शुक्रबार, आषाढ १२, २०७७ || 769  पटक पढिएको

जनसंख्या घडीअनुसार नेपालको जनसंख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको घडीमा असार १२ गते शुक्रबार देशको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ (सन् २०११) को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो । ‘अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार राष्ट्रिय जनगणना २०६८ को तथ्यांकलाई टेकेर २०७८ सम्मको जनसंख्या पूर्वानुमान गरिएको हो,’ विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने, ‘बसाइँसराइँ, जन्म र मृत्युदरले जनसंख्या घडी निर्धारण गरिन्छ । त्यसैअनुसार देशको जनसंख्या आजबाट तीन करोड नाघेको छ ।’ मध्य जनसंख्या सिद्धान्तअनुसार हरेक वर्षको जुन २२ लाई आधार बनाएर निर्धारण गर्ने गरिन्छ । निर्धारित जनसंख्या सूत्रानुसार दैनिक औसत एक हजारदेखि एघार सय जनाका दरले यो संख्या बढ्दो छ । कुनै पनि व्यक्ति अक्सर बसोबास (६ महिनाभन्दा बढी) गरेको स्थानबाट उसको गणना गर्ने गरिन्छ । ०६८ को तथ्याङ्कमा कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ । जसमध्ये ५१ दशमलव ५ प्रतिशत महिला छन् । त्यसैगरी पुरुष ४८ दशमलव ५ प्रतिशत छन् । जनसंख्या वृद्धिदर १ दशमल ३५ प्रतिशत रहेको छ । त्यसबाहेक विदेशमा १९ लाख २१ हजार ४ सय ९४ रहेको देखाएको छ । आन्तरिक बसाइँसराइँ र अन्तरदेशीय बसाइँसराइँले नेपालको जनसंख्या बनोटमा अस्थिर बनेको छ । जन्मदर घट्दो छ । जनगणना–२०५८ ले वार्षिक जनसंख्या वृद्धिदर २ दशमलव २५ देखाएको थियो भने दश वर्षमा शून्य दशमलव ९ विन्दुले जन्मदर घटेको देखिन्छ । मृत्युदर पनि उस्तै घटेको छ । अहिलेको तथ्यांकअनुसार सरदर आयु करिब ६७ वर्ष रहेको छ । जसमा महिलाको ६८ वर्ष र पुरुषको आयु ६५ वर्ष छ । अघिल्लो दश वर्षको तुलनामा जनसंख्या बढे पनि मुलुकको २७ जिल्लामा जनसंख्या घटेको छ । दश वर्षको अन्तरमा सहरमा बसोबास गर्ने जनसंख्या १३ दशमलव ९ बाट बढेर १७ दशमलव ०७ प्रतिशत पुगेको छ । दश वर्षमा काठमाडौं जिल्लाको जनघनत्व ६१ दशमलव २३ प्रतिशतले बढेको थियो भने मनाङको जनघनत्व ३१ दशमलव ८० प्रतिशतले घटेको थियो । कुल भूभागको १७ प्रतिशतमात्र ओगटेको तराईको जनसंख्या चाप ५० दशलमव २७ प्रतिशत छ । जनघनत्व प्रतिवर्गकिलोमिटर १ सय ८० जनसंख्या बसोबास गर्दछन् । १९६८ सालदेखि हरेक दश वर्षमा हुने राष्ट्रिय जनगणना हुँदै आएको छ । विभागले आउँदो वर्ष १२औं राष्ट्रिय जनगणना २०७८ जेठ २५ गतेबाट असार ८ गतेसम्म सम्पन्न गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!