बेइजिङबाट सन् २०१५ मा एउटा कार्यक्रममा निम्तो आउँदा भर्खर विद्यावारिधि गर्न थालेका महत्त्वाकाङ्क्षी छात्र जुन वेई येओ अत्यन्तै प्रसन्न थिए। उनको अनुसन्धान चीनको विदेशनीतिसँग सम्बन्धित थियो। उदाउँदो महाशक्ति चीनले कसरी प्रभाव पार्छ भन्ने प्रत्यक्ष जान्ने अवसर उनी पाउँदै थिए। आफूलाई चिनियाँ प्रबुद्ध मण्डलका लागि काम गर्ने प्राज्ञिक बताउने व्यक्तिहरूसँग उनको भेट भयो। उनीहरूले जुन वेईलाई राजनीतिक प्रतिवेदन तथा सूचना उपलब्ध गराए पैसा दिने बताए। उनीहरू येओबाट “स्कटलबट” अर्थात् भित्री सूचना चाहन्थे। अमेरिकी अदातलको दस्तावेजमा जुन वेईलाई ‘डिक्सन’ भनेर उल्लेख गरिएको छ। अदातलमा दिएको बयानमा उनलाई आफूले भेटेका व्यक्तिहरू चिनियाँ गुप्तचर भएको थाहा पाएको उल्लेख छ। उनी तिनको सम्पर्कमा बसिरहे।

सुरुमा येओलाई दक्षिणपूर्वी एशियाका देशमा ध्यान दिन भनियो। पछि उनीहरूको रुचि अमेरिकामा केन्द्रित भयो। यसरी चिनियाँ गुप्तचर बनेपछि डिक्सनले नेटवर्किङ साइट लिङ्क्ड्‌इन प्रयोग गर्न थाले। एउटा नक्कली परामर्शदातृ कम्पनीको नाम प्रयोग गरेर आफूलाई जिज्ञासु प्राज्ञका रूपमा प्रस्तुत गर्दै उनी अमेरिकी सूत्रहरूलाई जालमा पार्न थाले। अमेरिका र चीनबीच तनाव चुलिँदा पाँच वर्षपछि गत साता वाशिङ्टनले चिनियाँ गुप्तचरविरुद्ध फेरि कारबाही थालेकै बेला येओले अदालतमा आफू “विदेशी शक्तिको अवैध चर” भएको स्वीकार गरे। उनन्चालीस वर्षीय येओलाई १० वर्षसम्म जेल सजाय हुनसक्छ।

पुराना साथीहरू के भन्छन्?
सिङ्गापुरस्थित ली कुआन यू स्कूल अफ पब्लिक पलिसीका भूतपूर्व विद्यार्थीहरू येओ गुप्तचर भएको समाचार सुनेर स्तब्ध छन्।

उक्त शैक्षिक संस्थाले एशियाका शीर्षस्थ प्रशासक र सरकारी कर्मचारीहरूलाई प्रशिक्षण दिने गरेको छ।

आफ्नो नाम उल्लेख गर्न अनिच्छुक एक सहपाठीले येओ फुर्तिला छात्र भएको र उनलाई आफूले बुद्धिमान व्यक्ति भन्ठानेको बताए।

उनका अनुसार येओ प्रायः सामाजिक असमानताबारे कुरा गर्थे र बाल्यकालमा आफ्नो परिवारले आर्थिक कठिनाइ खेपेको सुनाउँथे।

उक्त संस्थाका एक पूर्वकर्मचारीले येओबारे भिन्न टिप्पणी गरे। उनका अनुसार येओलाई आफू विशिष्ट भएको भ्रान्ति थियो।

येओको विद्यावारिधिका लागि अमेरिकी प्राध्यापक हुआङ जिङ सुपरिवेक्षक थिए। उनलाई विदेशी गुप्तचर भएको आरोपमा सन् २०१७ मा सिङ्गापुरले निष्काशन गरिदिएको थियो।

तर हुआङ जिङले आफूलाई लागेको आरोपको खण्डन गर्दै आएका छन्। सिङ्गापुरबाट निष्काशित भएपछि उनले केही समय वाशिङ्टन डीसीमा काम गरे। अहिले उनी बेइजिङमा छन्।

