बुधबार, आषाढ १०, २०७७ || 609  पटक पढिएको

सरकारले गरेका कामले अहिले जनतामा पूरै हाई-हाई छ । पार्टीप्रति देशव्यापी लहर बढेको छ । तर,सरकारले गरेका राम्रा कामलाई पार्टीकै नेताले राम्रो नदेख्ने, राम्रो नभन्ने…!’

प्रधानमन्त्रीको भनाइ सकिएको थिएन । वरिष्ठ नेता माधव नेपाल जुरुक्क उठ्नु भयो । अनि, प्रधानमन्त्रीको भनाइ पनि टक्क रोकियो ।

एकछिनको सन्नाटापछि माधवले भन्नुभयो, ‘जनतालाई गएर सोध्नुस् ! खालि आफ्नो गुणगान आफैं गाएको छ । तपाईंका यस्ता कुरा सुन्दा-सुन्दा कानै पाकिसक्यो…!’

फेरि प्रधानमन्त्री बोल्न थाल्नुभयो । ‘पार्टी नेतृत्वको खोइरो खन्ने ! नेतृत्वको खोइरो खनेर अगाडि बढिन्छ भन्ने सोच्नुभएको होला…’ भन्दै मन्तव्यको अन्तिम-अन्तिममा पुगेर बल्ल उहाँले केही कमजोरी महसुस गरेजस्तो छनक दिनुभयो ।

भन्नुभयो, ‘केही गल्ती-कमजोरी छन् भने सच्याउन तयार छु । स्वस्थ आलोचना हुनुपर्छ । हिलो छ्यापाछ्याप नगरौं ।’

बैठकको शुरुमा बोल्नुभएका प्रधानमन्त्रीलगत्तै अर्का अध्यक्ष प्रचण्ड बोल्न थाल्नुभयो ।

‘शुरुमा एकजना प्रधानमन्त्री, एकजना पार्टी अध्यक्ष भन्ने कुरा भएकै हो’, प्रचण्डले भन्नुभयो, ‘मैले त्यो सहमति छोडेपछि आधा-आधा कार्यकालको प्रधानमन्त्री,जो प्रधानमन्त्री हुँदैन,त्यो कार्यकारी अध्यक्षको कुरा आयो । यो पनि लौ त भनेर पाँचै वर्ष उहाँ प्रधानमन्त्री भन्ने मै हो । पार्टीको कार्यकारी अध्यक्षका रुपमा काम गर्ने कुरा भयो । मैले सबै कुरा छोड्दै-छोड्दै आएँ । तर,ममाथि खेलबाड गरियो ।’

निकै आक्रामक रूपमा पेश हुनुभएका प्रचण्डले भन्नुभयो, ‘मैले पार्टी एकताका निम्ति भनेर सबै कुरा छोड्दै जाने, अनि अर्का अध्यक्ष तथा प्रधानमन्त्रीमा अहंकार बढ्दै जाने भयो । यो अहंकारले पार्टी यथास्थितिमा रहन सक्दैन । उहाँको अहंकार देख्दा मैले विगतमा गरेका त्यागहरु गलत गरेछु भन्ने रियलाइजेशन भइरहेको छ ।’

उहाँले अब विभाजन र एकतामध्ये एउटा रोज्ने बेला आएको प्रसंग निकाल्दै भन्नुभयो, ‘फुट्नुको विकल्प सच्चिनुमात्र हो । यो अहंकार हुँदासम्म सच्चिने कुराको कल्पना गर्न सकिदैन । आफू राजा-रजौटा, अरु सबै दास, रैती भन्ने कार्यशैलीले अब अगाडि जान सकिदैन ।’

प्रधानमन्त्रीप्रति आक्रोशित हुँदै भन्नुभयो, ‘हामीले हाम्रा परम्परा, मूल्य-मान्यता,सिद्धान्त त्यागेर एकता गरेका छौं । यस्तो एकतामा को जिम्मेवार भएन ? के भन्न खोज्नुभएको तपाईंले ?’

उहाँले विगतका सहमति एक-एक पालना गर्नुपर्ने भन्दै अन्यथा गरे सरकार छोड्न तयार हुन भन्नुभयो ।

आज बोल्ने पालो नहुँदा नहुँदै पनि झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेता चर्कोसँग प्रस्तुत हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!