भारतीय सीमा सुरक्षामा खटिएका गुल्मीका ३८ वर्षीय युवकले आफ्ना ९० वर्षीय बुवासँग गरेको वाचा अधुरै रहेको छ । यस पटक बिदामा आउँदा बाबुलाई पहाड लैजाने वाचा गरेका दीपक कार्कीको कश्मीरमा भारतीय सीमा रक्षामा खटिएकै बेला सोमबार बिहान पाकिस्तानी सेनाबाट भएको गोलीबारीमा मृत्यु भएको छ । दुई वर्षअघि आमा गुमाएका गुल्मीको छत्रकोट गाउँपालिका–५ खर्ज्याङका दीपकका ९० वर्षीय वृद्ध बुवा शालिकरामले उनैलाई कुरिरहेका थिए । तराईको गर्मी खप्न नसकेपछि बाबुले फागुनमै फोन गरेर आफू पहाड (गुल्मी) जान खोजेको बताएका थिए । दीपकले चैतको अन्तिम साता दुई महिनाको छुट्टीमा आउने जानकारी दिएका थिए । तर, कोरोना महामारीले लकडाउन भएपछि उनी उतै थुनिए । त्यसले न बाबुको पुर्खौली थलो पुग्ने सपना पूरा भयो, न दीपकको बाबु भेट्ने वाचा । गुल्मीबाट दुई वर्षअघि मात्र रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा बसाइँ सरेका कार्की परिवारमा बुवा, श्रीमती, दुई छोरी र एक छोरा छन् । दीपकका दाजु कृष्ण कार्कीका अनुसार उनी दशैंमा एक महिनाको छुट्टीमा आएर फर्केका थिए । भारतीय सेनामा उनको १८ वर्ष पूरा भएको थियो । एक वर्षअघि नै पेन्सन आउने तयारी गरेका उनी सिपाहीबाट हवल्दार पदमा बढुवा भएपछि रोकिएका थिए । ‘एक वर्षअघि नै पेन्सनमा निस्कन खोजेको थियो,’ दाजु कृष्णले भने, ‘बढुवा भएपछि रोकिएको हो, यस्तो हुन लेखेको रहेछ ।’ उनी पनि भारतको मुम्बईमा काम गर्छन् । भारतबाट आएर गुल्मीकै छत्रकोटमा २४ दिनदेखि क्वारेन्टाइनमा छन् । भाइको मृत्युको खबर पाए पनि उनको स्वाब परीक्षणको रिपोर्ट नआएका कारण घर पुग्न पाएका छैनन् । कार्की भारतीय सेनाको ३/५ गोरखा राइफल्समा कार्यरत थिए । जम्मू–कश्मीरको नौसेरा क्षेत्रको रजौरी जिल्लामा खटिएका उनलाई सोमबार बिहान गोली लागेको थियो । गम्भीर घाइते उनको उपचारकै क्रममा मृत्यु भएको भन्दै भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दले परिवारलाई मृत्युको जानकारी गराएका थिए । उनको शव मंगलबार गोरखपुरमा ल्याइएको छ । शवलाई भारतीय सेनाको टुकडीले सलामी अर्पण गरेपछि गोरखपुरमै अन्त्येष्टि गर्ने जानकारी गराएपछि श्रीमती, ५ वर्षीय छोरा, ११ र ९ वर्षका दुई छोरीसहित आफन्त गोरखपुर पुगेका छन् । गुल्मीको खर्ज्याङका उनका छिमेकी हरिनारायण शर्माले दीपक युवा अवस्थादेखि नै निकै लगनशील र मेहनती युवा भएको बताए । ‘सारै मिलनसार र मेहनती थियो,’ उनले भने, ‘तर, अल्पायुको रहेछ, उसको मृत्युको खबरले गाउँ नै शोकमा छ ।’ उनको मृत्युको खबरसँगै उनका साथी र चिनेजानेकाले मात्रै नभई अन्यले पनि सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!