येओले अभियोग स्वीकारेपछि अदालतले प्रकाशित गरेको दस्तावेजमा उनले चीनका विभिन्न स्थानमा दर्जनौँ पटक आफूलाई परिचालित गर्ने गुप्तचरहरूसँग भेट गरेको उल्लेख छ।

एउटा भेटका क्रममा उनलाई अमेरिकाको वाणिज्य मन्त्रालय, आर्टफिशल इन्टेलिजन्स र अमेरिका-चीन व्यापार युद्धबारे सूचना सङ्कलन गर्न भनिएको थियो।

येओलाई आफूले चिनियाँ गुप्तचर निकायका लागि काम गरिरहेको विषय थाहा थियो भन्ने कुरामा आफूलाई सन्देह नभएको सिङ्गापुरका भूतपूर्व विदेशसचिव सचिव बिलहारी बताउँछन्।

लिङ्क्ड्इनको प्रयोग
येओले लिङ्क्ड्‌इनको प्रयोग गरेर महत्त्वपूर्ण सम्पर्कसूत्रहरू बनाए। अहिले संसारभरि ७० करोडभन्दा बढी मानिसले व्यावसायिक प्रयोजनका लागि यो सञ्जाल प्रयोग गर्छन्। पहिला सरकार तथा सेनामा काम गरेका व्यक्ति तथा ठेकेदारहरू लिङ्क्ड्‌इनमा निःसङ्कोच आफ्नो पुरानो काम उल्लेख गर्छन्। निजी क्षेत्रमा राम्रो जागिर पाइने उनीहरूको अपेक्षा हुन्छ। विदेशी गुप्तचर निकायका लागि उक्त सञ्जाल सुनखानीजस्तै हुन्छ।

गत वर्ष मे महिनामा एक चिनियाँ जासुसलाई गोप्य सैन्य सूचना उपलब्ध गराएको अभियोगमा अमेरिकी गुप्तचर संस्था सीआईएका भूतपूर्व अधिकारी केभिन मेलोरीलाई २० वर्षको सजाय सुनाइएको थियो। मेलोरीलाई लिङ्क्ड्इनमार्फत् नै फेला पारिएको थियो।

सन् २०१७ मा जर्मनीको गुप्तचर निकायले कम्तीमा १०,००० जर्मन नागरिकलाई चिनियाँ जासुसहरूले तारो बनाउन लिङ्क्ड्इनको प्रयोग भएको बताएको थियो।

अमेरिकी सेनासँग सम्बन्धित व्यक्तिसँग सम्पर्क
येओले सम्पर्क गरेका व्यक्तिमध्ये एक जनाले यूएस एअरफोर्सको एफ-३५ फाइटर जेट प्रोग्र्याममा काम गरेका थिए। उनी आर्थिक सङ्कट थिए। अर्का एक व्यक्तिले अमेरिकी सेनामा हुँदा रक्षा मन्त्रालय पेन्टागनमा पनि काम गरिसकेका थिए। त्यस्ता व्यक्ति खोज्न येओलाई लिङ्क्ड्इनको एल्गरिदम सहायक सिद्ध भयो। उनले लिङ्क्ड्‌इन खोलेपिच्छे उस्तै पृष्ठिभूमिका मानिसहरू भेट्न थाले।

अदालतमा पेस गरिएका दस्तावेजका अनुसार येओलाई परिचालित गर्ने व्यक्तिहरूले उनलाई नयाँ सम्पर्कसूत्रहरूलाई आफू काममा सन्तुष्ट भए नभएको र आर्थिक समस्याबारे सोध्न भनेका थिए। येओले सन् २०१८ मा आफ्नो परामर्शदातृ कम्पनीमा काम गर्न भनेर नक्कली अनलाइन विज्ञापनहरू प्रकाशित गरे। उनले अनुसन्धानकर्ताहरूलाई बताएअनुसार ४०० वटाभन्दा बढी आवेदन परेकोमा ९० प्रतिशत अमेरिकी सेना र सरकारी कर्मचारीका थिए।

उनले तीमध्ये केहीको विस्तृत विवरणयुक्त सीभी चिनियाँ गुप्तचरहरूलाई पठाइदिए। अमेरिकी सैन्य अधिकारीहरूसँग सूचना दुहुने स्थायी माध्यम बनाउने उद्देश्यसहित उनलाई गत वर्ष सिङ्गापुरबाट अमेरिका पठाइएको थियो। तर उनी पक्राउ परे। बीबीसी न्यूज

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!