हिपमत डटकम
काठमाडौं ,पौष २२ गते

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) का नवनियुक्त अध्यक्ष प्रेमनाथ अधिकारी र महाप्रबन्धक अशोक प्यासी राईले संस्थानलाई थप व्यावसायिक र गतिशील बनाउने सङ्कल्प गरेका छन् ।नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो संस्थानको जमलस्थित कार्यालयमा आज कार्यभार सम्हाल्दै उनहरुले नेपाली कला र संस्कृति झल्कने केन्द्रका रुपमा यसलाई विकसित गर्ने बताएका हुन् ।अध्यक्ष अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुनै विदेशी आइपुग्नेबित्तिकै नेपाली संस्कृति कहाँ छ ? भनेर खोजेमा सांस्कृतिक संस्थानमा आएर हेर्नसक्ने स्थिति निर्माण गर्ने बताए ।

उनले संस्थानको ठूलो हलमा साउण्ड सिस्टम व्यवस्थित गर्ने, सानो हललाई थप व्यवस्थित बनाई व्यावसायिक प्रयोगमा ल्याउने, नाटकका लागि रिहर्सल गर्ने कोठा निर्माण गर्ने, पार्किङस्थललाई व्यवस्थित गर्ने र परिसरमा पानी जम्ने समस्याको समाधान गर्नेलगायतका काममा तत्काल ध्यान दिने जनाए ।नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १४ गतेको बैठकले उहाँहरुलाई चार वर्षका लागि नियुक्त गरेको थियो । अध्यक्ष अधिकारी र महाप्रबन्धक राईलाई संस्थानका निमित्त महाप्रबन्धक प्रभाकर शर्मा र कर्मचारीले स्वागत गर्नुभएको थियो । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका कार्यालय प्रमुख रहनुभएका तेह्रथुम निवासी अधिकारी यसअघि संस्थानको सञ्चालक समिति सदस्य थिए भने ताप्लेजुङका राई सञ्चारकर्मी हुन् ।

यसअघिका अध्यक्ष उद्योग राईको कार्यकाल गत वैशाख २२ र महाप्रबन्धक राजेश थापाको कार्यकाल गत साउन १४ मा सकिएको थियो । अध्यक्ष रिक्तपछि सञ्चालक समितिको बैठक बस्न नसकेकामा आज नयाँ अध्यक्षको पद बहालीलगत्तै पहिलो बैठक सम्पन्न भई विभिन्न निर्णय गरेको छ । सञ्चालक समितिमा एक सदस्य अझै रिक्त छ ।

प्रधानमन्त्रीको निर्देशन

यसैबीच आजै प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरी नवनियुक्त अध्यक्ष अधिकारीलाई बधाई दिँदै संस्थालाई थप गतिशील बनाउन निर्देशन दिए । अध्यक्ष अधिकारीले संस्थानलाई प्रधानमन्त्रीको तहबाट प्राथमिकता दिइएकाले आफूहरुले चुनौतीका रुपमा जिम्मेवारीलाई स्वीकारेको बताए । नेपाली नाटक, गीत, सङ्गीत र नृत्यको संस्थागत विकास गर्ने उद्देश्यले विसं २०१६ मा राष्ट्रिय नाचघरको निर्माण भएको थियो भने यसको औपचारिक स्थापना २०१८ साल कात्तिक २८ गते भएको थियो ।

नाचघरलाई २०२९ सालसम्म कहिले संस्कृति विभाग, कहिले पुरातत्व विभाग, कहिले सूचना विभाग र कहिले प्रसार विभागअन्तर्गत रही २०२९ साल असार ५ गते सञ्चार संस्थान ऐन २०२८ अन्तर्गत सांस्कृतिक संस्थान स्थापना भई यसमा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन एवं प्रदर्शन गर्न थालेको हो ।संस्थानले धार्मिक, सामाजिक तथा हास्यनाटकका अतिरिक्त गीति नाटक, नृत्य, नाटक, प्रहसन, लोक गीत, आधुनिक गीत, कविता वाचन एवं परम्परागत शास्त्रीय–नृत्य तथा लोक नृत्यले भरिपूर्ण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!