शनिबार, भाद्र २०, २०७७ || 654  पटक पढिएको

घटना अफगानिस्तानको हो । हाकिम अलोकोजाई नामक यहाँ स्वघोषित जडिबुटीविद्ले कोरोनाको औषधि पत्ता लगाएको दाबी गरेका छन् । उनीसँग औषधी लिनका लागि अहिले ठूलो संख्यामा सर्वसाधारणहरु लाईनमा बस्छन् । उनीहरु घण्टौंँ हिँडेंर आउँछन् अनि आफ्ना आफन्त, साथीभाई र नजिकका व्यक्तिहरुलाई पनि औषधी बाँड्छन् ।

महोम्महद जामेनले यही औषधीको केही थोपा लिन तालिवानको चेकपाइन्ट र कच्ची सडक पार गर्दै घरदेखि ३ सय ३५ किलोमिटर पर राजधानी काबुल आइपुगे । केही थोपा झोलले कोभिड–१९ निको हुने विश्वास उनलाई छ । जामेनले गत महिना यो औषधि प्रयोग गरेका थिए, आफु र आफ्नो परिवार कोरोना संक्रमणमुक्त भएजस्तो लागेपछि छरछिमेकी र आफन्तहरुलाई खुवाउन औषधी लिन उनी काबुल आएका हुन् । यद्यपि, जामेनले अहिलेसम्म कोरोनाको परीक्षण नै गरेका छैनन् । टाउको दुख्न र श्वास फेर्न गाह्रो भएपछि उनलाई आफु र आफ्नो परिवार कोरोना संक्रमित भएजस्तो लागेको थियो । अहिले औषधीले आफू निको भएको उनलाई विश्वास छ ।

‘म एक महिनादेखि रोगी थिए । श्वास फेर्न गाह्रो थियो । यो झोल प्रयोग गरेको १० दिनमै सबै लक्षण हराए,’ ५० वर्षीय जामेनले भने । उनले एक गिलास कालो चियामा यस झोलको तीन थोपा हालेर पिउने गरेका थिए । ३६ घण्टामा तीनपटक यसरी नै कालो चिया पिउँथे ।

अफगानिस्तानमा झन्डै ४० हजार व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको पुष्टि भएको छ । तर यहाँ परीक्षणको दर निकै कम छ । त्यसैले विज्ञहरु संक्रमितको वास्तविक सङ्ख्या दशौँ लाख हुनसक्ने दाबी गर्छन् । बिरामीहरु अस्पताल जान डराउँछन् । उनीहरुलाई त्यहाँ जाँदा उल्टै रोग बढ्छ भन्ने डर छ । बरु, यसरी नै जडिबुटी प्रयोग गर्छन् । जामेनले यो औषधी लिनुपूर्व घरेलु उपचारका धेरै विधि अपनाएका थिए । ‘हामीले सबै गरेका थियौँ । तर यो औषधी लिनुअघि केहीले काम गरेन,’ उनले भने ।

अफिम मिसाइएको औषधी

यो औषधी बनाउने हाकिम अलोकोजाईको स्थायी ठेगाना दक्षिणी प्रान्त कान्दाहर हो । यस औषधीले देशका ५० लाखभन्दा धेरैलाई उपचार मिलेको उनको दाबी छ । उनी भन्छन्, ‘यो झोलले कसरी काम गर्छ भन्ने स्पष्ट उदाहरण जामेन हुन् । यहाँ आउने हरेकजसोले १ सय वा त्यसभन्दा बढीका लागि यो औषधी लिएर जान्छन् ।’ यद्यपी, यसको कुनै प्रमाण छैन ।

अलोकोजाई भन्छन्, ‘अफगानिस्तानमा अस्पताल जाने व्यक्तिमात्रै कोरोनाबाट मरेका छन् ।’ अहिलेसम्म अफगानिस्तानको सरकारी आँकडाअनुसार कोरोनाबाट १ हजार ४ सय ९ जनाको मृत्यु भएको छ । गत जुनमा अफगानिस्तान सरकारले अलोकजाईलाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो । सरकारी ल्याबमा परीक्षण गर्दा यस औषधीमा अफिम, पापाभेरिन, कोडिइन, मोर्फाइनलगायत प्रतिबन्धित औषधी र केही जडिबुटी मिसाइएको पुष्टि भएको थियो । पत्रकार सम्मेलनमा स्वास्थमनत्री अहमद जावाद ओस्मानीले अलोकोजाईको तथाकथित औषधी स्थानीय स्तरमा उत्पादित नार्कोटिक्सको मिश्रण सिवाय अरु केही नरहेको बताएका थिए । यसको प्रयोगले देशमा कुलतको दर बढाउने चिन्ता उनले व्यक्त गरेका थिए, अफगानिस्तानमा अहिल्यै ३० लाखभन्दा धेरै मानिस लागूऔषधको कुलतमा छन् ।

