आइतबार, जेठ ३२, २०७७ || 824  पटक पढिएको

महोत्तरीको बर्दिवास नगरमा बन्दाबन्दीको अवधिभरिको घरभाडा नलिने घोषणा गरेका घरधनी सम्मानित भएका छन् । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी गरिएको लकडाउन अवधिको घरभाडा नलिने घोषणा गरेका घरधनीलाई बर्दिवास उद्योग वाणिज्य सङ्घले शनिबार सम्मान गरेको हो । बर्दिवास–१ का हर्कबहादुर तामाङ, वडा नं ३ का माधव लामिछाने र रामकुमार कार्कीले गत चैतमै लकडाउन अवधिभरिको घरभाडा नलिने स्वेच्छिक घोषणा गर्नुभएको थियो । वाणिज्य सङ्घको भवनमै सम्पन्न सम्मान कार्यक्रममा सम्मानित तामाङले बन्दाबन्दीका बेला व्यापार व्यवसाय सबै ठप्प भएका हुँदा व्यापारीको मनोबल घट्न नदिन भाडा नलिने स्वेच्छिक घोषणा गरेको बताउनुभयो । तामाङले सम्मान कार्यक्रममै गत चैतदेखि जेठ मसान्तसम्मको घरभाडा नलिन सबै घरधनीलाई अपिल पनि गर्नुभयो । “व्यापार व्यवसाय बन्दाबन्दीले ठप्प भएका बेला साना व्यापारीले कसरी भाडा दिन सक्लान् ?”, तामाङ्ले भन्नुभयो, “व्यवसाय जिउँदो राख्न पनि सबै घरधनीले मन फराकिलो बनाउनैपर्छ ।” यस कार्यमा जिल्लाका सबै उद्योग वाणिज्य सङ्घ र स्थानीय प्रशासनले आवश्यक समन्वय गरिदिनपर्ने तामाङको सुझाव थियो । तामाङको बर्दिवास–१ औैरहीरोडस्थित दुईतले भवनमा १७ सटरमा व्यापार व्यवसाय हुँदै आएको छ । त्यसैगरी लामिछानेको बर्दिवास–१ गालटारचोक नजिकै सञ्चालित नमूना तरकारी बजारमा २० व्यापारिक सटर सञ्चालन हुँदै आएका थिए । बर्दिवास–३ गौरीडाँडामा कार्कीको पक्की भवनमा होटल सञ्चालन हुँदै आएको थियो । कार्की सिन्धुलीको घ्याङलेक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । सम्मानित घरधनीले बन्दाबन्दीपूर्वझैँ व्यवसाय सञ्चालन गर्न सबै व्यापारीलाई अपिल गर्नुभएको छ । सम्मान कार्यक्रममा बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रह्लाद क्षेत्रीले सम्मानित घरधनीको अनुशरण गर्दै सबै घरधनीलाई बन्दाबन्दी अवधिको घरभाडा छुट गर्न अपिल गर्नुभयो । घरधनीका कर छुटलगायतका कुरामा सङ्घले आवश्यक समन्वय गरिरहेको क्षेत्रीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!