घामको झुल्को हिमाल टेक्दा झल्कन्छ झलल
सेताम्मे हिउँ खसेको शैल टल्कन्छ टलल
बिहानी पख शीतको थोपा धर्तीमा देखेर
सुरुप्प प्यूँछ सूर्यको आभा बिहानी टेकेर
लहमा लह धानका बाला तराई फाँटमा
वीरको देख्छु जोशिलो बल नेपाली आँटमा
पहाड राम्रो हरियो वन कस्तुरी मृगले
ढपक्कै ढाक्यो धरती हेर हरिया तृणले
डाँडा र पाखा कन्दरा सबै उत्कृष्ट नमूना
कलल बग्ने सहस्रौँ नदी समान यमुना
भाग्यले पायौँ सुन्दर राम्रो स्वर्गझै नेपाल
प्रयोग गर्न नजान्दा स्रोत भयो है बेहाल
पँखेटा भरी उडेर जान्छु छुन है आकाश
सङ्घर्ष गरी उद्यमी बनी गर्नुछ विकास
जोतेर नङ्ग्रा पोखेर श्रम जीवन गुजार
गर्न है पाए चाहाना छैन चाहिन्न जुहार
शिक्षामा अझै पहुँच पुग्न नारीको सकेन
कानुन कडा नभइ दिँदा सुरक्षा भएन
संस्कार हट्यो विकृति पस्यो मर्यादा हरायो
सन्तान आफ्नै जोडले बोल्न मन यो डरायो
जूनको ज्योति टिपेर यहाँ उज्यालो भरौँन
अँध्यारो बस्ती पुगेर त्यहाँ दियालो बालौँन
जमुना पौड्याल
विराटनगर -३