 

स्वास्थ मन्त्रालयका प्रवक्ता मासोसा जाफरीले अलोकोजाईको दाबी खण्डन गर्दै भन्छन्, ‘कोभिड–१९ को कुनै उपचार छैन र उनको झोलले कुनै काम गर्दैन ।’

अहिले काबुलमा बसिरहेका अलोकजाई सरकारी वारेन्टका बाबजुद पक्राउ पर्न सकेका छैनन् । उनले यो झोललाई अहिले सित्तैमा बाडिंरहेका छन् । पूर्वसशस्त्र विद्रोही तथा अहिले राजनीतिमा लागेका गुलबुद्दिन हेक्यात्यार र अब्दुुल रसुल सैयफलगायका शक्तिशाली व्यक्तिसहित धेरै उनका अनुयायी छन् । ‘मैले कुनै अपराध गरेको छैन । म पक्राउ पर्दा खुसी नै हुनेछु । उनीहरुलाई प्रयास गर्न दिनुस्,’ अप्रमाणित उपचारका कारण सरकारले जारी गरेको वारेन्टबारे आलोकजाईले भने । ६२ वर्षका आलोकजाईले कुनै औपचारिक तालिम लिएका छैनन् । तर, उनले पछिल्लो ४० वर्षदेखि वैद्यको काम गर्दै आएका छन् । एचआईभीदेखि इन्फ्लुएन्जासम्मको उपचार आफुले पत्ता लगाइसकेको उनको दाबी छ । उनको पद्धतिबारे प्रश्न चिन्ह खडा भएपनि उनका धेरै अनुयायी छन् । सरकारले पक्राउ पुर्जी जारी गरेपछि ती अनुयायीहरुले घण्टौँ विरोध प्रदर्शन गरे जसकारण सडक अवरुद्ध भएको थियो ।

कमजोर स्वास्थ्य प्रणाली

अफगानिस्तानमा अहिलेसम्म ४० हजारमा कोरोना पुष्टि भएपनि यो सङ्ख्या लाखौँमा रहेको विज्ञहरुको दाबी छ । सरकारी स्वामित्वका अस्पताल तथा निजी अस्पतालमा जान बिरामीहरु हत्तपत्त तयार हुँदैनन् । त्यहाँ जम्मा भएको भीड र सरसफाइको कमीका कारण उल्टै रोग बढ्ने भय उनीहरुमा छ । महामारीको सुरुवातमा प्रत्येक प्रान्तमा सही रुपमा कोरोना पहिचान गर्ने साधनको अभाव थियो । तर मध्य जुनदेखि स्वास्थ मन्त्रालयले सबै निजी अस्पताल र स्वास्थ संस्थामा कोभिड–१९ परीक्षण गर्न मिल्ने व्यवस्था गरेको छ । सरकारी स्वामित्वका अस्पतालको भार कम गर्न यस्तो व्यवस्था मिलाइएको हो । ३ करोड ७० लाख जनसंख्या रहेको अफगानिस्तानमा कोभिड–१९ बिरामीका लागि सरकारी स्तरबाट केवल ३५ सय बेडको व्यवस्था गरिएको छ । गत महिना अफगानिस्तानका लिड ओम्बडस्पर्सन गिजाल हरेसले दिएको जानकारीअनुसार देशमा ३ सय ७२ भेन्टिेलटर मात्रै छन् र त्यसलाई प्रयोग गर्न जान्ने जनशक्ति निकै कम छन् । दुुई दशकको युद्धबाट थलिएको यस देशमा स्वास्थ पूर्वाधार निकै कम हुँदा पीडित जनताको भावनासँग अलोकजाईजस्ता व्यक्तिले मनपर्दी रुपमा खेलिरहेका छन् । विश्व बैङ्कका अनुसार अफगानिस्तानमा १० हजार व्यक्तिका लागि ३ चिकित्सक मात्रै उपलब्ध छन् । जबकी अमेरिकामा १० हजार व्यक्तिका लागि २६ चिकित्सक उपलब्ध छन् ।

स्रोत : अलजजिरा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!