुली नबालेरै थन्किएको तत्कालीन साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए । “विद्युतगृहको चौरभरि उपकरणले भरिएको छ तर यहाँका उपभोक्ताले नियमित बिजुली बाल्न पाएका छैनन्”, उनले भने । केन्द्रीय प्रसारण लाइन कहिले जिल्लामा आउने हो भन्ने कुनै टुङ्गो नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!